ब्याजदरविरुद्ध व्यवसायीले गरे परासी बन्द
परासी : कर्जा ब्याजदर वृद्धि विरुद्ध नवलपरासीका व्यवसायीले बिहीबार सदरमुकाम परासी क्षेत्रका बजार र बैंक तथा वित्तीय संस्था बन्द गरेका छन्। बैंक तथा वित्तीय संस्थाहरुको चर्को ब्याज वृद्धिका कारण अर्थतन्त्रलाई धराशायी बनाएको भन्दै उद्योग वाणिज्य संघ नवलपरासीको अगुवाइमा उक्त क्षेत्र बन्द गरिएको हो।
बैंक तथा वित्तीय संस्थाबाट सर्वसाधारणहरुले सस्तोमा ब्याज लिएर महंगोमा तिर्नुपर्ने बाध्यता सृजना भएकाले त्यसलाई घटाउनु पर्ने व्यवसायीहरुको माग छ। ब्याजदर बढ्दा त्यसको मार उपभोक्तालाई पर्ने भन्दै त्यसविरुद्ध सर्वसाधरणसमेत जागरुक हुनुपर्ने उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका पूर्वअध्यक्ष गुणनिधी तिवारीले बताए।
उद्योग वाणिज्य संघका अध्यक्ष केशव भण्डारीले बैंक तथा वित्तीय संस्थाहरुले मनपरी ब्याज बढाएको भन्दै यसले उद्योग व्यवसायहरु धरासायी बन्दै जाने बताए। ब्याजदर नघटे अझ सशक्त आन्दोलन गर्ने व्यवसायीहरुको चेतावनी छ।