फूलै फूलको मौसम तिमीलाई...

फूलै फूलको मौसम तिमीलाई...

काठमाडौं : यस वर्षको तिहारमा ९० प्रतिशत फूललको माग स्वदेशी उत्पादनले धानेको छ। फूललैफूललको पर्वका रूप लिइने पर्व तिहारमा अत्याधिक खपत हुने सयपत्री, गोदावरी र मखमली फूल धेरै स्वदेशमा नै उत्पादन भएको र बजारको मागलाई धान्न सहज भएको व्यवसायी बताउँछन्। मागको बाँकी १० प्रतिशत मात्रै भारतबाट आयात गरिएको उनीहरूको भनाइ छ। फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष मीनबहादूर तामाङ यसवर्ष फूललको आयात तुलनात्मक रूपमा कम भएको बताउँछन्। भन्छन्, ‘स्वदेशी उत्पादनले नै बजारमा बढी हिस्सा ओगटेको छ।’

अध्यक्ष तामाङका अनुसार नेपालमा नै उत्पादन हुने फूललले वार्षिक २ अर्ब ३० करोड कारोबार गर्छ। यो गत आर्थिक वर्षको तथ्यांक हो। यसवर्ष अझै बढी हुने उनको भनाइ छ। यद्यपि सबै खालका फूलहरूमा वार्षिक साढे ६ अर्ब लगानी रहेको तामाङले बताए। 

फ्लोरिकल्चर एसोसिएसनका अनुसार मुलुकभर करिब ७ सयभन्दा बढी पुष्प व्यवसायी छन्। ती व्यवसायीबाट देशभरको ४८ जिल्लामा फूल खेती हुने गरेको छ। यो तथ्यांकलाई आधार मान्दा मुलुक क्रमशः फूलमा आत्मनिर्भर हुन लागेको देखिन्छ। तर, कोभिडपछि भने फूलको उत्पादन तथा कारोबार घटेको अध्यक्ष तामाङ बताउँछन्। भने, ‘कोभिडपछि वार्षिक ३६ करोड बराबरको आयात भएको छ। नेपालबाट फूलको निर्यात पनि भएको छ। तर, त्यो ताजा फूलको नभई दाना बीउको हो। आजभन्दा १५ वर्षअघि मात्रै नेपालले वार्षिक १९ करोड निर्यात गर्ने अवस्थामा थियो।’ 

अन्य समयको तुलनामा तिहारको ५ दिन सयपत्री फूलको माग अत्यधिक हुन्छ। यतिबेला नपुग भएको यस्तो फूल मात्रै व्यवसायीले आयात गर्ने गरेको बताउँछन्। अध्यक्ष तामाङका अनुसार भ्यालेन्टाइनको समयमा भने चिसोको कारणले गर्दा गुलाबको फूल कम फुल्छ। ‘त्यतिबेला भ्यालेन्टाइन डेलाई चाहिने फूलको ८० प्रतिशत नै आयात हुन्छ। हाईब्रिट फूलको बीउलगायत आयात हुन्छ। यद्यपि समग्रमा फूलमा नेपाल ९० प्रतिशत आत्म निर्भर छ। बाँकी १० प्रतिशतजति मात्रै आयात गर्नुपर्ने अवस्था छ,’ उनले थपे। 

तिहारमा फूलको महत्व 

तिहार हिन्दू धर्मावलम्बीहरूको महत्वपूर्ण चाडमध्ये एक हो। यो फूलैफूलको चाड पनि हो। संस्कृतविद् डा. गोविन्द टण्डन तिहारमा विशेष गरेर भाई तथा दिदीबहिनीहरूको पूजा गर्नेदेखि घर, पसल सजाउन बढी फूलको प्रयोग हुने गरेको बताउँछन्। तिहारको मौसम पनि सयपत्री, मखमली र गोदाबरी फूल फुल्ने समय पर्छ। ‘यतिबेला सयपत्री पानी नभएको डाँडाँमा समेत फुलेको हुन्छ। यसले मौसमलाई अझै रमाइलो बनाउँछ। फूलको महत्व राख्ने यो पर्व हो,’ सँस्कृतविद् डा. टण्डन भन्छन्, ‘सयपत्रीफूल सय पत्रमात्रै हुँदैन यसमा हजारौं पत्र पनि हुन्छन्। मखमली पनि धेरै चक्र भएका हुन्छन्। यस्ता खाले सबै फूलको धेरै पत्र हुनुको अर्थ यसले दाजुभाइहरूको लामो आयु गराउने भन्ने महत्व समेटिएको हुन्छ।’ 

