सडक अतिक्रमण गरी बनाइएका संरचना नगरपालिकाले हटायो
भैरहवा : मुलुकमा पैदलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक भित्रिने बेलहिया नाका क्षेत्रमा सडक अतिक्रमण गरी राखिएका ठेलागाडा, ट्यांकी, टहरा लगायतका संरचना हटाइएको छ।
प्रहरीको समन्वयमा बेलहिया नाका क्षेत्रको सौन्दर्यकरणअन्तर्गत सडक सीमाभित्र सार्वजनिक हित प्रतिकूल हुने गरी राखिएका संरचनाहरू हटाइएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले बताए।
संरचना हटाएपछि बेलहिया सडक क्षेत्रमा पैदलयात्रु, सवारी साधन आवागमनमा सहज भएको उनले बताए।
सडक अतिक्रमणले सडक साँघुरिदै गएको र सवारी दुर्घटनाको जोखिम समेत बढेको थियो।
सडक अतिक्रमण गरी राखिएका/बनाइएका संरचनाहरू हटाउन गत साउन १७ गते सूचना गरिए पनि २८ दिनसम्म सूचनालाई अटेर गरेपश्चात् उक्त संरचनाहरू सोमबार हटाइएको हो।
हाल बसस्टप रहेको स्थानमा ६ तल्ले अन्डरग्राउन्ड पार्किङ सहितको व्यवसायिक भवन निर्माण गर्ने लगायत नगरपालिकाको योजना छ।
त्यस्तै ठुल्ठुला विद्युतीय लाइट जडान गर्नका लागि नगरपालिका र नेपाल विद्युत् प्राधिकरणबीच सम्झौता समेत भइसकेको र छिट्टै नै काम सुरु हुने सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँनले बताए।
'बेलहियाबाट लाखौँ पर्यटक भित्रिए पनि पर्यटकमैत्री देखिएको छैन, जसले गर्दा पर्यटकहरूमा नकारात्मक सन्देश गइरहेको छ' उनले भने, 'नगरलाई स्वच्छ, सफा र हरियाली बनाउने कार्यअन्तर्गत प्रकिया अघि बढाइएको हो।'
सडक सबैको साझा भएकोले यसको संरक्षणमा सरोकारवालाहरू एकजुट भएर लाग्नुपर्ने उनको भनाइ छ।
बेलहिया-बुटवल व्यापारिक मार्ग आयोजना कार्यालय अन्तर्गत निर्माणधीन अवस्थामा बेलहिया सडक ठेकेदार कम्पनीले समयमै काम सम्पन्न नगर्दा नगरपालिकाले योजना सञ्चालन गर्न सकेको छैन।
'हामीले ठेकेदार कम्पनी र सम्बन्धित कार्यालयहरूलाई छिटो सडक निर्माण गर्न पटक पटक आग्रह गरिरहेका छौँ' नगर प्रमुख खाँनले भने, 'तर बेलहियाको निर्माणधीन सडक आयोजना नगरपालिका कार्यालय मातहत नहुँदा हामीले नगरपालिकाबाट कुनै किसिमको कारबाही प्रक्रिया अघि बढाउन सकेका छैनौँ।'
उनले थपे- 'पर्यटक भित्रिने बेलिहयाले नगर/मुलुक अवस्था दर्साउने भएकोले बेलहियाको सौन्दर्यकरण जरुरी देखिएको छ। जसमा बेलिहया र नगरवासीको साथ/सहयोगको समेत आवश्यकता छ।'