विधान मिचेर जिल्ला कार्यसमिति सिरहाले सिफारिस भएका उम्मेदवारको नाम हटायो

विधान मिचेर जिल्ला कार्यसमिति सिरहाले सिफारिस भएका उम्मेदवारको नाम हटायो

सिरहा : आगामी मंसिर ४ मा हुन गइरहेको निर्वाचनका लागि सिरहामा कांग्रेसका प्रदेश र प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले महामन्त्रीको परिपत्र र विधानअनुसार सिफारिस गरेका उम्मेदवारलाई जिल्ला कार्यसमितिले नाम हटाएर मधेस प्रदेश समितिलाई सिफारिस गरेको छ ।

कांग्रेसको विधान र केन्द्रीय महामन्त्रीको परिपत्र अनुसार सर्वसम्मत वा बहुमतले प्रदेशसभा समितिबाट सिफारिस भएको उम्मेदवारबारे प्रतिनिधिसभा समितिले राय सुझाव लेख्ने, त्यसपछि प्रतिनिधि र प्रदेशसभा कार्यसमितिले सिफारिस गरेको उम्मेदवारहरुको बारेमा जिल्ला कार्यसमितिले राय लेखेर माथिल्लो निकायलाई पठाउने भनिएको छ । तर, विधिपूर्वक सिफारिस भएका उम्मेदवारहरुलाई जिल्ला कार्यसमितिले नाम हटाउने/थप्ने र क्रमागत हेरफेर गरी प्रदेशलाई उम्मेदवारको सूची बुझाएको छ । 

यहाँ जिल्ला कार्यसमितिमा सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा पक्षका बहुमत छन् । बहुमतकै दम्भमा प्रदेश र प्रतिनिधिसभा कार्यसमितिबाट शेखर कोइराला पक्षका अधिकांश नेताहरु उम्मेदवारको रुपमा सिफारिस भएर आएपनि जिल्ला कार्यसमितिले हटाउने र सिफारिस क्रमागत तलमाथि गरेको छ । 

प्रदेश र प्रतिनिधिसभा कार्यसमितिबाट सिफारिस नै नभएको व्यक्तिलाई पनि सिफारिस गरेको छ । शेखर पक्षका धेरै नेताहरुको नाम हटाइएको छ ।

जिल्ला सचिव शैलेन्द्र यादवका अनुसार जिल्ला कार्यसमितिबाट ४ वटै निर्वाचन क्षेत्रका प्रतिनिधि र प्रदेशसभाको प्रत्यक्ष र समानुपातिक गरी १४० जनाको नाम उम्मेदवारको रुपमा सिफारिस भएको छ । जसमा प्रदेश र प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले सिफारिस गरी पठाएको उम्मेदवारहरुमा फेरबदल भएको उनले स्वीकार गरेका छन् ।

क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति संजयप्रकाश यादवको अध्यक्षतामा भदौँ १६ गते भएको बैठकले प्रतिनिधिसभा सदस्य प्रत्यक्षमा पूर्व मन्त्री तथा पूर्व केन्द्रीय कोषाध्यक्ष सितादेवी यादव र महासमिति सदस्य डाक्टर सुभाष् चन्द्र यादव तथा प्रतिनिधिसभा समानुपातिकमा महासमिति सदस्य अमर रेग्मीको नाम सिफारिस गरेको थियो ।

प्रदेशसभा (क) प्रत्यक्षमा महाधिवेशन प्रतिनिधि चन्द्रदेव यादव, जागेश्वर यादव, रामबाबु महतो, रामचन्द्र यादव, राजकुमार यादव समानुपातिकमा महिला तर्फ कृष्णादेवी यादव पुरुषतर्फ पुरुषोतम गौतम, बुधराम सिंह दनुवार, मुरली राय माझी, मायादेव चौधरी र रामदेव यादवको नाम सिफारिस गरेको थियो । 

प्रदेशसभा (खं) प्रत्यक्षमा संजयप्रकाश यादव, गंगाराम यादव, अशिषलाल यादव समानुपातिकतर्फ महिला विणाकुमारी यादव र पुरुषमा योगेन्द्र नारायण बडबरियाको नाम सिफारिस गरेको हो ।

यहाँ प्रदेशसभा (खं)का सभापति रामनारायण महतो रामचन्द्र यादव पक्षका मानिन्छ। सभापतिलाई कार्यसमितिका दुई तिहाई सदस्यले बैठक गर्न माग गर्दा बैठक गरेनन । बैठक नगरेपछि प्रदेशसभा (खं) उपभापति रामचन्द्र यादवको अध्यक्षतामा बैठक बसेर उम्मेदवार सिफारिस गरेको थियो ।

क्षेत्रीय कार्यसमितिबाट भएको निर्णयलाई केही सुनुवाई नै नगरी जिल्ला सभापति रामचन्द्र यादवले प्रदेशसभा (खं) सभापति महतोको अध्यक्षतामा कार्यसमिति भन्दा बाहिरको व्यक्तिहरुलाई पनि बोलाएर उम्मेदवार सिफारिस गर्न लगाएको एक क्षेत्रीय सदस्यले जानकारी गराए । 