दाजुभाइको लामो आयुका लागि यमपञ्चकमा दिदीबहिनीले मखमलीले पूजा गर्ने र माला लगाउँदा फूलजस्तै कहिल्यै नओइलिने आयु रहोस् भन्ने कामना गर्ने प्रचलन रहेको उनले बताए। यसर्थ लामो आयुको प्रतीक मखमलीलाई मानिने उनको भनाइ छ। ‘गोदावरी विभिन्न रङका हुन्छन्। बरु सयपत्री १–२ रङका हुन्छन्। तर, आजकल मखमली फूल हराउँदै जान थालेको छ। यसको जगेर्ना गर्नेतर्फ कोही पनि लागेका छैनन्,’ उनले थपे। 

पछिल्लो समय नेपालमा फूल व्यवसाय फस्टाउन थालेको संस्कृतविद् टण्डनको अनुभव छ। पहिला बाहिरबाट फूल असाध्यै आउने गरेकाले नेपालमा पनि फूल उत्पादन गर्नुपर्छ भन्ने अनुभूति भएर आफैंले पनि २०४८ सालतिर नर्सरीको काम थालेको सुनाउँछन्। ‘यो काम पढे लेखेकाले गर्नुहुँदैन भन्ने धारणाले मुलुक परनिर्भरतिर धकेलिँदै थियो। यसैले म आफैंले पनि नेपाललाई फूलमा आत्मनिर्भर बनाउनुपर्छ भनेर एउटा नर्सरी खोलेको थिए,’ उनी भन्छन्, ‘धेरै पहिला माली भन्नेले मात्रै ल्याएर बगैंचा लगाउँथे र प्रयोग गर्थे। अरू सबै भारतबाट आयात हुने र किन्ने प्रचलन थियो। तर, अहिले नेपाल फूलमा करिब आत्मनिर्भर हुने बाटोतर्फ लागिसक्यो।’ फूलमा २५ वर्षअघिको जस्तो अवस्था अहिले नभएको उनले बताए। व्यवसायीक रूपमा फूलको खेती हुनेदेखि ग्रामीण भेगमा पनि लगाउने प्रचलन बडेकाले फूलमा आत्मनिर्भरको बाटोमा गएको उनको अनुमान छ। अझै यो गति बढाए फूल निर्यात गर्न सक्ने अवस्था पनि आउने उनको भनाइ छ। 

बजारको अवस्था

कोभिड महामारी अघिसम्म २ अर्ब ६२ करोड वार्षिक उत्पादन हुने गरेको थियो। कोभिडपछि बजार सुध्रिँदो अवस्थामा छ। फूलको माग क्रमशः बढ्दै गएको छ। यसअनुसार उत्पादन पनि बढाउँदै लगिएको छ। वार्षिक उत्पादन संख्यामा भन्दा पनि कारोबारमा नै हेरिने भएकाले पछिल्लो आर्थिक वर्ष वार्षिक २ अर्ब ३० करोड कारोबार गरिएको थियो। कोभिडपछि निर्यातको आँकडा तल झरेको छ। कोभिड अवधि र यसपछिको निर्यात सन्तुलन बिग्रिएको छ। यसअघि भने वार्षिक निर्यात ३ करोड बराबरको कारोबार हुन्थ्यो। विशेष गरी युरोपिएन मुलुकमा फूलको गानो तथा बल्ब (फूलको दाना) निर्यात हुन्छ। तर, ताजा फूलको खासै निर्यात छैन। 

मूल्य र माग 

बजारमा तिहार लक्षित सयपत्री, मखमली र गोदावरी माग उच्च छ। सयपत्री फूललको प्रतिमालाको थोक मूल्य ५० रुपैयाँदेखि ५५ रुपैयाँ छ। यो करिब १ मिटर लामो मालाको थोक मूल्य हो। तर, यसको खुद्रा मूल्य अधिकतम सय छ। खुद्रा व्यवसायीहरूले थोक मूल्यमा फूल ल्याएपछि सबै बिक्री पनि हुँदैन। कतिपय खेर पनि जान्छ। यसकारण खेर गएको पनि जोडेर माला बेच्नुपर्ने बाध्यताले मूल्य बढी जस्तो देखिएको व्यवसायी। स्थानीय जातको ठूला २–३ मिटरमा गाँसिएको सयपत्रीको माला झन् महँगो पर्न जान्छ। ललितपुरको कोटडाँडाकी स्थानीय महिला तिहारका लागि बिक्री गर्न सयपत्री फूल टिप्दै ।  तस्बिर : अशोक दुलाल

