सकियो नवौं, कर्णालीमा भेट्ने बाचा

सकियो नवौं, कर्णालीमा भेट्ने बाचा

पोखरा : नेपाली खेलकुदको कुम्भमेला मानिने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न भएको छ। दुई वर्षपछि कर्णाली प्रदेशमा भेट्ने बाचासहित गण्डकी प्रदेशमा आयोजित नवौं राष्ट्रिय खेलकुद सम्पन्न भएको हो। प्रधानमन्त्री शेरबहादुर देउवाले कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बिसीलाई १०औं संस्करणको राष्ट्रिय खेलकुद आयोजनाका लागि झन्डा हस्तान्तरण गरेका थिए। राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताकै दौरान भएको सहमति अनुरुप १०औं राष्ट्रिय खेलकुदको जिम्मेवारी कर्णाली प्रदेशलाई दिएको बताए।

हरेक दुई वर्षको अन्तरालमा हुने राष्ट्रिय खेलकुदको १०औं संस्करण अब २०८१ मंसिर २ देखि ९ गतेसम्म कर्णाल्ी प्रदेशमा हुनेछ। कर्णालीले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समापनकै दौरान १०औं राष्ट्रिय खेलकुद आयोजनाको दाबी गरेको थियो। कर्णाली प्रदेश खेलकुद परिषद्का सदस्यसचिव विश्वमित्र सञ्ज्यालले राष्ट्रिय खेलकुदको १०औं संस्करण आयोजनाका लागि आफूहरूले विगत चार वर्ष अघिदेखि नै पूर्वाधार निर्माणको कामलाई तीब्रता दिँदै आएको बताए। ‘अहिलेसम्म कर्णाली प्रदेशले राष्ट्रिय खेलकुदको आयोजना गर्न पाएको छैन। त्यसैले १०औं राष्ट्रिय खेलकुदलाई विशेष र अविष्मरणीय बनाउन कुनै कसर बाँकी राख्ने छैनौं’, कर्णाली प्रदेश खेलकुद परिषद्का सदस्यसचिव सञ्ज्यालले भने, ‘हाम्रो मुख्य चुनौती पूर्वाधार हो। यसका लागि हामीले विगत चार वर्षदेखि नै काम सुरु गरिसकेका छौं।’

समापन समारोहमा बोल्दै प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय प्रतियोगिता नेपाली खेलकुदको महोत्सव भएको बताउँदै यसले हजारौं खेलाडीको भविष्य निर्धारण गर्ने बताए। उनले अब १०औं राष्ट्रिय खेलकुदको तयारीमा जुट्न आग्रह गरे। 

हरेक दुई वर्षमा आयोजना हुने राष्ट्रिय खेलकुद कोरोना महामारीलगायत विभिन्न कारण करिब चार वर्षपछि  आयोजना भएको हो। गण्डकी प्रदेशमा भने ३९ वर्षपछि राष्ट्रिय खेलकुद फर्किएको हो। यसअघि २०४० सालमा गण्डकीमा दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना भएको थियो। नवौं राष्ट्रिय खेलकुदमा ११ टोलीका ६ हजार १ सय २७ खेलाडीले प्रतिस्पर्धा गरेका थिए। जसमा ३४१४ पुरुष र २७१३ महिला खेलाडीले प्रतिस्पर्धा गरेका थिए। नवौं राष्ट्रिय खेलकुदमा ३ सय ९७ स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको थियो। नवौं राष्ट्रिय खेलकुदमा विभागीय टोली नेपाल पुलिस, एपीएफ र त्रिभुवन आर्मी क्लबसहित सात प्रदेश र गैरआवासीय नेपाली संघ (एनआरएनए) गरी ११ टोलीका खेलाडीले प्रतिस्पर्धा गरेका थिए। प्रतियोगितामा ३६ खेलका ४ सय ४ इभेन्ट समावेश गरिएको थियो। नवौं राष्ट्रिय खेलकुदमा सुदूरपश्चिमकी रितिका बुमी कान्छी खेलाडी बनिन्। पौडी खेलाडी रितिकाले ७ वर्ष २२ दिनको उमेरमा नवौं राष्ट्रिय खेलकुदमा प्रतिस्पर्धा गरेकी थिइन्। यस्तै स्क्वास खेलाडी धनबहादुर घलेले ६१ वर्ष ४ महिनाको उमेरमा राष्ट्रिय प्रतियोगितामा उत्रिएका थिए। 

