यन्त्रणाहरूको अविराम शृंखला
नेपाली समाज पितृसत्तात्मक समाज हो भन्नेमा बहस गर्नु पर्दैन। आवरणमा यस्तो सत्ताले पुरुषलाई तुलनात्मक सहजता दिएको र नारीहरूलाई धेरै कोणबाट यन्त्रणा दिएको पनि सत्य हो। सम्बन्धहरू र तिनको सामाजिकीमा उभिएका थुप्रै आख्यानको बीचमा सुमन वर्षाको उपन्यास ‘अन्ततः यन्त्रणा’ले भर्खर बजार प्रवेश गरेको छ। कथा मूलतः सामान्य नेपाली दम्पती गुणा र गमनको हो। गुणा र गमन यस्ता पारिवारिक, सामाजिक र आर्थिक पृष्ठभूमिसहित वर्तमान समयमा उभिएका औसत नेपाली महिला र पुरुष हुन्। औसत हुनुको अर्थमा, पितृसत्ताद्वारा निर्देशित, आर्थिक सूचकहरूद्वारा परिभाषित तथा सामाजिक मर्यादाद्वारा संरक्षित नेपालीहरूको प्रतिनिधि हुन्।
एउटा छोरा त चाहिन्छ– हो, यही मान्यताको बुनियादमा यो उपन्यास उभिएको छ। आवरणमा समस्या सरल छ तर यस मान्यताको निर्मिति सरल छैन। झापाको चारपाने, भद्रपुर, फूलबारी, केमाबारी हुँदै भारतीय सीमाछेउका बस्तीहरूको परिवेशमा बुनिएको यस उपन्यासको केन्द्रमा गुणा छिन्। गमनको खेतबारी र अचल सम्पत्तिको उत्तराधिकारी एउटा छोरो जन्माउने जिम्मा उनको जिउलाई छ। उनी आफैं, उनकी आमा, सासू, बा, ससुरा, मामा, माइजू र आफन्त सबैको यही आग्रह छ– एउटा छोरो जसरी पनि जन्मनुपर्छ। सहनशीलता, मिलनसारिता, सहयोगी भावना, मातृत्व, बात्सल्य आदि अनेक गुणको सम्पन्नताले ‘गुणा’ बनेकी छन्। हैन, छैन, हुँदैन भन्दाभन्दै समाजका पुरातन र पुरुषवादी विचारहरूको पक्षगमन पनि गरिरहनुपर्छ। विडम्बना !
पुत्रमोहको कुरा नेपाली समाजमा प्रचलित सम्पत्ति–अधिकार र विवाहपद्धतिको समाजशास्त्रसँग जोडिएको छ। एकातिर छोरीहरू पनि बाबुको अंशका समान उत्तराधिकारी हुन् भन्ने मान्यता व्यवहारतः र संविधानतः स्थापित भएकै छैन। त्यसैले, बाआमाहरू छोरीलाई सम्पत्तिको उत्तराधिकारीको रूपमा देख्दैनन्। अर्को कुरा, छोरी बिहे गरेर अर्काको कुलघरानामा जाने चलन छ। त्यसैले तिनका सन्तानले ती महिलाका बाबुको नाम, र वंशको अंश बोक्दैनन् र बाबुको वंश बिलाएर जान्छ भन्ने बुझाइ छ। यी दुवै मान्यता त्रुटिपूर्ण र भ्रामक छन्।
छोरीलाई सम्पत्तिको उत्तराधिकारी मान्दा बिग्रने केही छैन। तर, यो कुरा समाजको मानसपटलमा स्थापित गर्न सकिएकै छैन। अर्कोतिर, छोरो नहुँदा एउटा पुरुषको वंश रोकिन्छ भन्ने सामाजिक मान्यता मात्रै हो, वैज्ञानिक यथार्थ होइन।
होे, यस्ता कुरा बुझाउन नसक्नुमै लैंगिक समस्याको जड छ नेपाली समाजमा। उपन्यासमा गर्भमै रहेको भ्रू्रणको लिंग पहिचान गरी छोरी भ्रूणको हत्या गराएका कतिपय महिलाको यन्त्रणाको कथा पनि छ। पुण्य कमाउन रजस्वला नहुँदै बाआमाले, छोरीमात्रै पाएकी अर्की सौतामाथि बिहे गरिदिएको बर्सेनि बच्चा जन्माएर थकित बनेका अप्सरा र अप्सराजस्ता पात्र छन्। जो अर्को प्रसूतिमा मृत्युको सिकार बन्न अभिशप्त छन्। महाजनकै श्रीमती भएर पनि जाबो ज्वरो आउँदा उचित उपचार नपाएर मरेका देवीजस्ता पात्र छन्। छोरीमात्रै भएको घरानाबाट आएका बुहारीले छोरो पाउँदिन भन्ने मान्यताका कारण छोरीहरूको बिहे गराउन नसकेका निरीह बाबुआमा छन्।
