प्रचण्ड–बाबुराम पुनर्मिलन

प्रचण्ड–बाबुराम पुनर्मिलन

गोरखा/ काठमाडौं :
माया लाउँदा तिमीको तिर्सना
मैले पनि सकिनँ बिर्सन

माया बैगुनी नभई नहुनी...

उदितनारायण झाको स्वर रहेको यो कर्णप्रिय गीतको भाव जे छ, प्रचण्ड र बाबुरामको सम्बन्ध पनि ठ्याक्कै त्यस्तै छ। विश्वास–अविश्वास। प्रेम–धोका। प्रशंसा–गालीगलोज। मिलन–बिछोड। दुईबीच यी चलिरहन्छन्। पछिल्ला केही वर्षयता यो चुनावसम्म आइपुग्दा टुटेको सम्बन्ध नाटकीय सुमधुरतासहित जुट्न पुगेको छ।

त्यसको उत्कर्षस्वरूप बाबुरामले संसदीय प्रतिस्पर्धाबाट आफूलाई अलग मात्र गरेनन्, आफ्नो भौगोलिक क्षेत्र प्रचण्डलाई सुम्पिएका छन्। र, गोरखा २ मा प्रचण्डको मनोनयन दर्तामा प्रस्तावक बन्न साथै पुगेका छन्। 
‘चुहुने घरमा नबस्ने’ भन्दै सात वर्षअघि बाबुरामले माओवादी र प्रचण्डसँगको सम्बन्ध तोडेका थिए। पछि एक सन्दर्भमा प्रचण्डले भनेका थिए, ‘बाबुरामजी जस्तो अप्ठ्यारो मान्छेलाई मैले २५ वर्ष झेलेको छु। उहाँ विशिष्ट बुद्धिजीवी र जटिल हुनुहुन्छ। मैलेजस्तै नजिकसँग अरू कसैले लगेर एक वर्ष झेलेर देखाइदिए हुन्थ्यो।’

तर, चितवनमा चौतर्फी घेराबन्दीमा परेका प्रचण्डलाई तुलनात्मक सुरक्षित ठाउँ उनै बाबुरामले उपलब्ध गराएका छन्। तर, सशर्त। अर्थात्, काठमाडौं ७ मा छोरी मानुषी यमी भट्टराईलाई गठबन्धनको टिकट÷साथ दिलाउने बाचासहित। 

वैकल्पिक राजनीतिले परम्परागत शक्ति ढाल्ने अभिलाषा बोकेर २०७२ मा बाबुराम माओवादीबाट अलगिएका थिए। २०७३ मा नयाँ शक्ति पार्टी खोले। त्यसले खासै शक्ति देखाउन सकेन। त्यसपछि समाजवादी, जनता समाजवादी पार्टी (जसपा) सम्म आइपुग्दा उनको राजनीतिक आकार संकुचित हुँदै गएको थियो। अन्ततः उपेन्द्र यादवसँगको विवादमा जसपामा पनि उनी अटाउन सकेनन्। दलीय किनाराकृत हुँदै गएका उनलाई चुनावको मुखमा प्रचण्डकै छहारी चाहिएको छ। 

‘प्रचण्ड भ्रष्ट भए’ भनेर बाहिरिएका उनी पुनः उनैको गुणगान गर्दै माओवादी चिह्नबाट चुनाव लड्न मूलघरको मझेरीमा बास माग्न आइपुगेका छन्। यसमा प्रचण्डको न्यानो आतिथ्य पाएका छन्। प्रचण्ड पनि उनको सानिध्यतामा औधी फुर्किएका छन्। 

बाह्र वर्षमा खोलो पनि फर्किन्छ भन्छन्। बाबुराम सातै वर्षमा फर्किएका छन्। भित्रिएका भने छैनन्। बाबुराम र प्रचण्ड मिल्नु भनेको सकारात्मक रहेको माओवादी उपमहासचिव हरिबोल गजुरेलको भनाइ छ। 
‘प्रचण्डजी काठमाडौं र सिरहामा दोहोरिनुभएको थियो। उहाँ त्यहाँ हार्नुभएको थियो। त्यसैले पनि उहाँले नयाँ क्षेत्र रोज्नुभएको हो’, गजुरेल भन्छन्, ‘गोरखाबाट चुनाव लड्न पनि बाबुरामजीभन्दा पहिला पार्टीका साथीहरूले पहिले नै आग्रह गर्दै आउनुभएको थियो।’ 

