मधेशमा साझा बन्दै दसैं : हिन्दु र मुस्लिम समुदायले एकैसाथ लगाए टीका र जमरा
महोत्तरी : पछिल्लो समयमा आएर यहाँका मधेशी समुदायले पनि धुमधामका साथ दसैंको टीका लगाउन थालेका छन् । वर्षौंसम्म पहाडी समुदायमा मात्र सीमित रहेको दसैंको टीका क्रमिक रुपमा स्थानीय मधेशी समुदायले देवी दुर्गा भवानीको प्रसादको रुपमा विधिपूर्वक ग्रहण गर्न थालेका छन् ।
उनीहरुले घरघरमा घटनास्थापनाको दिन राखिएको जमरा विजियादशमीको दिन पूजाकोठामा ल्याएर माताको आर्शिवादस्वरुप आफूभन्दा सानालाई क्रमिक रुपमा लगाउने परम्परालाई मधेशी समुदायले पनि अपनाएका छन् ।
मधेशी समुदायको छठपर्व पहाडी समुदायले मनाउनु र पहाडी समुदायका दसैंको टीका मधेशी समुदायले अपनाउनु राष्ट्रिय भाइचाराको हकमा सकारात्मक पक्ष रहेको प्राज्ञ तथा संस्कृतका जानकार रमेश रञ्जन झाले बताए ।
उनले भने, ‘नौरथाको अष्टमी र नवमीको दुवै भुगोलमा आ–आफ्नै विशेषता छ । पहाडमा मनाउने दसैं उत्सव र चाडपर्वको हिसाबले पहाडी समुदायले मनाउने गर्दछन् भने, मधेसमा भिन्न खालको दसैं मनाउने गरिन्छ ।
तराई मधेशमा निराहार ब्रत बसेर तपस्याको रुपमा मनाउने परम्परा रहेको छ । नवरात्रिको नवदिन फलाहार गरेर कपाल नकाट्ने, अनुहार नहेर्ने, नङ नकाट्ने निराहार बसेर भगवति माताको पूजा गर्ने गर्दछ । मधेसमा मन्दिरमा ढोग्ने गरेको र जनईलाई धारण गर्ने गरिन्थ्यो तर अहिले दुबै समुदायले एक अर्काको घरमा पुगेर दसैं टीका थाप्ने गरेको छ ।’
दसैंमा एक अर्कालाई शुभकामना आदान प्रदान गर्ने र भोजभतेर गर्ने चलन क्रमिक रुपमा बढदै गइरहेको नेपाल पत्रकार महासंघ मधेस प्रदेशका अध्यक्ष राजेश कर्णको भनाइ छ । मूर्ति स्थापना गर्ने, प्रतिमा बनाएर देवीको पूजा गर्ने, मेला लगाउने तथा घरमा समेत पूजा गर्ने र व्रत बस्ने चलनले गर्दा मधेसको समाज एक किसिमले भक्तिमय बन्ने गरेको अध्यक्ष कर्ण बताउँछन् ।
विजया दशमीको दिन भवानी दुर्गाले दानवी शक्तिमाथि र रामले रावणमाथी विजयी हाँसिल गरेको उपलक्ष्यमा खुशी अदान प्रदान गर्दै रातो टीका र जमरा लगाउने धार्मिक परम्परा रहेको छ ।
हिन्दु र मुस्लिम समुदायले एकसाथ टीका लगाए
हिन्दु समुदायले आयोजना गरेको दसैंको टीका तथा शुभकामना कार्यक्रमका धनुषाको धनुषाधामका मुश्लिम समुदायले पनि सहभागीता जनाएका छन् । धनुषाधाम नगरपालिका वडा नं ५ दक्षिणवारि टोल नौसय विघामा आयोजित सो समारोहमा हिन्दु र मुस्लिम समुदायका व्यक्तिहरुले एक आपसमा टीका लगाएर विजयादशमी मनाएका हुन् ।
हिन्दु मुस्लिम समुदाय एकसाथ टीका लगाएर हर्षित भएका उनीहरु अगामी दिनमा अझै समाजिक सदभाव बढाउनका लागि सहयोग गरिने प्रतिवद्धता जनाएका हुन् ।
वडा अध्यक्ष इन्द्रकुमार महतोले असत्यमाथि सत्यको विजयको प्रतीक यो पर्वले दुई समुदाय एक ठाउँमा टीका मनाउनु नै मानवताको परिचय दिएको बताए । एकआपसमा दुःख बिर्सेर मित्रता बढाउनका लागि यस टीकाले मद्दत गरिएको उनको बुझाइ रहेको छ ।
प्रतिक्रिया दिनुहोस !