सोलाभञ्ज्याङमा झोलुङ्गे पुल निर्माण
हेटौंडा : मकवानपुरको भीमफेदी गाउँपालिका-५ सोलाभञ्ज्याङस्थित खहरे नदीमा नवनिर्मित झोलुङ्गे पुलको उद्घाटन गरिएको छ।
५१ लाखको लागतमा निर्मित सो पुलको गाउँपालिका अध्यक्ष हिदम लामाले उद्घाटन गरेका हुन्।
सोलाभञ्ज्याङ र दमार गाउँको बीचमा ११५ मिटर लम्बाइको उक्त पुलको निर्माण कार्य सम्पन्न भएको गाउँपालिकाका योजना प्रमुख बद्रि सापकोटाले जानकारी दिए।
गाउँबासीलाई हरेक क्षेत्रमा सेवा पुर्याउन पालिका प्रतिवद्ध रहेको बताउँदै अध्यक्ष लामाले सो पुल निर्माण भएसँगै सोलाभञ्ज्याङ र दमारका जनतालाई आवतजावत गर्नका लागि सहयोग पुगेको बताए।
सोलाभञ्ज्याङमा रहेको स्कुलमा कक्षा ५ सम्म मात्रै अध्यापन हुन्छ। त्यसपछिको अध्यापनका लागि बालबालिकाहरू दमार गाउँस्थित बाराही आधारभूत स्कुलमा आउनुपर्ने हुन्छ।
बीचमा नदी भएकाले बालबालिकाहरूले वर्षायाममा अध्ययनबाट बञ्चित हुँदै आएका थिए। पुल बनेसँगै बालबालिकाको विद्यालय पुग्न लाग्ने समयको समेत बचत भएको छ।
प्रतिक्रिया दिनुहोस !