अस्ताइन् मैयाँदेवी

अस्ताइन् मैयाँदेवी

चितवन : देवघाटमा खुट्टा टेक्ने ठाँउ थिएन। सबैका अनुहार मलिन थिए। मलिन अनुहार लिएर सागर जानेको घुइँचो थियो। केन्द्रदेखि जिल्लाका नेताको ओइरो थियो। जीवनभर दान गरेर नथाकेकी कांग्रेस नेतृ मैयाँदेवी श्रेष्ठको व्यक्तित्व र योगदानलाई प्रष्ट रूपमा चित्रण गरेको थियो। कांग्रेस बाहेकका दलका नेताहरू पनि पुगेका थिए। जिल्लाका विभिन्न पेसामा आवद्ध भएकाहरू पुगेका थिए। 

आफ्नो जीवनलाई नै दानमा समर्पित गरिन्। सहयोग माग्ने आउनेहरू कहिल्यै रित्तो हात फर्किएनन्। कसैको दुःख देख्यो कि सहयोग गरिहाल्ने मैयाँदेवी दान गरेर कहिल्यै थाकिनन्।

आफ्नो जीवनमा करिब एक अर्बभन्दा बढी दान गर्ने मैंयादेवी। दानीलाई हानी चाहिँ कहिल्यै हुँदैन भन्दै आफ्नो भागको पुर्ख्यौली सम्पत्ति बेचेरै दान गर्दै आएकी हुन्। उनी जहाँ पुग्थिन्, त्यहीं। दान गर्थिन्। उनै दानकी देवी आइतबार बिहान सधैंका लागि अस्ताइन्। 

उनको निधनले सिंयो जिल्ला नै स्तब्ध बनायो। ९८ वर्षको उमेरमा चितवन मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा आइतबार बिहान सवा १ बजे निधन भएको हो।

'उहाँको जीवन केबल कांग्रेसका लागि मात्रै होइन मुलुकको प्रजातान्त्रिक प्राप्तीका लागि योगदान रह्यो,' नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले भने, 'उहाँको निधनले पार्टीका लागि मात्रै होइन राष्ट्रका लागि ठूलो क्षति भएको छ।'

नेपाली राष्ट्रिय कांग्रेसमा प्रवेश गरेकी मैयाँदेवी किशोरावस्थादेखि नै राणाशासनको विरुद्ध सक्रिय थिइन्। २००३ सालमा वीपी कोइरालाबाट कांग्रेसको सदस्यता लिएकी हुन्। 

वीपीले उनका औंला ब्लेडले चिरेर रगतको ल्याप्चे लगाई सदस्यता दिएका थिए। २००७ सालको क्रान्तिमा बन्दीपुरमै सक्रिय भएकी मैयाँदेवी २०१४ को भद्र अवज्ञा आन्दोलनमा जेल परिन्। 

२०१७ सालमा राजा महेन्द्रले सत्ता पलट गरेपछि भारत पलायन भएकी उनले २०१८ देखि २०२० सालसम्म ऋषिकेशमा कांग्रेसको राजनीति गरिन्। 

२०४८ सालमा प्रतिनिधिसभा सदस्य, २०५८ सालमा राष्ट्रियसभा सदस्य र २०६३ सालमा अन्तरिम व्यवस्थापिका संसद् सदस्य भइन्। 

बुबाआमाबाट दाजुसरह अंश पाएकी थिइन्।  आफ्नो भागको सम्पत्ति उनले दान गरेर सकिन। अधिकांश समय पवित्र तीर्थस्थल देवघाटमा बिताइन्। 

राजनीतिमा र समाजसेवाबाट बचेको समय देवीरदेवताको साधनामा विताइन्। राजनीतिमा सक्रिय बनेपछि उनी काठमाडौं गइरहन्थिन्। उनले वीपी र कृष्णप्रसादलाई दाल, चामल, घिउ बोरामा हालेर पठाउँथिन्। 

कहिलेकाहीं आफैं लिएर जान्थिन्। कृष्णप्रसाद भट्टराईलाई पान, गिरिजाबाबुलाई चुरोट खानका लागि उनले पैसा दिन्थिन्।   