बाबुराम–प्रचण्ड मिलन–बिछोड्मा को बढी जिम्मेवार भन्ने प्रश्नमा खित्का छाडेर हाँस्दै उनी भन्छन्, ‘अहिले योबारे के भन्ने ? उहाँहरू दुवै जनाले आत्म समीक्षा गर्नुभएको छ। विगतबाट शिक्षा लिने, फेरि एकताबद्ध भएर जाने भन्नुभएको  मिलन बिछोड्मा कस्तो कति दोष अहिले भन्न मिल्दैन। यो भन्नु जरुरी नै छैन।’ 

बिगतमा जेजस्ता घटना भए पनि अब समाजवादी कार्यदिशाका लागि एकताको खाँचो रहेको नेपाल समाजवादी पार्टीनिकट विज्ञपरिषद् सदस्य पवनरमण खनाल बताउँछन्। उनका अनुसार जनयुद्धका बेलादेखि यी दुई नेताबीच ‘माया बैगुनी, नभै नहुनी’को अवस्था रह्यो। एकातिर दुई नेताबीच चरम अन्तरसंघर्ष चलिरह्यो, अर्कातिर भट्टराईको नीति र प्रचण्डको नेतृत्वमा पार्टी चलिरह्यो। 

सम्बन्धमा उतारचढाव 

सशस्त्र द्वन्द्वकालमै प्रचण्ड–बाबुराम सम्बन्धमा धेरै उतारचढाव आयो। भुसको आगो बनेर रहेको अन्तरसंघर्ष २०६७ सालपछि छताछुल्ल बन्यो। जसकारण २०७३ मा भट्टराईले माओवादी परित्याग गरे। ‘घुमिफिरि रुम्जाटार’ भने झैं प्रचण्डकै पोल्टामा पुगेका उनले भने, ‘आफूभन्दा सक्षम नेतालाई आफ्नो निर्वाचन क्षेत्रको जिम्मा लगाउन पाउँदा यति खुसी छु। यो खुसी नाप्ने कुनै मेसिन आविष्कार भएको छैन।’ 

लेखक तथा राजनीतिक विश्लेषक रामरिझन यादवका अनुसार बाबुराम परिर्वतन चाहन्छन्, तर प्रचण्ड पूरा यथास्थितिवादीमा रहने पात्र हुन्। ‘नयाँ विचार र सोचलाई बाबुरामले लागू गर्न चाहन्थें तर प्रचण्डले दवाइदिन्थें। पार्टीबाटै बाबुरामलाई नजरबन्दमा राखेका थिए’, लेखक यादव भन्छन्, ‘प्रचण्डले पार्टीमा बर्चस्व कामय गर्न माओवादी पार्टीलाई फोडेर बर्बाद बनायो।’ प्रचण्डकै कारण माओवादी बर्बादीको अखाडा बनेको उनको टिप्पणी छ। 

उनै बाबुरामले डेढ बर्षअघि गृहनगर पालुङ्टार–६ पौवाटारको कार्यकर्ता भेलामा प्रचण्डलगायत ठूला पार्टीका तीन नेताले ९ अर्ब कमिसन खाएर बूढीगण्डकी जलविद्युत् आयोजना अलपत्र पारेको आरोप लगाएका थिए। उनले संविधानसभाबाट संविधान जारी भएको नौ दिनपछि पत्रकार सम्मेलन गरी माओवादीको साधारण सदस्यसमेत नरहेको भन्दै राजीनामा घोषणा गरेका थिए। आफैं मस्यौदा समितिको संयोजक भएर निर्माण भएको संविधानलाई आधा पानी भएको गिलास भनेर व्याख्या गर्दै गिलास भर्न पुरानो पार्टीबाट सम्भव नभएको बताएका थिए। माओवादी छोडेको करिब एक वर्ष भट्टराईले नयाँ वैकल्पिक शक्तिको बहस चलाए। २०७३ जेठ ३० गते भट्टराईले काठमाडौं दशरथ रंगशालामा भव्य कार्यक्रम गरी नयाँ शक्ति पार्टीको घोषणा गरेका थिए। 

२०३९ सालमा मोहनविक्रम सिंह नेतृत्वको मसालको सदस्यता लिएर कम्युनिस्ट बनेका भट्टराई २०४८ सालमा एकता केन्द्र मसालमा प्रवेश गरेका थिए। २०५२ फागुन १ मा माओवादीको सशस्त्र द्वन्द्व सुरु भयो। उनी पनि सशस्त्र द्वन्द्वमै होमिए। युद्धकै क्रममा उनी प्रचण्डको कडा आलोचकका रूपमा स्थापित भए। 

