महिलामाथि हतियार प्रहार गर्ने एक पक्राउ, घाइतेको हेलिकप्टरमार्फत उद्धार
नुवाकोट : नुवाकोटको तादीमा धारिलो हतियार प्रहारबाट एक महिला घाइते भएकी छिन्।
तादी गाउँपालिका-५ गोरे घर भएकी ५० वर्षीया दुर्गा न्यौपानेलाई सोही स्थानका ४० वर्षीय शम्भु तामाङले आइतबार धारिलो हतियार (हँसिया) प्रहार गरेका जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।
महिलामाथि आक्रमण गर्ने व्यक्तिलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक रूपक खड्काले जानकारी दिए।
खड्काका अनुसार महिलालाई हँसिया प्रहार गरी घाइते बनाएको जानकारी पाएपछि प्रहरी खटिएको थियो।
घाइते महिलालाई उपचारका लागि स्थानीय खरानीटार अस्पतालमा लगिएकोमा सो अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि सिम्रिक एयरको हेलिकप्टरमार्फत उद्धार गरि काठमाडौं लगिएको हो।
गम्भीर घाइते महिलाको हाल काठमाडौं महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ।
प्रतिक्रिया दिनुहोस !