आरकेष्ट्रा नृत्य रोक्न गएका प्रहरीलाई अवरोध गर्ने दुई जना पक्राउ
महोत्तरी : गाउँमा आयोजित आरकेष्ट्रा नृत्य रोक्न गएको प्रहरीलाई अवरोध गर्ने दुई जनालाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ। गौशाला नगरपालिका-११ का ४६ वर्षीय कमलेश कर्ण र ३० वर्षीय संजयकुमार यादवलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
रातिको समयमा भारतीय कलाकारद्वारा नृत्य भइरहेको घटना थाहा पाएर रोक्न गएका प्रहरीमाथि ढुगांमुढा गरी शान्ति सुरक्षा खलबलाएको भन्दै उनीहरूलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ।
दुवैलाई कारबाहीका लागि आइतबार फाइलसहित प्रशासन कार्यालयमा पेस गरिएको र सार्वजनिक मुद्दा चलाइने प्रहरीले जनाएको छ।
प्रहरीले सम्झाईबुझाई नृत्य नगर्न आग्रह गरिरहँदा समूहले प्रहरीमाथि आक्रमण प्रयास र प्रहरी चौकीमा ढुङ्गामुढा गरेपछि स्थिती नियन्त्रणमा लिनका लागि उनीहरूलाई नियन्त्रणमा लिनुपरेको प्रहरीले जानकारी दिएको छ।
यता कृष्ण अष्टमीका बेला उत्तेजक नृत्य प्रस्तुत गरी सांस्कृतिक प्रदूषण फैलाएको आरोपमा प्रहरीले गौशालाबाट ९ नर्तकीसहित १२ जना भारतीय कलाकारलाई पक्राउ गरेको थियो। ती समूहलाई सम्झाईबुझाई एक पटकका लागि छाडिएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ।
अश्लील र उत्तेजक रूपमा प्रस्तुत हुने भारतीय नर्तकीकै कारण विगतका वर्षमा विभिन्न आपराधिक घटना घटनुका साथै स्थिति नियन्त्रणमा लिन प्रहरीले गोलीसमेत चलाउनु परेको भन्दै जिल्ला प्रशासन कार्यालय महोत्तरीले भदौ २ गते सार्वजनिक सूचना जारी गरी आर्केष्ट्रा निषेध गरिएको थियो।
प्रतिक्रिया दिनुहोस !