प्रचण्डले मुख्य एजेन्डा भुलेको भन्दै भट्टराईले २०५५ सालदेखि अन्तरसंघर्ष सुरु गरे। ‘बाबुराम राजनीतिक दलसित सम्बन्ध राख्नुपर्छ भन्थे। तर, प्रचण्ड राजासित सम्बन्ध राख्नुपर्छ भन्थे’, भट्टराई निकट एक नेताले भने, ‘यही विषयमा प्रचण्ड समूहले भट्टराईलाई भारतीय दलालको आरोप लगायो। चार महिना श्रमशिविरमा राखेर कारबाही पनि गर्‍यो। टकराव चरम अवस्थामा पुगिरहेका बेला खारा आक्रमण भयो। त्यसपछि भट्टराई माथिको कारबाही फुकुवा भयो। त्यसलगत्तै भएको चुनवाङ बैठकमा बाबुरामकै नीति पारित भयो। त्यसलगत्तै सरकारसँग शान्ति वार्ताको कुरा चल्यो। २०६२ मंसिर ७ गते १२ बुँदे समझदारीका लागि प्रचण्डले बाबुरामलाई जिम्मेवारी सुम्पिए।

२०६३ मंसिर ५ गते बृहत् शान्ति सम्झौता भएपछि १० वर्ष लामो जनयुद्ध समाप्त भयो। मुलुक शान्ति प्रक्रियामा गयो। संविधानसभाबाट संविधान जारी गर्न सफल भयो। यो अवस्थासम्म आइपुग्दा बाबुराम र प्रचण्ड एक अर्काका पूरक जस्ता देखिन्छ।’ नीति, सिद्धान्त र मार्गदर्शनका लागि प्रचण्डका लागि बाबुराम अपरिहार्य र संगठन र जनमतका लागि बाबुरामका लागि प्रचण्ड नभै नहुने उनको भनाइ छ।
‘उहाँहरू दुई जनाको सम्बन्ध एकता, संघर्ष र रूपान्तरण हुँदै अघि बढिरहेको छ’, माओवादी नेता चूडामणि खड्का भन्छन्, ‘उहाँहरू एक–अर्काका पूरक हुनुहुन्छ। उहाँहरूको सम्मिलनले मुलुकमा शान्ति र समृृद्धि सम्भव छ।’ तर, भट्टराईमा निहित अन्तर्मुखी स्वभाव कहिलेकहीँ घातकसिद्ध हुने गरेको उनको भनाइ छ।

विषयको गाम्भीर्यलाई नजरअन्दाज गरी हल्काफुल्का टिप्पणी गर्ने बाबुरामको बानीले प्रचण्ड र उनी बीचमा बेलाबेला दरार आउने गरेको माओवादी सचिव हितराज पाण्डेको टिप्पणी छ। ‘पार्टी र मुलुकको समुन्नतिका लागि उहाँहरूको मेल अनिबार्य छ’, उनी भन्छन्। 

प्रचण्ड प्रधानमन्त्री हुँदा सफल अर्थमन्त्रीका रूपमा स्थापित भएका थिए। तर, जब २०६८ भदौ ११ गते भट्टराई प्रधानमन्त्री भए उनको नेतृत्वमा २०६९ वैशाख ५ गते संविधानसभाबाट संविधान जारी हुन लाग्दा प्रचण्डले जालझेल गरी आदिवासी जनजाति उचालेर संविधान जारी गर्न अबरोध गरेको उनी निकट एक नेता बताउँछन्। 

‘२०७४ सालको चुनावमा वाम गठबन्धनबाट चुनाव लड्न नदिने षड्यन्त्र पनि प्रचण्डकै हो’, ती नेता भन्छन्, ‘तर अहिले शान्ति प्रक्रिया टुंग्याउन र सत्यनिरुपण तथा मेलमिलाप आयोगलाई काम गर्न दिन पनि यी दुई नेताको एकता नभै सुखै छैन।’ पार्टीलाई मात्र नभै देशकै लागि बाबुराम र प्रचण्डको एकता जरुरी रहेको उनको टिप्पणी छ।

