मनास्लु हिमपहिरोमा कम्तिमा १५ जना घाइते
गोरखा : चुमनुब्री गाउँपालिका-१ स्थित मनास्लु हिमालको हिमपहिरोमा १५ जनाभन्दा धेरै घाइते भएका छन्। सोमबार अपरान्ह १२ बजे झरेको हिमपहिरो परी उनीहरु घाइते भएको इमेजिन नेपाल एक्स्पिडिशन प्रालिका राजेन्द्र ठकुरीले जानकारी दिए।
चौथो शिविरमा अक्सिजनलगायतका आत्यावश्यकीय सामान पुर्याउन गएका इमेजिन नेपालका पाँच जनासहित १५ जनाभन्दा बढी घाइते भएका उनले बताए। सो कम्पनीका दावा शेर्पा, फुरिता शेर्पा, निमा दोर्जे शेर्पा, लाक्पा तामाङ र जीतबहादुर शेर्पा छन्। उनीहरुमध्य जीतबहादुर र निर्मा दोर्जेको गम्भीर घाइते छन्।

घाइतेको उद्धारका लागि सिम्रिक र कैलाश एयरका दुईवटा हेलिकोप्टर तयारी अबस्थामा रहेका छन्, तर मौसम प्रतिकुलताका कारण उद्धार गर्न नसकिएको प्रहरी चौकी सामागाउँले जानकारी दिएको छ।
किलर माउण्टेन भनेर चिनिने ८,१६३ मिटर अग्लो मनास्लु आरोहणका लागि यस सिजनमा पर्यटन विभागबाट चारसय भन्दा धेरै आरोहीले अनुमति लिएका छन्। केहीले सफल आरोहण गरिसकेका छन् भने अधिकांश आरोहीहरु आरोहण गर्ने क्रममा छन्।
मनास्लु हिमालमा केहीदिनदेखि ठूलो हिमपहिरो झर्न थालेको छ।
(नोट : हिमपहिरोमा कसैको पनि मृत्यु भएको छैन। यसअघिको समाचार सच्याइएको छ- सम्पादक)
प्रतिक्रिया दिनुहोस !