गठबन्धनको तर्फबाट जसपाले धनकुटामा टिकट पाउनुपर्छ : नेता चेम्जोङ
धनकुटा : जनता समाजवादी पाटी नेपालका केन्द्रीय कार्यकारिणी सदस्य तथा प्रदेश नं. १ का इञ्चार्ज रकम चेम्जोङले गठबन्धनको तर्फबाट जसपाले धनकुटामा टिकट पाउनु पर्ने बताएका छन् ।
प्रेस मञ्च नेपाल धनकुटाले आइबार बिहान आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पूर्वमन्त्री समेत रहेका जसपा नेता चेम्जोङले संघीय संसदको उम्मेदवारीको लागि जसपाको धनकुटामा बलियो दावी रहेको समेत बताए ।
'पाँच दलीय गठबन्धनले धनकुटाको हकमा सर्वसम्मत निर्णय गर्छ,' उनले भने, ‘न्यायपूर्ण निर्णय हुने हुँदा सबैले स्वीकार गर्छन्।'
सत्तारुढ गठवन्धनको चुनावी तालमेलको मोडालिटी बनाउन निर्माण गरिएको कार्यदलका सदस्य समेत रहेका नेता चेम्जोङले तोकिएको समयभित्र कार्यदलले सीट बाँडफाँडको काम टुंगोमा पुर् याउने उनले बताए ।
‘कार्यदलको म्याद भाद्र १५ गते सम्मको लागि हो । यति टुंगोमा पुगेन भने वढी पाँच दिन समय थपिन्छ,' उनले भने, ‘कार्यदलको छलफल सकारात्मक रुपले अघि बढेको छ । तोकिएको समयभित्र टुंगोमा पुगिन्छ ।’
२०७४ सालको प्रत्यक्ष तथा समानुपातिक मत परिणाम र स्थानीय तह निर्वाचन २०७९ को मतपरिणामलाई बाँडफाँडको मापदण्डमा राखिएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस !