सुगम बन्दै तमोर किनारका बस्ती

सुगम बन्दै तमोर किनारका बस्ती

धनकुटा : १५ वर्ष अघिसम्म धनकुटा सदरमुकामदेखि ११ कोष पूर्वमा रहेको साविकका गाविसहरू कुरुलेतेनुपा, बसन्तटार, मुढेवास, मौनाबुधुक, बोधे, खुवाफोकका बेंसीफाँट अर्थात् तमोर नदी किनारका वस्तीहरूलाई दुर्गम क्षेत्र मानिन्थ्यो। ती क्षेत्रका स्थानीयवासीलाई धनकुटा सदरमुकाम वा तराइका बजार धरान, इटहरी, विराटनगरसम्म पुग्न वेशीफाँट माथि पहाडमा बनेका सडकसम्म पुग्न मात्रै पनि घण्टौं पैदल हिँड्नुपथ्र्यो।

कुरुलेतेनुपाको बेंसीफाँट भैंसेटार, फलामेटारदेखि मूलघाट आएर बस चढ्न ५ घण्टा पैदल हिँड्नु पथ्र्यो। बेंसीफाँट मुनि तमोर सुसाउँदै बगिरहन्थ्यो। किनारको माथिल्लो भागमा पैदल हिँड्न गल्ली थियो। अहिले रोजगारीको सिलसिलामा काठमाडौं रहेका कुरुलेतेनुपा बासी नोदनाथ त्रितालका अनुसार २०६४ सालभन्दा अघिको समयमा त्यो क्षेत्रको जीवनस्तर निकै कष्टकर थियो। सडक पूर्वाधार वनेको थिएन। पैदल गल्लीको बाटो पन्छाउँदै ५ घण्टासम्म हिँडेर बस चढ्नका लागि मुलघाट धाउनु पथ्र्यो। तमोर नदीमा डुंगा चले पनि बर्खाको बेला बन्द हुन्थ्यो।

कुनै बेला दुर्गम क्षेत्रमा पथ्र्यो तमोर नदीका बेंसीफाँट पाँचथर धनकुटाको सीमाक्षेत्रको डिहिटारदेखि यताको भैंसेटार, फलामेटार, हंशमोरङ, सदरमटार, कुसेटारसम्मको क्षेत्र। तर, अहिले तमोर कोरिडोर सडक बनेसँगै ती क्षेत्र सुगममा परिणत हुन थालेका छन्। सुगम बन्ने माध्यम बाटो नै रहेको हंशमोरङकी ८२ बर्षीय रणकुमारी भण्डारी बताउँछिन्। घर छेवैको तमोर कोरिडोरको वाटोमा गाडि कुद्दा सपना जस्तो लाग्ने उनको भनाइ छ। 

‘गाडी कुद्छ भनेर सपनै थिएन हामीलाई’, उनी भन्छिन्, ‘अहिले हामीहरूले देख्न पाइयो। खुसी लागेको छ।’

हंशमोरङको उकालो वाटो हिँड्न घाम अस्ताउनु पथ्र्यो। ६/७ घण्टा हिँडेपछि गाडी चढ्ने ठाउँ पुगिन्थ्यो। अहिले गाडी जाहि पनि पुर्‍याउँछ। सुविधा आयो भन्ने लाग्छ। त्यस्तै सोही गाउँका ८५ वर्षीय लोकेन्द्र भण्डारीलाई थुम्छेमा अन्नपात बोकेर हिँडेको सपना जस्तै लाग्न थालेको छ हिजोआज। उनी भन्छन्, ‘अहिले गाडी चढेर हिँड्न पाइएको छ। खुसी लाग्छ। कुनै बेला डिहिटारदेखि भैंसेटार, फलामेटार हुँदै मूलघाटसम्मको ६/७ घण्टाको पैदल दूरी अहिले सडकको सहज पहुँचले १ घण्टामा छोट्टिएको छ। सवारी साधन नियमित रूपमा सञ्चालन हुनथालेपछि तेह्रथुम, ताप्लेजुङ, पाँचथर र धनकुटाका त्यस क्षेत्रका स्थानीय वासिन्दालाई धनकुटा सदरमुकाम र तराईका धरान, इटहरी, विराटनगरसम्म पुग्न सहज भएको छ। त्यस्तै दैनिक उपभोग्य सामान गाँउसम्म पुर्‍याउन तथा गाउँमा उत्पादन भएको कृषिजन्य उत्पादन बजार पुर्‍याउन पनि निकै सहज बनेको छ।