पदक तालिकामा आर्मीको दबदबा

नवौं राष्ट्रिय खेलकुदको पदक तालिकामा विभागीय टोली त्रिभुवन आर्मी क्लबले दबदबा कायम राखेको छ। ४०४ स्वर्णमध्ये आर्मीले १७२ स्वर्ण जित्दै तालिकामा पहिलो स्थान कब्जा गर्‍यो। आर्मीले ११० रजत र ८९ कांस्य पदक आफ्नो नाममा लेखायो। पदक तालिकाको शीर्ष तीनमा विभागीय टोलीले वर्चश्व जमाउँदा सशस्त्र प्रहरीको एपीएफ क्लबले दोस्रो र नेपाल पुलिस क्लबले तेस्रो स्थान हात पार्‍यो। एपीएफले ६५ स्वर्ण ७३ रजत र ८१ कांस्य जित्यो। यस्तै पुलिसले ६१ स्वर्ण ६१ रजत र ७३ कांस्य जित्न सफल भयो। पूर्वाञ्चलमा भएको सातौं राष्ट्रिय खेलकुददेखि विभागीय टोलीले शीर्ष तीन स्थान कब्जा गर्दै आएका हुन्। त्यसअघि मध्यमाञ्चल विकास क्षेत्रले वर्चश्व जमाउँदै आएको थियो। नवौं राष्ट्रिय खेलकुदमा आर्मीकी दुवाना लामाले सर्वाधिक नौ पदक जितिन्। जलपरी दुवानाले नौ स्वर्ण र एक रजत पदक जित्न सफल भइन्।

विभागीय टोलीपछि चौथो स्थानमा गण्डकी प्रदेश रह्यो। यस्तै पाँचौं स्थानमा रहेको आयोजक गण्डकीले ३२ स्वर्ण, ३१ रजत र ५७ कांस्य जित्यो। पाँचौं स्थानमा रहेको बागमती प्रदेशले २४ स्वर्ण ४७ रजत र ७४ कांस्य जित्यो। यसैगरी प्रदेश १ ले १० स्वर्ण, २३ रजत र ५० कांस्य, सुदूरपश्चिम प्रदेशले १० स्वर्ण, १० रजत र ४३ कांस्य जित्यो। गैर आवासीय नेपाली संघ (एनआरएनए) ले १० स्वर्ण, ९ रजत  र ७, लुम्बिनी प्रदेशले ६ स्वर्ण २२ रजत र ४० कांस्य जित्यो। मधेस प्रदेशले ५ स्वर्ण, ८ रजत र २६ कांस्य तथा कर्णाली प्रदेशले २ स्वर्ण, ४ रजत र १२ कांस्य जित्यो। 

विवादै विवादको शृंखला

नवौं राष्ट्रिय खेलकुदमा विभिन्न विवादमा पनि फस्न पुग्यो। गैर आवाससीय नेपाली संघ (एनआरएनए) का खेलाडी सहभागिता, खेल सामग्री, खेलाडीको आवास, खाना र पोसाकदेखि प्रतियोगिताको समग्र व्यवस्थापनका विषयमा विवाद उब्जिएको थियो। प्रतियोगिताको पहिलो दिनको उद्घाटन नै निरस देखिएको थियो। पोखरा रंगशालामा स्थानीयको उपस्थिति नहुँदा खाली रंगशालामा उद्घाटन गरिएको थियो। समारोह उपसमितिले पहिलेका संस्करणभन्दा नवौं राष्ट्रिय खेलकुदको उद्घाटन र समापन विशेष हुने दाबी गरे पनि आतिसबाजीमा मात्रै ध्यान दिँदा अन्य कार्यक्रम निरस बनेको थियो। साउन्ड सिष्टम गतिलो नहुँदा वक्ताहरूले के बोलिरहेका छन् भन्ने नै सुनिँदै थियो। साउन्ड सिष्टमको समस्या उद्घाटनमा मात्रै होइन, समापन समारोहमा पनि दोहोरिएको थियो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.