हेपाटाइटिस बी को जोखिम

हेपाटाइटिस बी को जोखिम

गोरखा : वैदेशिक रोजगारीका लागि भिसा प्रक्रिया सबै ठीकठाक भएर पनि धार्चे–२ का धेरै जना स्वास्थ्य चेकजाँचमा असफल भएर फर्किनु पर्‍यो। फर्किएका धेरै जनामा हेपाटाइटिस बी पोजेटिभ देखिएको थियो। तर, उनीहरूले गाउँमा आएर सो कुरा खुलाउन चाहेनन्।

‘भिसा प्रक्रियामा स्वास्थ्य चेकजाँच गर्दा हेपाटाइटिस बी देखिएपछि केरौंजाका मात्र ८ जना फिर्ता भएको मेरो जानकारीमा छ’, गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख अमृत घलेले भने, ‘तर प्रायले यस्तो विषय खुलाउन चाहँदैनन्। त्यसैले झन्झन् फैलने सम्भावना धेरै छ। कति जनामा यो रोग छ भनेर पहिचान गर्न कठिन छ।’ केरौंजा मात्र होइन, दुर्गम धार्चे गाउँपालिकाका प्राय सबै ठाउँमा यस्तो समस्या रहेको तर पहिचान गर्न नसकिएको उनको भनाइ छ। ‘यसको लक्षण पनि बाहिर देखिँदैन। हेपाटाइटिस पहिचानका लागि परीक्षण शिविर पनि गरिएको छैन’, घले भन्छन्, ‘एचआईभी, हेपाटाइटिस जस्ता रोगलाई समाजमा लुकाउने प्रचलन छ। समयमै पत्ता लगाएर रोकथाम गर्नुपर्ने हो। तर, यहाँ शंकास्पद व्यक्तिहरू स्वयं चेकजाँच गराउन पनि जाँदैनन्। विभिन्न क्रममा परीक्षण गराउँदा पोजेटिभ देखियो भने पनि लुकाउने चलन छ। जुन घातक छ।’
अर्को दुर्गम चुमनुब्री गाउँपालिकामा यो झन् समस्या जकडिएर रहेको छ। चुमनुब्री गाउँपालिका–३ साविक सिर्दिबास गाविसका प्रायः सबै गाउँ टोलका बासिन्दामा हेपाटाइटिसको समस्या छ।

‘१५ घरधुरी रहेको नाग्चेतका १२, १३ जनामा यो समस्या छ भन्ने पुष्टि भएको छ’, सिर्दिबास स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्य सहायक बुद्ध गुरुङले भने, ‘६० घरधुरी रहेको पाती गाउँका करिब २० जनामा हेपाटाइटिस बी र एकजनामा हेपाटाइटिस सी पनि भेटिएको छ।’ १४० घरधुरी रहेको पाङसिङका १३ जनामा, १५ घरधुरी रहेको फ्याक्पाका ६ जनामा, एक सय घरधुरी रहेको फिलिमका ४/५ जनामा, १५ घरधुरी रहेको सल्लेरीमा चार जनामा र छेकम्पारका ३/४ जनामा हेपाटाइटिस पुष्टि भइसकेको उनले बताए। गर्भवतीको नियमित स्वास्थ्य जाँचको क्रममा, वैदेशिक रोजगारीको क्रममा स्वास्थ्य चेकजाँचको क्रममा यस्ता समस्या पहिचान भएको उनले बताए। यही रोग पहिचान गर्ने उद्देश्यले स्वास्थ्य चेकजाँच गर्न सके अझै धेरै पहिचान हुने उनको भनाइ छ।

‘अहिले जति पनि देखिएका छन्। लक्षण नभएका संक्रमितहरू हुन्’, गुरुङ भन्छन्, ‘एचआईभीभन्दा १० गुना बढी सर्न सक्ने क्षमता भएको रोग भएकाले अहिले लक्षण नदेखिए पनि बेलैमा पहिचान गरी रोकथाम नगरेपछि यसको अवस्था विकराल हुनसक्छ।’ यसबारे जिल्लास्थित स्वास्थ्य कार्यालयमा पनि खबर गरिरहेको उनको भनाइ छ। रोग पहिचान र जनचेतना जगाउन शिविर सञ्चालन गर्न सके अति उत्तम हुने उनको भनाइ छ। रोग न्यूनीकरणका लागि स्थानीय सरकारले जनचेतनामूलक कार्यक्रम नियमित सञ्चालन गर्नुपर्ने आवश्यकता छ। आजीवन रहने यो रोगले कलेजोमा असर गर्छ।

यस रोगको औषधि काठमाडांैमा पाइए पनि निकै महँगो पर्छ। बच्चा जन्मने बित्तिकै लगाइने हेपाटाइटीस ‘बी’ विरुद्धको खोप नलगाए पनि यो रोगले संक्रमण गर्छ। असुरक्षित यौन सम्पर्क, रोगी महिला–पुरुषको शरीरबाट निस्कने विभिन्न तरल पदार्थहरूको सम्पर्क, वीर्य, ‍र्‍याल, पसिना, आँसु, पेटभित्रका रसहरू, रगतको माध्यम र रोगी आमाबाट जन्मेका बच्चाहरूमा हेपाटाइटिस ‘बी’ सर्छ। धेरैजसो वंशाणुगत हेपाटाइटिस रहेको हुन सक्ने उनको भनाइ छ। हेपाटाइटिस बी र सी परीक्षण गर्ने प्रविधि जिल्लास्थित स्वास्थ्य कार्यालयमा समेत छैन।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.