उम्मेदवारी दिएको भन्दै कांग्रेसकी नेतृ महतोमाथि बैठकस्थलमै दुर्व्यवहार
महोत्तरी : नेपाली कांग्रेसको तर्फबाट समानुपातिकतर्फ उम्मेदवारी दिएको भन्दै पूर्व मेयर विनोद यादवले महिला नेतृ ममता महतोलाई हातपातको प्रयास गरेका छन्।
बिहीबार दिउँसो नेपाली कांग्रेसको बैठक जारी रहेको समयमा बलवा नगरपालिकाको पूर्व मेयर तथा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि यादवले आफ्नै पार्टीका जिल्ला कार्य समिति सदस्य महतोलाई पार्टीको बैठकस्थलमै दुर्व्यवहार गरेका हुन्।
महोत्तरीको लोहारपट्टीस्थित शिवचन्द्र भवनमा क्षेत्र नम्बर २ (क) प्रदेश निर्वाचन क्षेत्रीय कार्यसमिति बैठकमै नेता महतोले प्रदेशसभाको समानुपातिक तर्फ आफ्नो उम्मेदवारी दिएकी थिइन्।
त्यसपछि पूर्वमेयर यादवले नेतृ महतोलाई 'किन उम्मेदवारी दिएको? यो तिम्रोको बाउको पार्टी हो। तिमी यहाँबाट निस्किहाल' जस्ता शब्द प्रयोग गर्दै पूर्व मेयर यादवले कुट्न आएको पीडित नेतृ महतोले बताइन्।
२०७४ र २०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनका बेला पनि बलवा नगरपालिकाको उपमेयर पदमा टिकट पाएको र पूर्व मेयर यादवको समूहले बाटैबाट खोसेको नेतृ महतोले बताइन्।
विवादपछि बैठक स्थगित भएको छ।
प्रतिक्रिया दिनुहोस !