प्रचण्डलाई पदाधिकारी छान्न सकस : नेता जिम्मेवारीविहीन, पार्टी अस्तव्यस्त
काठमाडौं : गत पुसको दोस्रो साता माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन काठमाडौंमा सम्पन्न भयो। महाधिवेशनले १५ सदस्यीय पदाधिकारी हुने व्यवस्था गर्यो। तर पार्टीको सर्वोच्च निकाय महाधिवेशनलाई पदाधिकारी चयन गर्न दिइएन। केन्द्रीय कमिटी सदस्यको नामलाई अनुमोदन गर्दै महाधिवेशन अन्त्य गरियो। त्यसरी बनेको केन्द्रीय कमिटीले प्रचण्डलाई पार्टी अध्यक्षमा चुन्यो। तर, ९ महिना बित्दा पनि अरू पदाधिकारी भने चयन भएनन्।
महाधिवेशन भएको लामो समयसम्म पनि अध्यक्ष प्रचण्डले एकल रूपमा पार्टीको नेतृत्व हाँके। मुख्यगरी, महासचिवमा नेताहरूको हानथाप भएको बहानामा प्रचण्डले अरू पदाधिकारी चयन गरेनन्। प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको घोषणापछि फेरि प्रचण्डले पदाधिकारी घोषणा गर्ने तयारी गरेका छन्। तर, अहिले पनि ‘कहिले के त कहिले के’ बहाना बनाएर पदाधिकारी घोषणा गरेका छैनन्। केन्द्रीय पदाधिकारीका पद खाली छन्। नेताहरू जिम्मेवारीविहीन छन्। पार्टी अस्तव्यस्त छ। प्रदेश तहका नेताहरूको पार्टीले व्यवस्थापन नहुँदा पार्टी छोड्नेहरूको लहर नै चलेको माओवादीका नेताहरू बताउँछन्।
पदाधिकारी छनोटका लागि पार्टी कार्यालय पेरिसडाँडामा शुक्रबार बैठक बसेको थियो। पद बाँडफाँटमा सहमति नजुटेपछि अध्यक्ष प्रचण्डले पदाधिकारीको नाम घोषणा गर्न सकेनन्। बैठक स्थगित गरेर गोरखातिर लागे।
- पार्टीको सर्वोच्च निकाय महाधिवेशनलाई पदाधिकारी चयन गर्न दिइएन।
- ९ महिना बित्दा पनि पदाधिकारी चयन भएनन्।
सहमतिमै पदाधिकारी चयन गर्न प्रचण्डले प्रयास गरिरहेको नेताहरू बताउँछन्। प्रचण्डले पदाधिकारीको सूची बनाइसकेको उनी निकट नेताहरू बताउँछन्। प्रचण्डले उपाध्यक्षमा दिनानाथ शर्मा, कृष्णबहादुर महरा, गणेश साह, पम्फा भुसाल र हरिबोल गजुरेलको सूची बनाएका छन्। महासचिवमा देव गुरुङलाई प्रस्ताव गर्ने तयारीमा प्रचण्ड छन्।
उपमहासचिवमा वर्षमान पुन, जनार्दन शर्मा र गिरिराजमणि पोखरेलको सूची तयार भएको छ। तर, महासचिवमा वर्षमान र जनार्दनको दाबी कायमै रहेको नेताहरूले बताए। केही नेताहरूले एक जना वरिष्ठ उपाध्यक्ष र एक जना उपाध्यक्ष बनाएर उपमहासचिवको पद बढाउनुपर्ने सुझाव दाहाललाई दिएका छन्। प्रचण्डले नारायणकाजी श्रेष्ठलाई वरिष्ठ उपाध्यक्षको जिम्मेवारी दिइसकेका छन्।
१ अध्यक्ष, १ वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, १ महासचिव, ३ उपमहासचिव, ५ सचिव, १ कोषाध्यक्षसहित १५ देखि २१ सदस्य पदाधिकारी चयन गर्ने तयारी।
