‘अफ सिजन’मा लुक्ला विमानस्थलको ब्यस्तता बढ्यो
सोलुखुम्बु : सोलुखुम्बुको पर्यटकीय विमानस्थल तेन्जिङ हिलारी विमानस्थल लुक्लामा हवाई उडानको संख्या बाक्लिएको छ । ‘अफ सिजन’मा खुम्बु भ्रमणमा आउने विदेशीको संख्या बढेसँगै लुक्लामा हवाइ उडानको संख्या बढेको नेपाल नागरिक उड्ययन प्राधिकरण लुक्ला सोलुखुम्बुले जनाएको छ ।
यस वर्ष दैनिक ५ देखि ७ वटासम्म उडान भइरहेको प्राधिकरणका प्रमुख द्वारीका अछामीले बताए । विमानका अधिकांश यात्रुहरुमा विदेशी पर्यटक नै रहेको उनको भनाइ छ । अछामीले भने, ‘अघिल्लो वर्षहरुमा त यो मनसुन सिजनमा मुस्किलले दिनमा एउटा जति मात्रै उडान हुन्थ्यो, तर यो वर्ष त चाप अधिक छ । मौसमले अलिक चुनौती दिरहेको छ, नत्र उडान र यात्रुको संख्या राम्रो छ ।’
पर्यटकको संख्या बढेसँगै सिजनमा मात्रै उडान भर्ने विमान कम्पनीहरुले समेत अहिले उडान तालिका बनाएको छ । पर्यटकीय सिजनमा निक्कै व्यस्त हुने यस विमानस्थल ‘अफ सिजन’मा फुर्सदिला हुने गर्दथ्यो । ‘स्प्रिङ’ सिजनका रुपमा वैशाख, जेठ, असार र असोज, कात्तिक, मङ्सिरलाई मुख्य पर्यटकीय सिजन मानिन्छ ।
सिजनमा पर्यटकले भरिभराउ हुने सो क्षेत्रमा सिजन सकिएसँगै चहलपहल कम हुने गर्दछ । तर यस वर्ष भने सिजन सकिएपछि पनि फाट्टफुट्ट पर्यटकहरु आइरहेको खुम्बु पासाङ ल्हामु गाउँपालिकाले जनाएको छ । कोरोना कहरका कारण लगातार दुई वर्षसम्म भ्रमणमा निस्कन नपाएका विदेशी पर्यटक अहिले आउने क्रम बढेको हो । पर्यटक बढेसँगै सगरमाथा क्षेत्रको विमानस्थल, होटल लगायत भ्रमण क्षेत्रहरु समेत चलायमान भएको छ ।