जिल्ला कार्यसमितिबाट यहाँ सभापति आफूलाई प्रतिनिधिसभा सदस्यमा एकल सिफारिस गरेको छ । प्रतिनिधिसभा समानुपातिकमा मधुसुदन यादव, बेचन महतो र सन्तोषी यादवको सिफारिस गरेको छ । 

प्रदेशसभा (कं)मा रामसगुन यादव, रामनारायण महतो, राजकुमार सिंह र समानुपातिकमा कौशल मण्डल, गंगाप्रसाद यादव, विशेश्वर यादव, रेखा यादव, समरिकादेवी महतो, जमुनीदेवी पासमानलाई सिफारिस गरेको छ । 

प्रदेशसभा (ख) प्रत्यक्षमा रामबाबु यादव समानुपातिकमा उपेन्द्र यादव, तारकेश्वर यादव, कुसुमदेवी यादव, बबिता यादवको नाम सिफारिस जिल्ला कार्यसमितिले गरेको छ । 

क्षेत्र नम्बर ३ का बाट मात्रै होइन, कांग्रेस पूर्वकोषाध्यक्ष सितादेवी यादव र महासमिति सदस्य डाक्टर सुभाष चन्द्र यादवको नाम क्षेत्र नम्बर ४ बाट पनि प्रतिनिधिसभा सदस्यको उम्मेदवारको रुपमा सिफारिस गरेको थियो । तर, उनको नाम जिल्ला कार्यसमितिबाट हटाएको छ । 

सिरहा क्षेत्र नम्बर १ (क) मा प्रदेशसभा कार्यसमितिबाट रासुन्दर चौधरी प्रदेशसभा सदस्य प्रत्यक्षमा र समानुपातिकमा पुनम चौधरी प्रदेशसभा (ख) प्रत्यक्षमा नवल किशोर यादव सिफारिस भएको थियो । तर, उनीहरुको नाम जिल्ला कार्यसमितिले हटाएको छ । प्रदेशसभा समितिको सिफारिसमा नपरेका फुलेश्वर महतोलाई (क) र देवनाथ यादवको नाम (ख)मा जिल्ला कार्यसमितिले सिफारिस गरेको छ । 

यस्तै चित्रलेखा यादवको नाम क्षेत्रीय समितिबाट सिफारिस नभएपनि जिल्ला कार्यसमितिले थपेको छ । 

यहाँ १४ औँ जिल्ला अधिवेशनमा नेतृत्व चयनको लागि चुनाव नै भएको थियो । त्यसमा रामसुन्दर चौधरी सभापतिमा रामचन्द्र यादवसँग प्रतिस्पर्धा गरेका थिए । मतदानको क्रममा रामचन्द्र यादवको पक्षबाट धान्धली भएको भन्दै पुनः निश्पक्ष निर्वाचनको माग गर्दै रामसुन्दर चौधरी पक्ष आफ्नो अडान राखिरहेको छ । पछि चौधरीले आफ्नै नेतृत्वमा नेपाली कांग्रेस समानान्तर जिल्ला कार्यसमिति गठन गरी घोषणा गरेका थिए । विवाद उग्र भयो । 

समानान्तर समितिले गरेको बैठक भेलामा सहभागी नेता/कार्यकर्ताहरुलाई रामचन्द्र पक्षले वाइपास गर्न थाले । स्थानीय तह निर्वाचनको बेला रामसुन्दर चौधरी र पद्मनारायणको बर्चस्व रहेका वडामा रामचन्द्र यादव पक्षलाई सिफारिस रोक्न खोजे । रामसुन्दर पक्षमाथि जिल्ला अधिवेशनमा अन्याय भयो भनेर बोल्ने केही व्यक्तिलाई स्थानीय तहमा निर्वाचनमा पनि रामचन्द्रले टिकट सिफारिस हुनै दिएनन । वडाको टिकट नै खोसिदिए । स्थानीय तहको निर्वाचनमा पार्टीका अर्को पक्षबाट अन्र्तघात भएर चुनाव हारेको रामचन्द्र पक्षको भनाइ छ । जिल्ला कार्यसमितिबाट पार्टीका उम्मेदवारलाई हराएको भन्दै दर्जनौं व्यक्तिलाई कारवाही पनि गरेको छ । 

अर्कोतिर प्रदेशसभाको उम्मेदवार सिफारिसमा मतदान गराएपछि क्षेत्र नं. १ मा कमजोर रहेका कारण रामचन्द्र यादव पक्षका नेताहरु छनौट हुन पाएका थिएनन । जिल्ला अधिवेशनको परिणाम जे जस्तो भएपनि नस्वीकारेको र उम्मेदवार छनौटमा मतदान भएको निहुँमा जिल्ला कार्यसमितिबाट उम्मेदवार काटछाट र क्रमागत हेरफेर गरिएको एक कांग्रेस नेताको दाबी छ ।

सिरहा कांग्रेसमा विवाद उग्र रुप लिएपनि कुनै केन्द्रीय नेताहरुले समाधानका लागि पहल गरिरहेको छैन् । आन्तरिक विवाद समाधान नभए गठबन्धन गर्दा पनि उम्मेदवारलाई चुनावमा अप्ठयारो पर्ने कांग्रेस नेताहरुको भनाइ छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.