भक्तपुरमा ख्वप फुटसल टुर्नामेन्ट सुरु
भक्तपुर : भक्तपुरमा बुधबारदेखि ख्वप फुटसल टुर्नामेन्ट सुरु भएको छ। भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप कलेजको आयोजनामा टुर्नामेन्ट सुरु भएको हो।
फुटसल टुर्नामेन्टको उद्घाटन भक्तपुर नगरपालिकाका प्रमुख एवं कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले गरे।
उनले रेफ्रीलाई बल हस्तान्तरण गरी खेल उद्घाटन गरेका थिए। प्रतियोगिता भक्तपुरको सूर्यविनायकस्थित हेल्थी फुटसल इटबुमा भएको हो।
उद्घाटन कार्यक्रममा नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले खेलकुद मनोरञ्जनका लागि मात्र नभई मित्रता, अनुशासन र शारीरिक तथा मानसिक स्वास्थ्यका लागि हुनुपर्नेमा जोड दिए।
विद्यार्थीहरूले आफ्नो पढाइ सँगसँगै खेलकुदमा सहभागिता बढाउँदा आफ्नो लक्ष्यमा पुग्न मद्दत पुग्ने उनको भनाइ थियो।
खेलमा हारजित स्वाभाविक प्रक्रिया भएको हुँदा हार्दा आत्तिने र जित्दा मात्तिन नहुनेतर्फ सजग पार्दै उनले विद्यार्थीलाई खेलाडीको रूपमा हेर्न पाउँदा निकै हर्षित अनुभव भएको प्रतिक्रिया दिए।
कार्यक्रममा पत्रकार समाज नेपालका उपाध्यक्ष उद्धव सुजखूले ख्वप विश्वविद्यालय सञ्चालन गर्ने नपाको उद्देश्य छिटै पूरा हुने भन्दै ख्वप कलेजको ख्याति देशभर बढिरहेको बताए।
कार्यक्रममा ख्वप कलेजका प्राचार्य रूपक जोशी र शिक्षक कमिनिका न्याइँच्याइँलगायतले मित्रता, अनुशाशन र प्रगतिका लागि प्रतियोगिता गरेको बताए। प्रतियोगिताको फाइनल बिहीबार हुनेछ।
प्रतिक्रिया दिनुहोस !