पदाधिकारी छनोट गर्ने विषयमा बैठकमा विस्तृत र गम्भीर छलफल भएको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जनाए। ‘पदाधिकारी टुंग्याएको छैन, तर, करिब करिब सहमति नजिक पुगेका छांै,’ महराले भने ‘भोलि (शनिबार) को बैठकले पदाधिकारी टुंग्याउँछ।’ यद्यपि, पदाधिकारीको ‘भोलि टुंगो लाग्छ’ भनेर माओवादी नेताहरूले केही दिन यता लगातार भन्दै आएका छन्।
१ अध्यक्ष, १ वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, १ महासचिव, ३ उपमहासचिव, ५ सचिव, १ कोषाध्यक्षसहित १५ देखि २१ सदस्य पदाधिकारी चयन गर्न लागिएको पार्टीका केन्द्रीय सदस्य प्रकाश पोखरेलले जानकारी दिए। प्रदेशसभा र प्रतिनिधिसभाको चुनावको मुखमा प्रचण्डले सबैको चित्त बुझ्ने गरी पदाधिकारी चयन गर्न खोजेको माओवादी नेताहरू बताउँछन्।
स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले ‘मूल नेतृत्व र नेतृत्वलाई साथ दिने टिम’ ले पनि सहमतिबाटै पदाधिकारी चयन गर्न अध्यक्ष प्रचण्डलाई सुझाव दिइरहेको बताए। ‘निकट भविष्यमा संघ र प्रदेशको चुनाव छ,’ पोखरेलले भने, ‘यस्तो बेला संगठनात्मक प्रतिस्पर्धा या चुनावमा जाँदा त्यसल तिक्तता र नकारात्मकता जन्माउने जोखिम छ। त्यसैले सहमतिमै पदाधिकारी चयन गर्नुपर्छ।’
कतिपय पदमा धेरै आकांक्षी भएको पोखरेलले बताए। छ। ‘व्यक्तिको इतिहास मूल्यांकन गरेर, उसले खेलेको भूमिका, अब खेल्न सक्ने भूमिकालगायतका पक्षलाई हेरेर नेतृत्वले पदाधिकारीको जिम्मेवारी दिनुपर्छ।’
पार्टीको स्थायी कमिटी बैठकले केन्द्रीय समिति, पोलिटब्युरो र स्थायी समितिलाई भने पूर्णता दिएको छ। गत असारमा बसेको माओवादी केन्द्रीय समिति बैठकले स्थायी समिति र पोलिटब्युरोको संख्या टुंग्याएको थियो। उक्त बैठकमा वैकल्पिकसहित १ सय ५६ सदस्यीय पोलिटब्युरो र ४१ सदस्यीय स्थायी समिति बनाउने निर्णय भएको थियो। माओवादीको केन्द्रीय समिति ३ सय ७७ सदस्यीय छ।
‘निर्वाचनलाई अर्जुनदृष्टि बनाउनुस्’
माओवादी अध्यक्ष प्रचण्डले आगामी निर्वाचनलाई अर्जुनदृष्टि बनाएर अघि बढ्न पार्टीका युवालाई निर्देशन दिएका छन्। पार्टी निकट वाईसीएलको अधिवेशनलाई सम्बोधन गर्दै प्रचण्डले चुनावबाट परिवर्तनका पक्षधरलाई विजयी बनाउन पनि निर्देशन दिए। ‘चुनावी महासंग्राम आएको छ,’ प्रचण्डले भने, ‘युवाहरूले महŒवपूर्ण भूमिका खेल्नु पर्नेछ।’
वामपन्थीहरूलाई एकताबद्ध गर्न र कम्युनिस्ट आन्दोलनलाई शक्तिशाली बनाई समाजवादको यात्रामा अघि बढ्ने गरी छलफल चलाएको अध्यक्ष दाहालले बताए। ‘परिवर्तन विरोधीहरूलाई परास्त गर्न आवश्यक छ’, उनले भने।
प्रतिक्रिया दिनुहोस !