डेंगु रोक्न स्थानीय सरकार उदासीन

डेंगु रोक्न स्थानीय सरकार उदासीन

काठमाडौं / भक्तपुर : डेंगु संक्रमणबाट बिहीबार एकैदिन दुई जनाको मृत्यु भयो। योसँगै देशभर मृतकको संख्या ३८ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकभर संक्रमितको संख्या २८ हजार १ सय ९ छ। ७७ वटै जिल्लामा संक्रमण फैलिएर मृतकको संख्या बढे पनि सतर्कता भने देखिएको छैन। संक्रमण नियन्त्रणका लागि स्थानीय सरकार उदासीन छन्। स्वास्थ्य विज्ञहरूले डेंगु जोखिम कायम रहेको भन्दै तीनै तहका सरकारलाई सतर्कता अपनाउन आग्रह गरे पनि बेवास्था गरेको प्रष्ट देखिन्छ। चाडपर्वको समयमा यसको संक्रमण अझै फैलने विज्ञ बताउँछन्। 

डेंगु संक्रमित सबैभन्दा धेरै उपत्यकाका जिल्लामा छन्। काठमाडौंमा ९ हजार ४ सय ९६ जनामा संक्रमण पुष्टि भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार ललितपुरमा ६ हजार ४ सय ९८ र भक्तपुरमा १ हजार ७६ जना डेंगु संक्रमित छन्। उपत्यकाका प्रमुख तीनवटै सहरमा डेंगुले प्रकोपको रूप लिइसकेको छ। तर, यहाँका स्थानीय सरकारले यसको नियन्त्रणमा प्रभावकारी कदम चालेका छैनन्। 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनी डेंगु नियन्त्रणका लागि प्रदेश र स्थानीय सरकार चुकेको बताउँछन्। ‘डेंगुको संक्रमण बढेको तीन महिना भइसक्यो,’ डा. मरासिनी भन्छन्, ‘नियन्त्रणका लागि प्रदेश र स्थानीय तहबाट प्रभावकारी अभियान सञ्चालन हुन सकेको छैन। चुनावी वातावरण बनाउन र आफ्नो पक्षमा मतदानको माहोल सिर्जना गर्न पनि राजनीतिक दलले कार्यकर्ता परिचालन गर्न सक्थे। त्यो पनि गर्न सकेनन् या चाहेनन्।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुरका अनुसार उपत्यकामा संक्रमण दर दैनिक उच्च गतिमा बढ्दैछ। उनका अनुसार मन्त्रीस्तरीय निर्णयबाट डेंगु नियन्त्रणमा स्थानीय सरकारको सक्रियता बढाउनुपर्ने निर्णय गरिएको थियो। ‘स्थानीय तहमा बजेट पनि छ। आवश्यक पर्ने थप किट पनि पठाएका छौं,’ डा. ठाकुर भन्छन्, ‘संक्रमण न्यूनीकरण गर्न स्प्रेहरू छर्ने कामहरू मात्र भएको छ।’

मन्त्रालयका अनुसार डेंगुबाट सबैभन्दा बढी बागमती प्रदेश प्रभावित छ। बागमती प्रदेशका काठमाडौं र ललितपुरमा धेरै बिरामी भेटिएका छन्। ‘सबैभन्दा बढी संक्रमित काठमाडौंमा छन्,’ डा. ठाकुर भन्छन्, ‘डेंगुको प्रकोप अहिले उच्च छ। एकै पटक धेरै बिरामी संक्रमित भएकाले प्रकोपको रूपमा लिइएको छ।’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले काठमाडौं, ललितपुर र भक्तपुरमा गरी १७ हजारभन्दा बढी व्यक्तिमा डेंगु संक्रमण पुष्टि भइसकेको जनाएको छ। 

प्रवक्ता डा. ठाकुर डेंगुको अवस्था र बढ्दो संक्रमण नियन्त्रण तथा रोकथाम गर्न प्रदेश, जिल्ला र स्थानीय तहसँग समन्वयात्मक प्रयास भइरहेको बताउँछन्। संक्रमणको चेन ब्रेक गर्न प्रदेश र स्थानीय तहबाट प्रभावकारी भूमिका निर्वाह नभएको डा. ठाकुरको भनाइ छ। सरसफाइ, कार्यक्रम, पानी जम्ने खाल्डाखुल्डी पुर्नेलगायतका कार्यक्रम हुन सकेको छैन। काठमाडौं महानगरपालिका स्वास्थ्य विभाग प्रमुख बलराम त्रिपाठी महानगरपालिका क्षेत्रभित्र संक्रमितको संख्या दिनानुदिन बढिरहेको बताउँछन्। 

उनका अनुसार पानी जम्ने खाल्डाखुल्डी, जथाभावि मिल्काइएका टायरमा जमेको पानीमा लामखुट्टेले बासस्थान बनाएकाले डेंगु फैलिएको हो। महामारीको रूप लिइसके पनि काठमाडौं महानगरपालिकाले डेंगुविरुद्धको अभियानलाई तीव्रता दिएको छैन। स्थानीय तह र सरोकारवालाको समन्वयमा लामखुट्टेको बासस्थान ‘खोज र नष्ट गर’ भन्ने अभियान सुुरु गरे पनि प्रभावकारी हुन सकेको छैन। 

काठमाडौं महानगरपालिकाले भदौ १३ गते ३२ वटा वडाका स्वास्थ्यकर्मी र सरोकारवालासँग बैठक गरेर डेंगु नियन्त्रण अभियान सुरु गरेको थियो। तर, अभियान प्रभावकारी हुन नसकेको स्वास्थ्यविद्हरू बताउँछन्। 