मैयाँदेवी श्रेष्ठले दुईवटा ट्रष्टका नाममा करोडौंका मूल्यका घरजग्गा र नगद राखेर अक्षय कोष स्थापना गरेकी छन्। ८ वर्षअघि मैयाँदेवी ट्रष्ट स्थापना गरिन्। 

त्यसबेला ८ करोड मूल्य पर्ने  नारायणघाट बजारको तीन तले घर ट्रष्टका नाममा पास गरिदिएकी छन्। ट्रष्टले शिक्षा, स्वास्थ्य, महिला लगायतका क्षेत्रमा काम गर्दै आएको छ। 

ट्रष्टबाहेक सामाजिक एवं धार्मिक संघरसंस्था, पाटीपौवा र धर्मशालामा उनले १२ करोड सहयोग गरेकी छन्। शिक्षा क्षेत्रमा मात्र १० करोड, कांग्रेसको वडा, जिल्ला र केन्द्रीय कार्यालय भवन निर्माणार्थ जग्गा तथा नेता, कार्यकर्तालाई गरी ६ करोड ५० लाख सहयोग गरेकी छन्। विभिन्न व्यक्तिलाई ३३ करोड ५७ लाख सहयोग गरिसकिन्।

नारायणगढको बालकुमारी कन्या स्कूललाई १० कठ्ठा जग्गा उनैले दिएकी हुन्। १२ कठ्ठा जग्गा किनिदिएर मैयाँदेवी कन्या कलेजको भवन निर्माण गरिदिइन्। नेपाली कांग्रेस केन्द्रीय कार्यालयको भवन मैयाँदेवीले दिएको जग्गामा बनेको हो। 

मैयाँदेवीले दान गरेको जग्गामा नेपाली कांग्रेस चितवन, नेपाल प्रेस युनियन चितवन लगायतका संस्थाले भवन बनाएका छन्। नेपाली कांग्रेस भरतपुर वडा नं ३ को कार्यालयको भवन बनाउन जग्गा दिइन्। 

भक्त थानेश्वर महाप्रभुलाई धार्मिक मन्दिर निर्माणका लागि मैयाँदेवी मार्गमा एक करोड रुपैयाँ बराबरको जग्गा दिएकी छन्। रविभवनमा रहेको नेपाल तरूण दलको केन्द्रीय कार्यालय मैयाँदेवी श्रेष्ठले दिएकी हुन्। 

मानव सेवा आश्रम, भरतपुर शाखाको भवन निर्माणका लागि बेलचोकको करिब २० करोड पर्ने जग्गा दान परिबारका दाजुभाइ सहितले दिएका हुन्। 

'दानीलाई हानी कहिल्यै हुदैन भन्नु हुन्थ्यो, समस्या परेर आउनेलदाई सहयोग गरिहाल्ने। उहाँको जीवन नै दान गर्नका लागी भएको हो,' धर्मपुत्र टंकनाथ पौडेलले भने, 'यस्तो व्यक्ति यगले कमै पाँउछ। राजनीति र समाजसेवा संधै शिरोपरि गरेर जानुभयो। नेपाल आमाले प्रेरणा गुमाएको छ।'


विसं १९८५ दसैंको फूलपातीका दिन तनहुँको बन्दीपुरमा उनको जन्म भएको हो। आफ्नो जीवन समाजसेवा र राजनीतिमा लगाइन्। अविवाहित मैयाँदेवीका चार धर्मपुत्र छन्। 

उनले ती सबैलाई सम्पत्ति दान दिएकी छन्। आमाले जीवनभर ४५ जनाभन्दा बढीलाई जमीन दान गरेकी छन्। 

तत्कालीन राजा वीरेन्द्र शाहबाट समाजसेवा पदक, तत्कालीन श्री ५ अधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी सिंहबाट ग्रिनअनर सम्मान, महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयबाट चन्द्राकान्ता राष्ट्रिय महिला शिक्षा सेवा पुरस्कार, नेतृत्व र सुशासनबाट छैठौं विश्व सम्मेलनका अवसरमा जापानको टोकियोमा एम्बेस्डर फर पिसबाट सम्मानित भइन्। 

आफूले प्राप्त गरेका सम्मान तथा पुरस्कारको राशि पनि सामाजिक काममै खर्च गरिन्। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.