भारतीजस्ता नारी छन् जो प्रसूति व्यथासँग एक्लै लड्दालड्दै अकालमा बितेका छन्। सपनामा सेलरोटी देखिए छोरी पाइन्छ भन्ने डरले सेल नै नखाएका गुणाजस्ता महिला छन्। हंशबहादुरजस्ता दुष्ट पुरुष छन्, जो दिनदहाडै बलात्कार गर्न खोज्छन् र दिइएन भने परिवार नै तहसनहस पारिदिन्छन्। दुई छोरी पाएको अभियोगमा पोइ र ससुराले घरबाट निकालिदिएका कैलीजस्तो पात्र छन्। आफू लाहुरमा हुँदा जति सम्बन्ध राखे पनि हुने, तर घरमा वर्षौंसम्म छोडिएकी जवान श्रीमतीले कसैसँग नजिकिँदा उसलाई फ्याँक्ने र अर्की बिहे गर्ने भक्ते तामाङजस्ता कुपात्र पनि छन्।
अर्कोतिर आफैं ज्योतिषी भएर पनि पाँच छोरी जन्माउने र एउटा पनि छोरो जन्माउन नसक्ने लेखनाथ गुरुजस्ता पात्र पनि छन्। जन्माएको एक्लो छोरो पनि दुव्र्यसनमा परेर कलिलो उमेरमै मृत्युको मुखमा पुगेको टुलुटुलु हेर्न अभिशप्त रामनारायणजस्ना पुरुष पनि छन्। चार दाजुभाइले पाल्न सक्दैनौं भनेर हात उठाएपछि बाबुआमा पालेर बसेकी एक्ली छोरी हरिप्रियाजस्ता पात्र पनि त छन्। यन्त्रणाको साङ्लो लामो छ। यसमा पिसिएका महिला र पुरुष दुवै छन्। चुँडाउनुपर्ने जालोहरू धेरै छन्। कताबाट, कसले र कहिले थाल्ने– प्रश्न त्यो हो।
पितृसत्ताका कारण महिलासँगै कतिपय पुरुष पनि कसरी यन्त्रणाका सिकार छन् भन्ने कुराको सम्यक उत्खनन उपन्यासमा छ। लैंगिक सम्बन्ध, सम्पत्ति अधिकार, वंश परम्परा आदि विषय बुलन्द बहस आरम्भ गर्न पुस्तक सफल छ।
उपन्यासकारले यी जटिल समस्याका सरल समाधान पनि सुझाएकी छन्। मीना गुरुआमा र राइटरबाजेजस्ता आदर्श र प्रेरक पात्र खडा गरेर यी सबै यथार्थ बुझेर समाजमा सन्तुलनका पक्षमा काम गर्न सकिन्छ भन्ने प्रेरणा यस उपन्यासले दिएको छ। पाँच छोरी जन्माए पनि गुणा र गमनले धेरै आकांक्षालाई तिलाञ्जली दिएर छोरीहरूलाई पढाउने प्रचेष्टा गरेका छन्। फलस्वरूप, गुणा र गमनकी छोरी भूमिका उनीहरूको अन्त्यकालका लागि अपार खुसी लिएर उदाएकी छे। सामाजिक व्यवस्थाकै कारण आफूले बाबुको वंश धानेको नमानिएको भए पनि ‘गुणा–गमन नेपाल ट्रस्ट’ खोलेर आमाबाको नाम अमर बनाउने व्यवस्था गरेकी छन्। चलनचल्तीका केही गतिकुण्ठित मान्यता तोड्न सक्नु, प्रजननको वैज्ञानिक आधारलाई जनजनमा पुर्याउन सक्नु, गलत शास्त्रीय मान्यतामाथि प्रश्न गर्न सिकाउनु र कतिपय अन्धविश्वासको तिमिरमाथि शिक्षाको उज्यालो छर्न सक्नु हो भने यन्त्रणका यस्ता जाला चुँडिन्छन्। तर, यो वा त्यो वादका नाममा पुरुष वा महिलालाई निषेध गरेर यिनको न्यूनीकरण कदापि पनि हुन सक्दैन।
लैंगिक सम्बन्ध, सम्पत्ति अधिकार, वंश परम्परा आदि अनेक विषयमाथि बुलन्द बहस आरम्भ गर्न यो पुस्तक सफल छ। केवल महिलाको पक्ष लिएर घोर नारीवादी हुने लोभ सुमन वर्षामा छैन। अथवा, पुरुषलाई सर्वथा निषेध गरेर र्याडिकल देखिने मोह पनि छैन। उनी मान्यताहरूको जगमा पुग्ने कोसिसमा छन्। पितृसत्ताका कारण महिलासँगै कतिपय पुरुष पनि कसरी यन्त्रणाका सिकार छन् भन्ने कुराको सम्यक उत्खनन उपन्यासमा छ। साहित्यकार रोशन थापा नीरवद्वारा सम्पादित यस कृतिको भाषा प्राञ्जल र शुद्ध छ। संरचना रैखिक भएर पनि कौतुहलतापूर्ण छ र शिल्प मनमोहक छ।
उपन्यासमा सुधारका केही पाटा छन्। कुनै महिलाले छोरा पाउन नसक्दैमा कोही पनि अर्को बिहेतिर उन्मुख भइहाल्दैन। अन्य शास्त्रीय उपाय र विधिविधान पनि छन्, जसमाथि समाजले विश्वास गर्छ। तर, गुणाका बाबु, सधैं गमनको अर्को बिहेको हतारोमा देखिन्छन्। त्यो अस्वाभाविक छ। भाषाको हकमा उपन्यासले विशुद्ध पूर्वेली लय समात्न सकेको छैन। उपन्यासको मूल मुद्दाबाट ध्यान भड्काउने अनेक उपकथा छन्। तिनको लोभ नगरेको भए उपन्यास अलि सानो, छरितो र बढी पाठकमैत्री हुन्थ्यो कि ?