भैंसेटार क्षेत्रबाटै तमोर करिडोर सडक जान्छ। भैंसेटार तमोर किनारको बस्ती हो। यहाँ माझी र तामाङ समुदायको ४० भन्दा बढी घर छ। तल तमोर नदी अविरल रूपमा बगे पनि बस्तीमा भने खानेपानीको समस्या सधैं भइरहन्थ्यो। यहाँको अधिकांश जमिन तमोर नदीले कटान गरेको छ। तर, बाँकी रहेको जग्गामा मकै र जुनेलो खेती हुन्छ। गाउँका युवा बिदेसिएका छन्। यस गाउँमा रहेको घरका छानो खरको थियो। फुसको छाना हटाउने कार्यक्रमले जस्ताको रंगिन पाताले टल्किएको छ।

२७ वर्षका राजन माझी बिदेसिएका मध्येका एक जना युवा हुन्। भविष्य खोज्दै बिदेसिएका उनी झण्डै ८ वर्ष साउदी र कतार वसेपनि अन्ततः गाउँमै फर्किए। गत वैशाख ३० गतेसम्म स्थानीय तह निर्वाचनमा चौविसे गाउँपालिका वडा नम्बर ४ का वडा सदस्यमा निर्वाचित भए। अहिले जनप्रतिनिधि बनेका छन्। उनी अघिका पुस्ताले मात्र होइन उनी आफैंले पनि ३-४ घण्टा पैदल हिडेर उत्पादीत कृषिजन्यउपजलाई बिक्री गर्न मुढेवासको शुक्रबारे बजारसम्म पुगेका छन्। तमोर करिडोरको बाटोले भैंसेटारसहित अन्य बेंसीफाँटको जनजीवनलाई परिवर्तन वनाएको उनले बताए। उनका अनुसार पहाडबाट तराई झर्ने तथा तराईबाट पहाड चढ्ने दैनिक ३०/३५ वटा गाडी आवतजावत गर्छन्। बजारसम्म पुग्नलाई गाह्रो छैन। यहाँ फलेका कृषिजन्य उत्पादनले बजार पाएका छन्। बिदेसिएका युवालाई फर्काएर गाउँमै व्यवसायिक कृषिजन्य उत्पादनतर्फ प्रोत्साहित गर्ने उनको योजना छ।

पहिलो संविधान सभा निर्वाचनको बेला नेकपा माओवादीबाट धनकुटा क्षेत्र १ नम्बरबाट निर्वाचित वनेका थिए, हेमराज भण्डारी। उनको पुख्यौली गाउँ कुरुले तेनुपा। उनै भण्डारीले २०६५ सालमा संसद विकास कोषबाट ५ लाख रुपैयाँ विनियोजन गरी तमोर कोरिडोरअन्तर्गत धनकुटा खण्डको वाटोको ट्याक खोल्ने कार्य सुरुवात भएको थियो। धनकुटा र पाँचथरका जनप्रतिनिधिको सहकार्यमा निर्माण भएको कोरिडोर तमोर किनारमा अवस्थित वस्तीलाई आर्थिक समृद्धिको ढोका खोलिएको संविधान सभा सदस्य हेमराज भण्डारीले बताए। संसद विकास कोषबाट विनियोजित रकमबाट निर्माण कार्य भएको यो सडकले अहिले राष्ट्रिय गौरवको आयोजना बन्दा खुसी लागेको उनी बताउँछन्।

धनकुटाको मूलघाटबाट पाँचथरको माझीटार, ताप्लेजुङको दोभान, सुकेटार हुँदै ओलाङचुङगोलासम्म पुर्याएर चीनको तीब्बतसँग जोड्ने लक्ष्यका साथ तमोर करिडोर आयोजना २०६७ सालबाट उक्त सडक निर्माण कार्य सुरु गरिएको हो। धनकुटाको मुलघाटदेखि तमोर नदीको किनारै किनार करिब १ सय ८० किमिको दूरीमा चीनको सीमावर्ती नाका ओलाङचुङगोला पर्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.