यस्तै, भाइटीकाको दिन दाजुभाइका लागि माला लगाउन विशेष रूपमा मखमलीको प्रयोग गरिन्छ। बजारमा यस्तो मालाको थोक मूल्य ४० रुपैयाँको हाराहारीमा छ। यसको खुद्रा मूल्य भने अधिकतम ८० रुपैयाँसम्म भएको उनको भनाइ छ। यसपछि गोदावरी उपभोक्ताका चाहनाअनुसार व्यवसायीले सस्तोदेखि महँगोसम्मका माला उपलब्ध गराएका छन्। उपभोक्ताको मागअनुसार बनाए ३–४ हजार रूपैयाँ पर्नेसम्मको गोदावरीको माला तयार हुने व्यवसायीको भनाइ छ। बजारमा अघिल्लो वर्षको तुलनामा १० प्रतिशतदेखि १५ प्रतिशतसम्म फूलको माग बढेको छ। यसैले उक्त मागलाई ध्यानमा राखी उत्पादन पनि बढाउदै लगेका देखिएको संस्कृतविद् टण्डन बताउँछन्।

उत्पादन

यसवर्ष फूलल उत्पादन राम्रै भएको फूल व्यवसायीहरू बताउछन्। फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष तामाङका अनुसार यो वर्ष फूलको उत्पादन अन्य वर्षको तुलनामा राम्रो छ। यसकारण तिहारमा मात्रै २० लाख जति सयपत्रीको मात्रै मालाको कारोबार हुने अनुमान गरिएको छ। यसमध्ये १७ लाख माला नेपालकै उत्पादन रहनेछ। यसबाहेक ३ लाख जति माला मात्रै अपुगदेखिने भएकाले यति बराबरको माला भारतीय बजारबाट आयात गरेर बजार धान्नुपर्ने अवस्था रहेको देखिन्छ। ‘पछिल्लो समय हाम्रो बजारलाई अपुगभन्दा बढी नै आयात भएको देखिन्छ। तर, नाफाको हिसाबले व्यवसायीले बढी लाभ लिन खोजेके बुझिन्छ।’

उत्पादन लागतको हिसाबमा भारतको भन्दा नेपालको बढी पर्छ। भारतबाट प्रतिमाला करिब १५ रुपैयाँमा नेपाल आइपुग्छ तर नेपाली फूलको उत्पादनको लागतै खेतमै ३५ रुपैयाँदेखि ४० रुपैयाँ पर्छ। यसैले भारतको ल्याउँदा नाफा बढी हुने भएकाले व्यापारीले भारतको बढी ल्याउन खोज्छन्। तर, १५ दिनअघि भारतबाट ल्याएको माला कोल्ड स्टोरमा राखेर बिक्री गर्ने भएकाले स्वास्थ्यको दृष्टिकोणले उपभोग गर्न त्यति उपयुक्त नहुने तामाङ बताउँछन्।

पुष्प मेला र तिहार

हरेक वर्ष तिहार नजिकिएसँगै फ्लोरिकल्चर एसोसिएसन नेपालले पुष्प मेलाको आयोजना गर्दै आएको छ। यसपटक पनि जावलाखेलमा गत बिहीबारदेखि आइतबारसम्म ४ दिने प्रदर्शनी सुरु गर्‍यो। सो प्रदर्शनीमा ५५ वटा स्टल छन्। यसमा व्यावसायिक कारोबार हुने स्टल ४९ वटा, ४ वटा सूचनामूलक स्टल र २ वटा व्यवसायीलाई प्रतिस्पर्धा गराएर पुरस्कार वितरण गर्ने स्टल छ। स्टलमा फुलाएको फूलमध्ये उत्कृष्ट ३ ओटा नर्सरीलाई पुरस्कृत गरिएको छ।

व्यवसायको प्रबद्र्धन गर्न, व्यवसायीहरूलाई हौसला प्रदान गर्न र प्रतिस्पर्धाको भाव उत्पन्न गरेर गुणस्तरीय उत्पादन गर्न टेवा होस् भनेर पुष्प प्रदर्शनको आयोजना गरेको संस्थाका अध्यक्ष तामाङले बताए। यो मेलामा करिब ८० लाख बराबरको कारोबार हुने र ३७ देखि ४० लाखले अनुगमन गर्ने अपेक्षा राखिएको थियो। उनकाअनुसार शनिबारसम्मको कारोबार नै ६५ लाख रुपैयाँभन्दा माथिको भइसकेको र ३५ हजारले अवलोकन गरिसकेका छन्। अझै अन्तिम दिन आइतबारको समेत गर्दा अपेक्षा गरेभन्दा धेरै कारोबार र अवलोकन कर्ताको भ्रमण हुने उनको भनाइ छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.