किसानलाई दुई वर्षदेखि भुक्तानी गर्न अटेर गर्दै बिमा कम्पनी
काभ्रे : जिल्लामा पशु र बाली बिमा गर्दै आएको हिमालयन एभरेष्ट इन्सुरेन्सले बिमा बापतको भुक्तानी नदिएको किसानले आरोप लगाएका छन्। पशु बिमा कम्पनीले समयमै बिमित बापतको क्षतिपुर्ती रकम भुक्तानी नगर्दा अभिकर्ता, पशुप्राविधिक र किसानहरू मारमा परेका पीडित किसान राजेन्द्र उप्रेतीले बताए।
जिल्लामा दुई वर्षदेखि पशु तथा बालीहरुको बिमाको दावी गरिएको रकम कम्पनीले दिन नसक्दा फिल्डमा काम गर्ने प्राविधिक र कृषि तथा पशुपालक किसानहरु समस्यमा परेका उप्रेतीले बताए। जिल्लाको बनेपामा उपशाखा रहेको हिमालयन एभरेष्ट इन्सुरेन्स लिमिटेड मार्फत दर्जनभन्दा बढी अभिकर्ताहरूले गरेको १ सय ६८ जना किसानका बिमा रकम भुक्तानी हुन बाँकी रहेको जनाएको छ। उक्त इन्सुरेन्स कम्पनीले किसानको बिमा बापतको क्षतिपुर्ती रकम करिब १५ लाखभन्दा बढी भुक्तानी गर्न बाँकी रहेको पशु प्राविधिक कान्ता तोलङगेले बताइन्।
कम्पनीले जिल्लाको किसानहरुका क्षति बापतको १५ लाख भुक्क्तानी गर्नु पर्नेमा दुई वर्षदेखि दावी रकम भुक्तानी नगरेको पशु प्राविधिक तथा अभिकर्ता दिपनारायण मेहताले बताए। उनीसहित १३ जनाले १ महिनाअघि नै कम्पनीलाई ध्यानाकर्षण गर्न चेतावनी युक्त पत्र लेखेको भए पनि हालसम्म जिल्लामा रहेको शाखाले सुनुवाई नगरेको मेहताले बताए। आफूले ६ महिना अगाडिदेखि पशु बिमा गर्दै आएमकोमा आफूले पाउने १० प्रतिशत कमिशन र २ जना किसानले दावी गरेको क्षति बिमा रकम पनि नदिएको मेहताले जानकारी दिए। ‘छ महिना अगाडिदेखि किसानहरूको पशुको बिमा गर्न थालेको हुँ। त्यति बेलादेखिको मेरो कमिशन र दुई जना किसानले दावी गरेको बिमा रकम अझै भुक्तानी गरेको छैन।’, उनले भने, ‘बिमा रकम दावी गरेर कागजात पुर्याएको ३५ दिनभित्र बिमा रकम भुक्तानी हुनु पर्ने प्रावधान रहे पनि २ वर्ष अगाडिसम्मको रकम भुक्तानी नगरेको पाएका छौँ।’
पनौती नगरपालिका वडा नं. १० खोपासीमा रहेको जय हारती माँ च्याउ उद्योगले करिब ७-८ महिना अगाडि बिमा रकम दावी गरेको तर अहिलेसम्म भुक्तानी नदिएको उद्योगगका सञ्चालक अरुण उलकले बताए। च्याउ खेती रोगले सखाप भएपछि बिमा दावी गरेको तर ७-८ महिनासम्म भुक्तानी नहुँदा मारमा परेको उलकले बताएका छन्। ‘मैले कम्पनी दर्ता गरी च्याउ खेती गरेको थिएँ। खोतीको बिमा बनेपामा रहेको हिमालयन एभरेष्ट इन्सुरेन्स लिमिटेडमा गरेको थिएँ । खेती बिग्रियो तर बिमा रकम पाइनँ ’, उलकले भने, ‘लिमिटेडको बनेपा उपशाखामा धेरै पटक धाएँ। हुन्छ, हुन्छ मात्र भन्छन् कहिल्यै रकम आएन। नआउने भए आउदैन भन्दे हुन्थ्यो नि। हामी गरीबलाई आश हुन्छ आश गर्दा गर्दा बनबास हुने बेला भइसक्यो।’
उनीहरूले बिमा कम्पनीमा बुधबार ध्यानाकार्षण पत्र बुझाएका छन्। 'गत वर्षदेखि सो कम्पनी मार्फत बिमा गर्दै आएका छौँ । कम्पनीले हामीले बिमा गरे बापत दिनुपर्ने अभिकर्ताको १० प्रतिशत र प्राविधिकको ५ प्रतिशत रकम दिनुपर्नेमा बारम्बार ताकेता गर्दा कुनै जानकारी समेत नदिई प्राविधिक चार्जसमेत नदिएकोले अबका दिनमा पत्रकार सम्मेलन गरि ताला लगाउनेसम्मको आन्दोलन गर्न बाध्य हुने छौं', पत्रमा उल्लेख छ। पत्रमा पासाङ तामाङ, शुबदेव दाहाल, अनिल तामाङ, कान्ता शार्की, सहदेव श्रेष्ठ, साकार मैनाली , गोकुल मैनाली, टंक चौलागाँई, बिजय कुमार थापा, राजबहादुर लामा, संगिता श्रेष्ठ, कमल नारायण श्रेष्ठ, सागर दाहालले हस्ताक्षर गरेका छन्।
आफूले लिनुपर्नै करिब ४ लाख बराबरको अभिकर्ता र प्राविधिक सेवा बापतको कमिशन रकमसमेत नआएको प्राविधिकहरुले जनाएका छन्। यस विषयमा बिमा कम्पनी इन्सुरेन्सका बनेपा उपशाखाका प्रमुख उमेश प्रधानले थापाथलीमा रहेको केन्द्रीय कार्यालयलाई यस बारम्बार जानकारी गरेको तर भुक्तानी रकम नपठाएको बताए। केन्द्रीय कार्यालयमा पनि नेपाल सरकारले दिने अनुदान समयमा नै नआउँदा ढिला भएको केन्द्रले जानकारी पठाएको बनेपा उपशाखा प्रधानले बताए।
हिमालयन एभरेष्ट इन्सुरेन्स कम्पनीमा काभ्रेबाट वार्षिक ४ हजारको संख्यामा किसानले पशु तथा बाली बिमा गर्दै आएका छन्। एक सय ६८ किसानको विमित रकम भुक्तानी गर्न बाँकी रहेको उपशाखा प्रमुख प्रधानले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !