उद्धार कार्यमा आफैं खटिए उद्योगमन्त्री

उद्धार कार्यमा आफैं खटिए उद्योगमन्त्री

दार्चुला : यही भदौ २४ गते राति आएको विनाशकारी बाढीले दार्चुला सदरमुकाम खलंगालाई क्षतविक्षत बनाएको छ। 

खलंगालाई बगरमा परिणत गरेको छ। उद्धार कार्यमा सहयोग गर्नका लागि नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूसमेत ढुंगा बोक्न, तार जाली हाल्ने कार्यमा दिनभरि नै उपस्थित भए। 
  

शनिबार नेपाली सेनाको हेलिकोप्टरमार्फत राहत लिएर सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री मानबहादुर धामीसँगै जिल्ला पुगेका बडूले लास्कु खोलामा ढुंगा बोकेर साथ दिए। 

बस्ती जोगाउन तत्कालीन अवस्थामा ढुंगा र जाली लगाएर नदीको धार परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको उद्योगमन्त्री बडूले बताए।

उनले भने, 'अहिलेलाई पहिलो चरणमा कटान रोक्ने काम गरौँ। बजार क्षति भयो भने फेरि दर्जनौँ घर, पसलहरूमा क्षति हुने देखिन्छ।' यसका लागि सबैले आ-आफ्नो क्षेत्रबाट योगदान गर्न बडूले आग्रह गरे। 

बेपत्ता परेन फेला 

बाढीले बेपत्ता बनाएकाहरू अझै फेला परेका छैनन्। बेपत्ता हुनेमा महाकाली-४ का सरस्वती लुहार र मोहन लुहार, महाकाली-२ की मानमती शाह, महाकाली-१ की मञ्जु लुहार, निदेश लुहार, साजन लुहार र दलजित लुहार छन। 

नेपाली सेना, नेपाल प्रहरी, नेपाल रेडक्रस र सशस्त्र प्रहरीको टोलीले बेपत्ताको खोजी सुरु गरिसकेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए। 

सय परिवार प्रभावित 

जिल्लाको महाकाली र नौगाडका सय परिवार बाढीपहिरोबाट प्रभावित बनेका छन्। जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार ४२ घरमा पूर्ण र नौ घरमा आंशिक क्षति भएको छ भने ४० घर जोखिममा परेका छन। 

महाकाली नगरपालिकाको वडा नं. १, २, ३ र ४ को बंगाबगडसम्मका घरमा बढी क्षति पुर्‍याएको छ। 

सेनाकै हेलिकोप्टरले दुवै स्थानीय तहका बाढीपहिरो प्रभावितका लागि राहत सामग्रीसमेत ढुवानी गरेको छ। स्थानीय सरकार र नेपाल रेडक्रस सोसाइटीसँगको समन्वयमा राहत वितरण गरिएको छ। त्यस्तै, संघ र प्रदेशका गरी तीन मन्त्री राहत बोकेर प्रभावित क्षेत्र पुगेका छन। 

तीन मन्त्री राहत वितरणमा 
 
संघीय उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू, सुदूरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री रणबहादुर रावल र प्रदेश वनमन्त्री मानबहादुर धामी दार्चुला आएका हुन। 

उनीहरूले त्रिपाल, खाद्यान्न र कम्बलजस्ता राहत सामग्री ल्याएर आजदेखि वितरण गर्ने कार्य गरेका छन्। जिल्ला विपद् व्यवस्थापन समितिको आइतबार बिहान बसेको बैठकले राहत वितरण गर्ने निर्णय गरेको हो।

अविरल वर्षासँगै शुक्रबार रातिदेखि आएको पहिरोबाढीले जिल्लाको महाकाली नगरपालिका र नौगाड गाउँपालिकामा ठूलो जनधनको क्षति पुर्‍याएको छ।

हालसम्म पाँच जनाको शव फेला परेको छ भने १० जना बेपत्ता छन्। पहिरोमा परी आठजना घाइते भएको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताए। आठ जना घाइतेमध्ये पाँच जनाको उपचार भइरहेको छ भने तीन जना डिस्चार्ज भइसकेका छन्। 

बेपत्ता भएकाहरूको  सुरक्षाकर्मी, नेपाल रेडक्रस सोसाइटी र स्थानीय नागरिकले खोजी गरिरहेका छन्। यसैबीच दार्चुलाको महेन्द्र नमुना मावि खलंगा दार्चुलाका बालबालिका प्रभावित भएका छन्।

प्राध्यापक रामदत्त जोशीले बाढी प्रभावित भएका विद्यार्थीलाई आर्थिक सहयोग गर्ने बताएका छन्।

लास्कु खोलामा पुला बगाएर आवतजावतमा समस्या 
 
महाकाली नदी र लास्कु खोलामा आएको बाढीले जिल्ला सदरमुकाम खलंगा हुँदै दुहुँ-व्याँस जोड्ने सडक अवरुद्ध भएको छ। 
दार्चुला-तिंकर सडकअन्तर्गत रिंगलतालदेखि कलौनभिरसम्म सडक अवरुद्ध भएको हो। दुहुँ गाउँपालिका र महाकाली नगरपालिका जोड्ने यो सडक बगाएपछि उक्त क्षेत्रका बासिन्दालाई आवतजावतमा समस्या भएको छ। 

लास्कु खोलामाथिको मोटरेबल र झोलुङे पुल नै बगाएको छ। महाकाली-४ बंगाबगड हुँदै वडा नम्बर १ छापरी जाने पुल पनि बगाएको छ। 

हेलिकोप्टर चार्टर

बाढीले दुहु र ब्यास जोडने झोलुङ्गे पुल र सडक बगाएपछि बैंकमा काम गर्ने कर्मचारीहरूलाई समस्या भएको थियो। समस्यामा परेका बैंकका कर्मचारीहरूले हेलिकोप्टर चार्टर गरेर कार्यक्षेत्र प्रवेश गरेका प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताए। 

शुक्रबार जिल्ला सदरमुकाम आएका नेपाल इन्भेष्टमेण्ट बैंक हिकिला शाखाका कर्मचारीहरूले कार्यक्षेत्रमा जान हेलिकोप्टर चार्टर गरेका हुन्। 

शाखा प्रबन्धक वीरेन्द्र सिंह कार्की,महेश अवस्थी र प्रदीप बोहरा बाटो अवरुद्ध भएपछि सदरमुकाममा रोकिएका थिए। उनीहरू आइतबार माउन्टेन एयरको एन नाइन ए के वि कलसाइनको हेलिकोप्टरमार्फत कार्यक्षेत्र पुगेका हुन। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.