माओवादीबाट अलग्गिएपछि प्रचण्डले एक टेलिभजन अन्तर्वार्तामा बाबुरामलाई आफूले ३० वर्ष झेलेको भन्दै अरूले एक वर्ष झेलेर हेर्न चुनौती दिएका थिए। नभन्दै २०७६ वैशाख २३ गते संघीय समाजवादी फोरम र नयाँ शक्तिबीच एकता भयो। २०७७ वैशाख १० गते समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टीबीच एकता भएर जनता समाजवादी पार्टी (जसपा) बनाए। तर, अहिले सबै छिन्नभिन्न भएर फेरि माओवादीसित टाँसिन पुगेका छन्।

बाबुराम र प्रचण्ड एउटै पार्टी बनाउनु भनेर अघि बढेकामा खुसी व्यक्त गर्दै गजुरेल चुनाव पछि यसले मुर्तरूप पाउने बताउँछन्। ‘वैकल्पिक शक्ति निर्माणका लागि उहाँ(बाबुरामजी) विभिन्न ट्रायल गर्नुभयो। उहाँ सफल हुनुभएन। त्यस अनुभवका आधारमा फेरि उहाँ माओवादीसँगै सहकार्य गरेर माओवादी आन्दोलनलाई नयाँ ढंगले सुदृढ गर्नुपर्छ भनेर उहाँ अघि जाने बनेर कुरो गर्नुभएको छ’, उनी भन्छन्। 

अर्का उपमहासचिव गिरिराजमणि पोखरेल पनि प्रचण्ड–बाबुराम एक भएको हेर्न पाउँदा खुसी व्यक्त गर्छन्। प्रचण्ड नेपाली राजनीतिक आन्दोलनको एउटा समकालीन राजनीतिक आन्दोलनका गतिरोध तोड्न नभई नहुने पात्र रहेको उनको भनाइ छ। ‘समकालीन राजनीतिक घटनाक्रमलाई समाधान गर्न प्रचण्डजीलाई माइनस गरेर सोच्न सकिँदैन। समाधानका प्रक्रिया नै अगाडि बढ्न सक्दैन’, उनी भन्छन्, ‘माओवादी आन्दोलनलाई बदलिएको परिवेश अनुरूप अगाडि बढाउन पर्यत्नरत एउटा  व्यक्तित्व उहाँ हो। कम्युनिष्ट क्रान्तिकारीलाई एकताबद्ध गर्न उहाँ लागिराख्नु भएको छ।’

प्रचण्डको भूमिकाका कारणले अलि भिन्न ढंगले राजनीतिलाई फरक ढंगले अगाडि बढाउँछु भनेर केही समय बाबुराम अलग भएका भन्दै पोखरेलले बाबुरामजी सफल नभएको तर्क गरे। ‘फेरि एकपटक प्रचण्डजीलाई सहयोग गर्ने गरी प्रचण्डजीको पूरक बन्ने प्रक्रियाअन्तर्गत उहाँ(बाबुराम) पछिल्लो बेलामा आफ्नो पार्टी पनि बनाउने र हँसियाहथौडा चुनाव चिह्न लिएर लड्ने पनि र माओवादीसंग सहकार्य गर्ने ठाउँमा पुग्नुभएको छ।’

बाबुराममा केही दृष्टिगत समस्या रहेको उनको तर्क छ। ‘बाबुरामजीको केही दृष्टिगत समस्याहरू छन्।  एउटा ठूलो बहस गरेर नेपाली क्रान्तिलाई कसरी अगाडि बढाउने र पार्टी निर्माण प्रक्रिया कसरी अगाडि बढाउने, माक्र्सवादको आजको आवश्यकताको आधारमा त्यसको सान्दर्भिकता कसरी अगाडि बढाउने बहस पुगेको छैन’, उनी भन्छन्, ‘तत्कालिक घटना क्रमले उहाँहरू एकठाउँ आइपुग्नुभएको छ। दृष्टिगत ढंगले एकठाउँ आउनका लागि उहाँहरूबीच डिवेटको जरुरी छ।’ 

उहाँहरू दुवै जनाले आत्मसमीक्षा गर्नुभएको छ। विगतबाट शिक्षा लिने, फेरि एकताबद्ध भएर जाने भन्नुभएको छ। मिलन–बिछोडमा कसको कति दोष अहिले भन्न मिल्दैन। यो भन्नु जरुरी नै छैन।
हरिबोल गजुरेल, उपमहासचिव, माओवादी केन्द्र