भदौ २८ गते काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको निर्णयअनुसार, डेंगुको संक्रमण नियन्त्रण नभएसम्म रोकथाम र नियन्त्रणका कार्यक्रमहरू निरन्तररूपमा सञ्चालन गर्ने निर्णय गरेको थियो। 

महानगरपालिकाको स्वास्थ्य विभागका प्रमुख त्रिपाठीका अनुसार, डेंगु नियन्त्रणका लागि कार्यक्रम गर्न प्रत्येक वडामा बजेट निकासा गरिएको छ। ‘जनप्रतिनिधिको अगुवाईमा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका लगायत स्थानीय संघ–संस्थाहरूको सहभागितामा अभियान सुरु गरिएको छ,’ स्वास्थ्य विभाग प्रमुख त्रिपाठीले भने, ‘लामखुट्टेको बासस्थान खोज र नष्ट गर भन्ने अभियान टोलटोलमा सञ्चालन गर्न भनिएको छ।’

महानगरपालिकाका ५ सय ५८ स्वयंसेविका जनचेतना फैलाउने काममा खटिएका छन्। वडा कार्यालयको समन्वयमा सामुदायिक सहरी स्वास्थ्य क्लिनिक इञ्चार्जहरूलाई डेंगु र हैजा रोकथाम र नियन्त्रण गर्न प्रभावकारी कार्यक्रम सञ्चालनको व्यवस्था मिलाउन निर्देशन दिइएको त्रिपाठीले जानकारी दिए। महानगरपालिकाका स्वास्थ्य विभाग प्रमुख त्रिपाठी लामखुट्टेका लार्भा नष्ट गर्न सचेतना अभियान शुरु गरिएको बताउँछन्। ‘डेंगुको बासस्थान नष्ट गर्ने अभियान शुरु गरिएको छ,’ उनले भने। यस अभियानका लागि जनप्रतिनिधिको नेतृत्वमा स्वास्थ्य स्वयंसेविकाहरू सहभागितामा कार्यक्रम गरिएको त्रिपाठीले बताए। 

भक्तपुरमा बढ्दै संक्रमित 

भक्तपुरका ४ वटा नगरपालिकामा पनि डेंगुका बिरामी बढदै गएका छन्। जिल्ला स्वास्थ्य कार्यालय कटुञ्जेका अनुसार भक्तपुर नगरपालिकामा डेंगुका सवैभन्दा बढी बिरामी भेटिएका छन्। भक्तपुर नगरपालिकामा मात्रै ५ सय ५३ जना संक्रमित छन्। 

मध्यपुर थिमीमा ४ सय ५८, सूर्यविनायकमा १ सय ४ र चाँगुनारायणमा २५ जना संक्रमित फेला परेका छन्। जनस्वास्थ्य केन्द्र प्रमुख कृष्ण मिजार डेंगु रोकथामका लागि ‘खोज र नष्ट गर’ अभियानका बारेमा सबै नगरपालिकाहरूलाई जानकारी गराउने काम भइरहेको बताउँछन्। मंसिरसम्म यो अभियान सञ्चालन गर्नुपर्ने उनको भनाइ छ। ‘डेंगुसम्बन्धी जनचेतनामूलक सूचनाहरू रेडियो, टेलिभिजन, पत्रिपत्रिकामार्फत दिइरहेका छौं,’ उनले भने। 

विद्यार्थीलाई यसबारे जानकारी गराउने र विद्यालय वरिपरि सरसफाई गर्ने काम पनि भइरहेको उनको बताए। 

भक्तपुर नगरपालिकाका स्वास्थ्य संयोजक डा रत्नसुन्दर लासिवां हरेक वडामा डेंगु सचेतना कार्यक्रम सञ्चालन भइरहेको बताउँंछन्। वडावडामा चुन छर्ने, माइकिङ गर्ने, नेपाली भाषा र नेपालभाषाबाट सन्देश बजाउने र पर्चा वितरण गर्ने काम भइरहेको बताउँछन्। स्थानीयवासीलाई झुलभित्र बस्न र लिक्युड बाल्न सुझाव दिने काम भइरहेको उनले बताए। मध्यपुर थिमि नगरपालिकाका उपमेयर विजय कृष्ण श्रेष्ठ सचेतनामूलक र्‍याली, माइकिङ, पर्चाहरू बाड्ने काम भइरहेको बताउँछन्। चागुनारायण नगरपालिकाका सूचना अधिकारी सचिन न्यौपाने झारपात काट्ने, पर्चाहरू बाड्ने र माइकिंग गर्ने,खाल्डाखुल्डी पुर्ने, किटनाशक औषधि छर्ने, फेसबुक र नगरपालिकाको बेभसाइटमा भिडियोमार्फत सचेत गराउने काम नगरपालिकाले गरिरहेको बताउँछन्। 

रगत अभाव हुँदा रक्तदान कार्यक्रम 

डेंगुका कारण भएको रगत अभावलाई मध्यनजर गरी भक्तपुरमा रक्तदान कार्यक्रम गरिएको छ। शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित गार्डेनमार्ट डिपार्टमेन्ट स्टोर भक्तपुर १० मूलढोका कमलविनायक भक्तपुरको दोस्रो वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम गरिएको हो। सहकारीले उपत्यकाका विभिन्न ठाउँंका साथै देशका विभिन्न जिल्लामा उपभोक्ताको सुविधाका लागि यस्ता गार्डेन मार्टहरू सञ्चालन गर्दै आएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.