पहिरोको जोखिममा पिपलचौर बस्ती
![पहिरोको जोखिममा पिपलचौर बस्ती](https://annapurnapost.prixacdn.net/media/albums/pipalchaur-pahiro_20220904091843_zHjRtB1B0G.jpg)
जाजरकोट : जाजरकोटको नलगाड नगरपालिका–४ को पिपलचौरका प्रेमबहादुर रावल ठूलो पानी परेको दिन रातभर सुत्दैनन्। ‘पहिरो खस्ने डरले जाग्राम बसेर रात काट्छौं’, रावलले भने, ‘पहिरोले बस्ती नै जोखिममा छ। छोडेर कहाँ जाउँ अन्त जाने ठाउँ पनि छैन। जोखिम मोलेरै बस्न बाध्य छौं।’ बस्ती पहिरोको उच्च जोखिममा परेको छ। बस्ती नजिकैको गाँरेखोलाको कटान तथा पहिरोले एक साथ क्षति गर्न थालेपछि पिपलचौर बस्ती उच्च जोखिममा परेको हो। रावल जस्तै दर्जन बढी घर पहिरोको उच्च जोखिममा छन्।
पहिरो तथा खहरेखोलाको कटानले गर्दा बस्ती पिपलचौर बस्ती जोखिममा परेको स्थानीय रवीन्द्र गौतमले बताए। कालीमाटी सिर्के सडक निर्माण गर्दा यसको असर परेको गौतमले बताए। ‘सडक निर्माणको समयमा थुपारेको माटो पानीले बगायो। खोलो बन्यो र कटान थाल्यो। त्यसले गर्दा अहिले आएर बस्ती नै धराममा परेको छ’, उनले भने। पहिरो रोकथाम तथा नियन्त्रण समयमै गरिएन भने यसबाट ठूलो क्षति पुग्ने छ,’ गौतमले भने। सानो पानी पर्दा पहिरो जान्छ। यसबाट यहाँका मकबहादुर सिंह, सन्देश रावल, प्रेमबहादुर रावल, कलम रावल, सत्यलाल गौतम, कल्पना पन्त, मनबहादुर खत्रीलगायतका घर जन कल्याण आधारभूत विद्यालय जोखिममा रहेका छन्।
पहिरो रोकथाम तथा नियन्त्रणतर्फ कतैबाट पनि पहल हुन सकेको छैन पिपलचौरका राजेन्द्र रावलले बताए। ‘यो पहिरो रोकथाम गरिएन भने यसबाट यहाँको उब्जाउ जमिन बगेर जाने खतरा छ,’ रावलले भने। पहिरोले गर्दा यहाँका मान्छेहरू त्रासमा छन्। स्थानीय सत्यलाल गौतमले पहिरोले आफ्नो जग्गा नै गइसकेको बताए। उनका अनुसार वडा तथा नगर सरकारले पिपलचौर पहिरोको विषयमा आवश्यक पहल लिनुपर्ने देखिन्छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)