उनीहरूको सहकार्यको सफलताले पार्टी एकताका लागि सकारात्मक आधारहरू तयार गर्ने भन्दै उनले यतिले मात्रै नपुग्ने बताए। ‘दृष्टिगत जो समस्या छ त्यो हल गर्न जरुरी छ’, उनी भन्छन्, ‘आउने राजनीतिको केन्द्रमा प्रचण्डजी हुनुहुन्छ। प्रचण्डजीको साथमा रहेर म अघि बढ्नुपर्छ भन्ने सोंचको आधारमा नै बाबुरामजी यो निष्कर्षमा पुग्नुभएको छ।

लेखक तथा राजनीतिक विश्लेषक रामरिझन यादवका अनुसार बाबुराम परिर्वतन चाहन्छन्, तर प्रचण्ड पूरा यथास्थितिवादीमा रहने पात्र हुन्। ‘नयाँ विचार र सोचलाई बाबुरामले लागू गर्न चाहन्थें तर प्रचण्डले दवाइदिन्थें। पार्टीबाटै बाबुरामलाई नजरबन्दमा राखेका थिए’, लेखक यादव भन्छन्, ‘प्रचण्डले पार्टीमा बर्चस्व कामय गर्न माओवादी पार्टीलाई फोडेर बर्बाद बनायो।’ प्रचण्डकै कारण माओवादी बर्बादीको अखाडा बनेको उनको टिप्पणी छ। 

चितवन ३ मा जित हात पार्न सकस देखेपछि प्रचण्ड गोरखा २ हानिएका धेरैको अनुमान छ।

प्रचण्डलाई उम्मेदवारका रूपमा उभ्याएपछि भट्टराई सँगसँगै प्रचार–प्रसारमा हिँड्ने भएका छन्। प्रचण्ड बलिया उम्मेदवार हुन तैपनि गोरखा २ मा प्रचण्डकाविरुद्ध नेकपा एमालेको तर्फबाट सिरानचोक ३ का अब्दुस मियाँले उम्मेदवारी दिएका छन्। नेपाल मजदुर किसान पार्टीका प्रल्हाद लामिछाने, राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटी, राप्रपा नेपालका कुलबहादुर बस्नेत, नेपाली कांग्रेस(बीपी)बाट टीकादत्त पोखरेल, राप्रपाबाट सुशीलबाबु पन्त, नेकपा मालेबाट नारायणबाबु आचार्यले उम्मेदवारी दिएका हुन्। 

हाम्रो नेपाल पार्टीबाट प्रकाश थापा, मंगोल नेसनल अर्गनाइजेसनका सोमबहादुर गुरुङले पनि प्रचण्डसित प्रतिस्पर्धा गर्ने भएका छन्। बारपाक सुलिकोट ८ का विनोदकुमार गुरुङ, पालुङ्टार नगरपालिका ४ का गणेश देवकोटा, सिरानचोक ८ लाङ्दी (हाल काठमाडौं महानगरपालिका ३२) की डाक्टर माधवी भट्टले स्वतन्त्र उम्मेदवारी दिएका छन्। भट्ट नेपाली कांग्रेस निकट हुन्।

जब प्रचण्ड परे अलमलमा
 
प्रतिनिधिसभा सदस्यको मनोनयनपत्र दर्ताका क्रममा आइतबार निर्वाचन खर्चबारे विवरण खुलाउन लाग्दा प्रचण्ड धेरैबेर अलमलमा परे। छेउमै बसिरहेका बाबुराम जुरुक्क उठे र समाधानको बाटो खोलिदिए। उनले सुझाए, ‘सांसद हुँदाको तलबभत्ता र पार्टी कोषबाट भनेर खुलाइदिनुस् न भइहाल्छ नि!’ प्रचण्डले बाबुरामको सुझावअनुसार नै मनोनयन फाराममा लेखे। 

गोरखा २ बाट प्रतिनिधिसभा सदस्य पदमा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालको उम्मेदवारी दर्ताका क्रममा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेता नारायणकाजी श्रेष्ठलगायत।  तस्बिर : शिव उप्रेती

बाबुरामले प्रचण्डको राजनीतिक जीवनमा धेरै यस्ता समस्याको गाँठो फुकाइदिएका थिए। तर, पछिल्लो समय सात वर्षसम्म टुटेको थियो। फेरि सम्बन्ध जोडिएसँगै दायाँतर्फ डा. बाबुराम भट्टराई र बायाँतर्फ नारायणकाजी श्रेष्ठलाई साक्षी राखेर माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले उम्मेदवारी दिएका हुन्। गोरखा २ माओवादीको पकड क्षेत्र हो। यहाँका पाँच पालिकामध्ये स्थानीय चुनावमा एउटाबाहेक अन्यमा माओवादी उम्मेदवार विजयी भएका थिए। 

