दुर्गन्धित उद्योग व्यवस्थापन गर्न माग
![दुर्गन्धित उद्योग व्यवस्थापन गर्न माग](https://annapurnapost.prixacdn.net/media/albums/Photo-_20220825144541_2Cnt6HT9qt.jpg)
ढल्केवर (धनुषा) : धनुषाको मिथिला नगरपालिकामा मापदण्डविपरीत सञ्चालित उद्योगहरू व्यवस्थित गर्न माग गरिएको छ।
सिंगो बस्ती र विद्यालयको बीचमा मापदण्ड विपरीत सञ्चालनमा रहेका दुर्गन्ध फैलाउने उद्योगलाई मापदण्डभित्र ल्याएर व्यवस्थित गर्न माग गरिएको हो।
मिथिला उद्योग वाणिज्य संघको अगुवाइमा स्थानीयहरूले सरोकारवाला निकायहरूमा ज्ञापन पत्र बुझाएका छन्। मिथिला उद्योग वाणिज्य संघका अध्यक्ष तेजनारायण साह (सन्तोष)को नेतृत्वमा स्थानीयले मिथिला नगरपालिका, वडा कार्यालय, इलाका प्रहरी कार्यालय र सम्बन्धित उद्योगलाई ज्ञापन पत्र बुझाएका हुन्।
झण्डै दुई सयको हस्ताक्षरसहित बुझाइएको ज्ञापन पत्रमा शिक्षित, निरोगी जीवन र स्वच्छ वातावरणमा बाँच्न पाउने मानव जीवनको नैसर्गिक अधिकार रहेको उल्लेख छ।
तर, त्यसको ठीक उल्टो मानव जीवनमा प्रत्यक्ष असर पुग्ने गरी मिथिला नगरपालिका-६ ढल्केवरस्थित श्रीराम जानकी प्लाष्टिक उद्योग र पशुपति प्लाइ बोर्ड उद्योग सञ्चालनमा रहेको जनाएको छ।
विद्यालय र बाक्लो मानव बस्तीको बीचमा सञ्चालित उक्त प्लाष्टिक उद्योगले प्लाष्टिक उत्पादनका लागि उद्योगबाट सञचालनको क्रममा निस्किएको गन्धले विद्यालयमा अध्ययनरत विद्यार्थी, शिक्षक र वरपर बस्तीका मानिसहरूको जनजीवन निकै कठिन अवस्थामा पुगेको ज्ञापन पत्रमा भनिएको छ।
सो गन्धले निकट भविष्यमा विद्यार्थी, शिक्षक र वरपरका मानिसहरूमा श्वासप्रश्वाससम्बन्धी रोग र नाकले कुनै गन्ध थाहा नपाउने रोग लगायतका अन्य विभिन्न रोग लागेर विभिन्न समस्याहरू आउन सक्ने र उनीहरूको भविष्यमा नराम्रो असर पर्ने भएकाले शीघ्र गहिरो छलफल गरी निश्कर्षमा पुग्न सरोकारवालाहरूलाई ज्ञापन पत्रमार्फत आग्रह गरेका छन्।
उनीहरूले दुईवटा विकल्पसमेत अघि सारेका छन्। 'या त उद्योगको नजिकबाट विद्यालय र मानव वस्ती सार्नुपर्यो वा उद्योगलाई उचित स्थानमा पर सार्नुपर्यो भन्ने हामीले विकल्पका रूपमा दुई वटा प्रस्ताव अघि सारेका छौं,' मिथिला उद्योग वाणिज्य संघका अध्यक्ष साहले भने 'जसरी भएपनि व्यवस्थित हुनुपर्यो। नागरिक स्वस्थ भए नगर स्वस्थ रहने हो। यहाँ प्रदूषणमुक्त वातावरण निर्माण होस् भन्ने हाम्रो मुख्य चाहना हो।'
यस्तै, पशुपति प्लाई उद्योगले पनि उद्योग सञ्चालनको क्रममा दैनिक प्रयोगमा आउने आगोको बोइलरबाट निस्किएको धुलो र धुवाँबाट वरपरका बसोबासीको जीवनयापनमा नराम्रो प्रभाव परिरहेको र उद्योगको अगाडि सडकको पेटिमा उद्योगबाट निस्कने दुर्गन्धित फोहोर र फोहोर पानी जथाभावि फ्याकिरहेको कारणले वरपरको वातावरण नै दुर्गन्धित भएको ज्ञापन पत्रमा उल्लेख छ।
पशुपति प्लाई उद्योगले कामदारहरूलाई श्रम ऐन अनुसार प्रति घण्टा वा दैनिक पाउनुपर्ने ज्याला आधाभन्दा पनि कम ठेकेदारमार्फत भुक्तानी गरेर श्रमशोषण गरिरहेको समेत खुलाएको छ।
उद्योगहरूलाई मापदण्डभित्र ल्याएर व्यवस्थित गर्नुपर्ने, दाउराबाट चल्ने बोइलरलाई हटाई इलेक्ट्रिक बोइलर राख्न लगाई नगरपालिकाको सदरमुकाम ढल्केवरलाई सफा, सुन्दर र स्वस्थ नगर बनाउन सरोकारवाला निकायहरूलाई ज्ञापन पत्रमार्फत अनुरोध गरिएको मिथिला ब्याडमिन्टन क्लबका अध्यक्ष सन्तोष कुमार महतोले जनाए।
बुधबार मिथिला नगरपालिकाका मेयर महेन्द्र महतो, वडा नं ६ का वडाध्यक्ष नन्दकिशोर यादव, इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक रामसागर सिंह, रामजानकी प्लाष्टिक उद्योगका प्रबन्धक विनोद कुमार सिंह र पशुपति प्लाइबोर्ड उद्योगका प्रबन्धक मुकेश सिंहलाई ज्ञापन पत्र बुझाएको मिथिला उद्योग वाणिज्य संघका महासचिव दीपक लामाले जानकारी दिए।
जिल्ला प्रशासन कार्यालय र मधेस प्रदेशको उद्योग मन्त्रालयमा पनि ज्ञापन पत्र बुझाउने तयारी रहेको उनले जनाए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)