हेलिकप्टरभित्रै जन्मियो बच्चा
गोरखा : गोरखाको आखिरी गाउँ निलेकी ३४ वर्षकी याङ्जेन लामा लगालग आठ दिन सुत्केरी बेथाले थलिइन्। आठ दिनसम्म पनि बच्चा जन्माउन नसकेपछि उनका श्रीमान् ग्याम्जोले आइतबार ४ बजे नेपाली सेनाको हेलिकप्टर झिकाए। साढे ४ बजेतिर उनलाई हेलिकप्टरले काठमाडौं पुर्यायो। संयोगबस उनलाई बोकेको हेलिकप्टर एयरपोर्टमा ल्यान्ड हुनु र उनले छोरा जन्माउनु एकैसाथ भयो। हेलिकप्टरभित्रै पुत्र लाभ भएपछि ग्याम्जोले याङ्जेनकी आमाछोरालाई थापाथलीस्थित प्रसूती गृहमा पुर्याएका छन्।
‘अहिले बच्चा र आमाको स्वास्थ्य राम्रो छ’, ग्याम्जोले भने।
यसअघि याङ्जेनको चारवटा सन्तान थिए। एकजनाको मृत्यु भइसकेको छ। सोही हेलिकप्टरमा चुमनुब्री गाउँपालिका–७ बुर्जीकी अर्की २८ वर्षकी गर्भवती धेजेन साङ्मोको पनि उद्धार गरिएको छ। ‘सुत्केरी हुन केही दिन बाँकी थियो। त्यतिबेला असजिलो पनि हुनसक्छ भनेर त्यही हेलिकप्टरमा हालेर लगियो’, पूर्व वडाध्यक्ष पासाङ फुञ्जो लामाले भने।
तिब्बती सिमानामा रहेको चुमनुब्री गाउँपालिका सडक सञ्जालले जोडिएको छैन। यहाँका गम्भीर बिरामी, घाइते तथा सुत्केरी बेथा लागेकाहरू उपचारका लागि महंगो भाडा तिरेर हेलिकप्टरबाट उद्धार गर्ने गरिन्छ। सो पालिका निषेधित क्षेत्रअन्तर्गत रहेकाले हेलिकप्टर उडाउन अनुमति लिने झन्झट छ। प्रक्रिया पुर्याउँदा पुर्याउँदै ढिला हुँदा कतिपय घाइते, बिरामी तथा सुत्केरी बेथाले थलिएकाहरूको मृत्युसमेत हुने गरेको छ।
प्रतिक्रिया दिनुहोस !