चितवन ३ मा जित हात पार्न सकस देखेपछि प्रचण्ड गोरखा २ हानिएका धेरैको अनुमान छ। प्रचण्डले भने देशका जुनसुकै जिल्लाबाट पनि जित हात पार्न सक्ने ‘खुबी’ देखाउन गोरखा रोजेको दाबी गरेका छन्। ‘यसअघि रोल्पा, काठमाडौं, सिराहा, चितवन जिल्लाबाट चुनाव लडिसकेको छु। यसपटक गोरखाबाट लड्दै छु’, मनोनयन दर्तापछि पत्रकारसित उनले भने, ‘यति धेरै जिल्लाबाट चुनाव लड्ने सायदै अरू होलान्।’ माओवादी वरिष्ठ उपाध्यक्ष श्रेष्ठले पनि चुनाव जित्न मात्र गोरखा आएको नभई सबै जिल्लाबाट चुनाव जित्ने खुबी देखाउन आएको दाबी गरे। 

प्रचण्डले संविधान, लोकतान्त्रिक गणतन्त्र र राष्ट्रको रक्षा गर्ने संकल्पका साथ गठबन्धन गरेको उल्लेख गरे। उनले अबको नयाँ नेपाल निर्माण गोरखाबाटै थालनी गर्ने प्रतिबद्धता जनाए। उनले आफूलाई गोरखा अत्यन्त प्रिय रहेको बताए। युवावस्थामा आफूले गोरखाको आरुघाटमा लामो समय अध्यापन गरेको, जनयुद्धको तयारीका बेला 

हेडक्वाटर गोरखालाई बनाएको, सैनिक तालिमको थालनी पनि गोरखाको सिरानचोकलाई बनाएको सम्झना उनले गरे। यसअघि रोल्पा, सिराहा, काठमाडौं, चितवनबाट चुनाव लडेको उल्लेख गर्दै उनले देशको जुनसुकै जिल्लाबाट चुनाव लड्न तयार रहने आफ्नो विशेषता रहेको बताए।

पूर्वप्रधानमन्त्री डा. भट्टराईले प्रचण्डलाई गोरखाको जिम्मेवारी सुम्पन पाएकामा अपार खुसी लागेको बताए। प्रचण्डको नेतृत्वमा गोरखाबाटै नेपालको समृद्धिको अभियान सुरु हुने विश्वास उनले व्यक्त गरे। प्रचण्डलाई आफ्नो सिट सुम्पिन पाएकोमा अत्यन्त हर्षित रहेको उनको भनाइ थियो। 

‘उहाँजस्तो व्यक्तित्वलाई मैले नेतृत्व गरेको ठाउँ हस्तान्तरण गर्न पाउँदा आज म यति खुसी छु, यो खुसी नाप्ने कुनै यन्त्रको आविष्कार भएको छैन’, डाक्टर भट्टराईले भने, ‘म साँच्चै नै अन्तरहृदयदेखि के भन्छु भने नेपालको ऐतिहासिक भौगोलिक एकीकरण, लोकतान्त्रिक नेपालमा लखन थापादेखि सुरेश वाग्लेसम्मको योगदान र समृद्धीकरणको युगमा फेरि एउटा उचाइ हाँसिल गर्नुपर्ने आवश्यकता छ। त्यसको नेतृत्व गर्ने अवसर पनि अब गोरखाले पायो। त्यसैले म आज अत्यन्तै खुसी छु।’ जीवन रहेसम्म कुर्सीमा बसिरहने गलत परम्पराको अन्त्य गर्ने इतिहास आफूले निर्माण गरेको उनले बताए। 

प्रचण्डलाई गोरखा २ बाट उम्मेदवारी दिन भट्टराई र श्रेष्ठ काठमाडौंदेखि अघिपछि, दायाँबायाँ हुँदै गोरखा आइपुगेका थिए। उम्मेदवारी दर्ताका क्रममा प्रचण्डले जिन्दगीमा यस्ता दिन पनि आउने रहेछ भन्दै बारम्बार दोहोर्‍याए। भने, ‘यस्ता दिन पनि आउँदा रहेछन्। कस्ता दिन पनि हामीले बेहोर्‍यौँ ...।’ 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.