शताब्दी पुरुषको शरीर दान
काठमाडौं : वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको आइतबार बिहान देहावसान भयो। श्रद्धाञ्जली सकिएपछि जोशीको पार्थिव शरीर साँझ ५ बजे किस्ट मेडिकल कलेज पुर्याइयो। जहाँ अस्पतालका प्रबन्ध निर्देशक प्रा.डा. सुरज बज्राचार्यसहित चिकित्सा विज्ञानमा अध्ययनरत विद्यार्थीहरूले स–सम्मान ग्रहण गरे। डिसेक्सन कक्षमा लगेर ‘तपाईंको आत्मसम्मान गर्दै पार्थिव शरीरलाई सम्मानपूर्वक ग्रहण गर्छौं। अध्ययनका लागि सही ढंगले उपयोग गर्नेछौं’, शपथ ग्रहण गरे।
जोशीले संस्कृति, भाषा, साहित्य साधनामा जीवन समर्पण गरेका थिए। किस्टको चिकित्सा विज्ञानमा अध्ययनरत विद्यार्थीहरूलाई प्रयोगात्मक ज्ञान हासिल होस् भन्ने पवित्र उद्देश्यले मरणोपरान्त पछि पनि जोशीले शरीर दान गरेको डा. वज्राचार्यले बताए। १०३ वर्षसम्म बाँचेका जोशी जीवनलाई अवसर र उमेरलाई नम्बरका रूपमा लिन्थे।
डेंगुले गलायो
जोशी लामो समयदेखि प्रोस्टेट र मुटुको समस्या झेलिरहेका थिए। असोज ७ गते इमरजेन्सिमा भर्ना भए। निर्देशक डा. बज्राचार्यका अनुसार जोशीको श्वासप्रश्वासका साथै मुटुको समस्या देखिएपछि भर्ना गरिएको थियो। साथै, प्रोस्टेटको समस्या पनि जोडिएको थियो। जोशीको उपचारमा विशेषज्ञ चिकित्सकको संयुक्त नेतृत्वमा विषयगत विभिन्न विधाका विज्ञ चिकित्सकहरूको संलग्न रहेका थिए। मल्टिडिसिप्लिनरि केयरको निगरानीमा राखी उपचार गरिएको अस्पतालले जनाएको छ।
उपचारका क्रममा सुरुका दिनहरूमा जोशीको स्वास्थ्यमा केही सुधार देखिएको थियो। तर, पछिल्ला दिनहरूमा चिकित्सकहरूले स्वास्थ्यमा सुधार भएको महसुस गर्न सकेनन्। सघन उपचार कक्ष (आईसीयू)मा राखिएको अस्पतालका निर्देशक डा. वज्राचार्यले जानकारी दिए। ‘रगत परीक्षण गर्दा डेंगु पुष्टि भयो। असोज २३ गतेदेखि नै छातीमा निमोनिया संक्रमण देखियो। निमोनिया संक्रमणविरुद्ध एन्टिबायोटिक औषधि सुरु गरियो। मुटुको चालसम्बन्धी समस्या पनि थपियो। असोज २४ गते मुटुको चालसम्बन्धी समस्या नियन्त्रण गर्न आईसीयूमा राखी उपचार सुरु गरियो’, उनले भने।
उनका अनुसार असोज २५ गते मुटुको चालसम्बन्धी समस्यामा सामान्य सुधार देखियो। जोशीले सामान्य प्रतिक्रिया देखाए। २६ गतेसम्म जोशी दोहोरो कुराकानी गर्न सक्ने अवस्थामा आए। खकार परीक्षण गर्दा एन्टिबायोटिक्स निरन्तर दिइरहनुपर्ने देखियो। कमजोरी कायमै थियो। जोशीलाई डिलक्स क्याबिनमा सिफ्ट गरियो। आईसीयू सरहकै सूक्ष्म निगरानीमा मल्टि डिसिप्लिनरी केयरसहित उपचार सुरु गरियो।
असोज २७ गते अक्सिजन स्याचुरेसन लेभल कमी आयो। त्यसपछि आईसीयूमा सिफ्ट गरियो। डा. वज्राचार्यका अनुसार पहिलेदेखि नै पुरानो रोगले ग्रसित पारेकोले जतिसुकै औषधि चलाए तापनि शरीरले राम्रोसँग रेस्पोन्स गरेन। ‘असोज २८ गतेदेखि एल्बुमिन रिप्लेसमेन्ट गर्न औषधि चलाइयो। निमोनियाको संक्रमण र पिसाब संक्रमण भएकोले एन्टिबायोटिक्स दिइयो। तै पनि जोशीको स्वास्थ्यमा उल्लेखनीय सुधार आएन’, उनले भने।
उनका अनुसार असोज २९ गते जोशीको स्वास्थ्य स्थिति स्थिर थियो। तर, निमोनिया संक्रमण भने थियो। एन्टिबायोटिक्सको कोर्स पनि जारी थियो। एल्बुमिन रिप्लेसमेन्टको औषधि पनि दिइएको थियो। मल्टि डिसिप्लिनरी केयरको निगरानीमा सघन कक्षमा उपचार भइरहेको थियो। अवस्था झन् चिन्ताजनक हुन पुग्यो। ‘९७÷९८ वर्षको हुँदादेखि नै उहाँको स्वास्थ्यको सूक्ष्म निगरानी गरिरहेको थिएँ। यसपटक पनि निको गराएर घर पठाउँछौं भन्ने लागेको थियो,’ डा.वज्राचार्यले भने, ‘यसपटक उहाँ (सत्यमोहन जोशी)लाई डेंगुले गलायो। आत्मबल र इच्छाशक्तिमा ह्रास आयो। सुरज, अब म सक्दिनँ। मलाई गाह्रो भयो भन्नुभयो।’
जोशीको देहावसान हुनुमा डेंगु संक्रमणलाई मुख्य कारकका रूपमा लिन सकिन्छ। ‘पहिलेदेखि अन्य रोग पनि गाँसिएका थिए। डेंगु संक्रमणपछि शरीरका अन्य अंगलाई पनि असर पुग्यो,’ डा. वज्राचार्यले भने, ‘डेंगुको जटिलताले मुटुमा समस्या थपियो।’ जोशीको स्वास्थ्य अवस्थाबारे स्वास्थ्य मन्त्रालय, जिल्ला प्रशासन कार्यालय ललितपुर, ललितपुर महानगरपालिका, महालक्ष्मी महानगरपालिका, स्थानीय निकायहरूमा पनि निरन्तर रिपोर्टिङ भइरहेको थियो। जोशीले मुलुकलाई पुर्याएको योगदानलाई कदर गर्दै किस्ट शिक्षण अस्पतालले लामो समयदेखि निरन्तर सेवा दिइरहेको थियो। प्रबन्ध निर्देशक बज्राचार्यले भने, ‘उहाँ (जोशी) कै निवासमा नर्सिङलगायतको चिकित्सकीय टोली पठाइ निरन्तर सेवा दिइरहेका थियौं।’ उनका अनुसार उपचारका क्रममा लाग्ने सम्पूर्ण औषधिलगायतका खर्च अस्पतालले नै व्यहोरेको थियो।
प्रतिक्रिया दिनुहोस !