पहिरोले गुम्यो सर्वस्व

पहिरोले गुम्यो सर्वस्व

अछाम : कमलबजार नगरपालिका–६ अछामकी धना बिक पहिलो पटक आमा बन्नेवाला थिइन्। ६ महिनाको गर्भ थियो। २१ वर्षीया उनले रमेशसँग दुई वर्ष पहिले प्रेम विवाह गरेकी थिइन्। रमेश ३ महिना अगाडि रोजगारका लागि भारत गएका थिए।

परिवारमा विस्तारै खुसी थपिँदै थियो। सुखका दिन कुर्दै थिए उनीहरू। तर, शुक्रबार राति आएको पहिरोले सुखका दिन मात्रै खोसेन, पेटमा हुर्कँदै गरेको बच्चालाई संसार देख्न दिएन। धनासहित गर्भमा रहेको बच्चा, सासू मैनकला, देवर ईश्वर र नन्द सिर्जनालाई पहिरोले पुर्यो‍। 

तीन दिनदेखि परिरहेको वर्षाका कारण घर माथिबाट माटोको ढिस्कोसँगै झरेको पहिरोले उनीहरूको घर पुरेको वडाध्यक्ष लालबहादुर शाही बताउँछन्। ‘अघिल्लो दिन भोलि श्राद्ध छ भन्दै सामग्री जुटाउँदै थिए। तर, उनीहरू बिउँझन नपाई परलोक भए,’ उनले भने। छोराबाहेक परिवारका सबै सदस्यको निधन भएको वडाध्यक्ष शाहीले जानकारी दिए। सँगै बस्ने काकाको केही परिवार घाइते छन्। 

गर्भवती धनाको पेटमा रहेको बच्चाको पोष्टमाटर्म गरी निकालिएको र आइतबार सातै जनाको अन्त्येष्टि गरिएको स्थानीय गणेश शाहीले जानकारी दिए। उनले भने, ‘गर्भमा छोरी रहेछिन्, पोष्टमार्टम गरेर निकालिएको थियो। मृतक धनाका श्रीमान् भारतबाट आउँदैछन्।’ सोही घरमा इन्द्र सिं बिकका परिवार पनि बस्थे। इन्द्र रमेशका काका हुन्। पहिरोका कारण घाइते भएका उनी उपचारपछि घर फर्किएका छन्। इन्द्रकी ३ छोरी २३ वर्षीया सञ्जिता, १९ वर्षीया सरिता र १४ वर्षीया गीताको पहिरोमा परी मृत्यु भयो। इन्द्र रुँदै भने, ‘हामी दुई भाइको परिवार एउटै घरमा बस्थ्यौं, मैनकला भाइबुहारी हुन्। पहिरोले केही पनि राखेन। सर्वस्व लिएर गयो। अब कसरी बाँच्ने। बिचल्ली हुने भयो।’ 

इन्द्र र रमेशको परिवारका ७ सदस्यसहित शुक्रबारको पहिरोले २२ जनाको ज्यान लिएको छ। एक जना अझै बेपत्ता छन्। पहिरोमा परेर मृत्यु हुनेमा कमलबजार नगरपालिका–८ का एकै परिवारका २६ वर्षीया गम्भीरे दमाई, २३ वर्षीया श्रीमती भाना दमाई, छोरीहरू ६ वर्षीया डिक्रा, ४ वर्षीया कल्पना र ३ वर्षीय कलु दमाई छन्। माथिल्लो घरको आँगन नै भासिएर तल झरेपछि घर पूरै पहिरोमुनि दबिएको स्थानीय दमन भण्डारीले बताए। अहिले आसपासका ३ घरका परिवारलाई नागरिक सचेतना केन्द्र र बालविकास केन्द्रको भवनमा सुरक्षित सारिएको उनले बताए। भने, ‘हामी निकै त्रसित छौं। बेलाबेलामा पानी परिरहन्छ। घरभित्र बस्न पनि डर लाग्न थालेको छ।’ 

तुर्माखाँद गाउँपालिका–५ मा एकै परिवारका ४५ वर्षीय नेत्रबहादुर शाही, पत्नी ३५ वर्षीया मनीषा देवी, १७ वर्षीया छोरी बिमला, १६ वर्षीया भतिजी जानकीको पनि पहिरोमा परी निधन भएको छ। सोही ठाउँका रितबहादुर शाहीकी बुहारी २३ वर्षीया भावना, २० वर्षीया कल्पना, १२ छोरा वर्षीया सुन्दर, नातिनी ३ वर्षीया करिश्मा र एक वर्षीया मेलिनालाई पनि पहिरोले पुरेको छ। रितबहादुर, पत्नी गौरा, मृतक भावनाका श्रीमान् प्रकाश र कल्पनाका श्रीमान् भुपेन्द्र भारतमा भएकाले बचेका छन्।

यस्तै पहिरोमा परी अन्य मृत्यु हुनेमा ढकारी गाउँपालिका–६ का २ वर्षीया नवीन बुढा पनि छन्। घाइते भएकी उनकी आमा २१ वर्षीया चन्द्रादेवी बुढा, ६२ वर्षीया हजुरबुवा हर्क, १२ वर्षीय दाजु धर्मलाई उपचारका लागि हेलिकप्टरमार्फत सुर्खेत पठाइएको छ। ढकारी गाउँपालिकाका–१ का ४५ वर्षीया मोती बुढा जैशी अझै बेपत्ता छन्। अछामको तीन पालिकाको पाँच ठाउँमा गएको पहिरोले ७ परिवारका २२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। क्षतिको एकिन विवरण अहिलेसम्म आइसकेको छैन। श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर पहिरो प्रभावित ठाउँमा पुगे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.