दार्चुलाका बाढीपहिरो पीडितलाई बासको समस्या

दार्चुलाका बाढीपहिरो पीडितलाई बासको समस्या

दार्चुला : शुक्रबार रातिदेखि भएको अविरल वर्षाका कारण आएको बाढीपहिरोले घरवारविहीन भएका परिवारलाई बासको समस्या परेको छ। 

पीडितहरू अहिले नेपाल रेडक्रस सोसाइटी र जिल्ला समन्वय समितिको भवनमा बसिरहेका छन्। 

पीडितलाई खानाको समेत समस्या भएपछि महाकाली नगरपालिका र नेपाल रेडक्रस सोसाइटीले दाल, चामल, नुन वितरण गरेका छन्। 

बाढीपहिरोमा परेर मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ। लास्कु खोलामा आएको बाढी र नौगाडमा आएको पहिरोमा परी पाँच जनाको मृत्यु भएको हो।

पहिरोका कारण नौगाड गाउँपालिकामा तीन जनाको मृत्यु भएको छ। मृत्यु भएका पाँच जनाको सनाखत भएको छ। 

मृत्यु हुनेमा नौगाड गाउँपालिकाका तीन र महाकाली नगरपालिकाका दुई छन्। सातजना अझै बेपत्ता छन्। बेपत्ता सबै सदरमुकाम खलङ्गास्थित महाकाली नगरपालिकाका छन्। 

बाढीपहिरोमा परेर मृत्यु हुनेमा महाकाली नगरपालिका-२ मुल्लाका ७७ वर्षीय नन्दराम बोहरा, महाकाली-३ डुङरीकी ३५ वर्षीया मानमति कार्की, नौगाड गाउँपालिका-१ की ३५ वर्षीया जानकी ठगुन्ना, १५ वर्षीया धनुली ठगुन्ना तथा नौगाड-२ का ४५ वर्षीय मोहनराम पार्की रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। 

पहिरोमा परी गम्भीर घाइते भएकाहरूको नेपाली सेनाको एयर एम्बुलेन्समार्फत उद्दार गरिएको छ। 

सुर्खेतबाट आएको एयर एम्बुलेन्समार्फत नौगाड गाउँपालिका-१ सल्लाका ४५ वर्षीय बिरेन्द्र ठगुन्ना, ४० वर्षीय जयबहादुर ठगुन्ना, ३५ वर्षीय फागुनी ठगुन्ना, सोही ठाउँका ३० वर्षीय रम्भा देवी ठगुन्ना र ३० वर्षीय देव सिंह ठगुन्नालाई उद्दार गरी सदरमुकाम खलंगा ल्याएको नेपाली सेनाको गुरु गोरख गुल्म दार्चुलाले जनाएको छ।

उनीहरूलाई हेलिकप्टरमा नौगाडबाट खलङ्गा हुँदै केही बेर अघि कैलालीको धनगढी लगिएको सहायक प्रजिअ हेमन्ती साउदले जानकारी दिए। 

जिल्ला अस्पताल दार्चुलामा उपचार सम्भव नभएपछि चारैजनालाई धनगढी लगिएको उनले बताए। चार जनाको अवस्था चिन्ताजनक रहेको उनको भनाइ छ। 
 
सात बेपत्ता

बाढीपहिरोमा परेर सातजना बेपत्ता भएका छन। बेपत्ताको नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीले खोजी गरिरहेका छन्। 

बेपत्तामा महाकाली-३ डुङरीका धनसिंह कार्की तथा उनका छोराहरू दीपक र दिनेश तथा अन्य चारजना रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
 
१२ घर पूर्ण क्षति

पहिरोले नौगाडमा १२ घर पूर्ण क्षति भएको छ भने महाकाली नगरपालिका-४ बंगाबगडमा १५ घर महाकालीमा बगेका छन्। 
पावर हाउस र जेसीभी पनि बगायो 
बाढीले दार्चुलाको डुङ्रेखोलामा रहेको पावर हाउस बगाएको छ। निर्माणाधीन खार खलङ्गा सडकमा प्रयोग भएको जेसीभी बगाएको छ। 

महाकाली नदी र लास्कु खोलामा आएको बाढीले खलङ्गा हुँदै दुहुँ व्यास जोड्ने सडक अवरुद्ध बनेको छ। दार्चुलाको व्यास गाउँपालिका, दुहुँ गाउँपालिका र महाकाली नगरपालिकाका मानिसहरूले आवतजावत गर्ने लास्कु खोलाको झोलुङगे पुल बगाएको छ। 

दार्चुला तिङ्कर सडकअन्तर्गत रिङ्गलतालदेखि कलौनभीरसम्म सडक अवरुद्ध भएको छ। दुहुँ गाउँपालिका र महाकाली नगरपालिका जोड्ने यो सडक बगाएपछि यो क्षेत्रमा आवतजावतमा समस्या भएको छ। 

महाकाली तटबन्ध हुँदै निर्माण गरिएको दार्चुला तिङ्कर सडक पूर्णरुपमा क्षति भएको छ। लास्कु खोलामा निर्माण गरिएको मोटेरबल पुल र झोलुङ्गे पुल बगाएको छ। पुल नहुँदा वारपार गर्न सकिने अवस्था छैन। 

महाकाली-४ बंगाबगड हुँदै वडा नम्बर १ छापरी जाने पुल बगाएको छ। दार्चुला तिङ्कर सडकमा राति पार्किङ गरी राखिएका जिप महाकालीले बगाएको स्थानीय चक्रबहादुर बमले बताए। 

बमका अनुसार पाँचवटा जीप, एउटा ट्र्याक्टर र एउटा ट्रली बगाएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.