बैंकको व्याजदर वृद्धि विरुद्ध बागलुङका व्यवसायीको विरोध
बागलुङ : राष्ट्र बैंकले जारी गरेको चालु पँजी कर्जासम्बन्धी मार्गदर्शन २०७९ ले व्यवसायीलाई परेको प्रभाव पारेको र बैंकहरूले व्याजदर वृद्धि गरेको भन्दै बागलुङका व्यवसायीले विरोध जनाएका छन्।
बागलुङ उद्योग वाणिज्य संघ र नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघ बागलुङले विज्ञप्ति निकालेर बैंकहरूको अनियन्त्रित व्याजदर वृद्धि रोक्न माग गरेका हुन्।
बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष नरेश कंडेलले पटक पटक व्याजदर वृद्धि गर्ने, किस्ताबन्दी रूपमा सेवा शुल्क लिई कर्जा नवीकरण गर्ने, नवीकरणको अवधिलाई त्रैमासिक बनाएर विभिन्न शीर्षकहरूमा शुल्क लिने गरेर निजी क्षेत्रका व्यवसायीहरू धारासायी हुने अवस्थामा पुगेको बताउँदै त्यसलाई तत्कालै समायोजन गर्नुपर्ने बताए।
अध्यक्ष कंडेलले बैंकहरूले विभिन्न आकर्षणहरू देखाएर निक्षेप संकलन गर्ने तर कर्जा लगानी नै नगर्ने, ऋणीको जग्गा वा सम्पती बैंकले धितो सुरक्षण गर्दा पूर्वमूल्यांकन रकमलाई एक्कासि अवमूल्यांकन गर्दै न्यून अंकको मूल्यांकन बनाएर बाँकी रकम भुक्तानीका लागि दबाब सिर्जना गराउने गरेकझ बताए।
साथै उनले ऋणि उद्यमी व्यवसायीहरूलाई आक्रान्त हुने गरी तर्साउने र मनोमानि रूपमा जरिवाना शुल्क लिने, वर्तमान कठिन परिस्थितिमा सहकार्य गर्नुपर्नेमा उल्टै लिलामी प्रक्रिया अगाडि बढाएको कारण निजी क्षेत्र धरासायी हुने अवस्थामा पुगेकाले यस्तो कार्यप्रति संघको घोर आपत्ती रको बताए।
नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघ बागलुङका अध्यक्ष भवराज बरालले नेपाल गहिरिदो आर्थिक संकट, अत्याधिक महंगी, अनियन्त्रित व्याजदरको वृद्धि र बेलाबेला व्यवसायीको ढाड सेक्ने गरी आउने वित्तीय संस्थाहरूको नियमका कारण व्यवसायी आक्रान्त भएको बताए।
उनले कोभिड-१९ ले थाला परेको व्यवसाय केही तंग्रिने अवस्थामा रहेको बेला विभिन्न वाहानामा सवैतिरबाट व्यवसायीलाई नै मर्का पर्ने आर्थिक नीति ल्याइएका कारण ज्यादै जटिल परिस्थितीसँग व्यवसायी जुध्नुपरेको बताए।
'व्यवसाय छाड्नुपर्ने अवस्था सिर्जना हुँदा समेत सरकारले वेवास्ता गरेको छ,' अध्यक्ष बरालले भने, 'सरकारले नै व्यवसायीको विषयमा ध्यान नदिएको कारण हामी व्यवसाय बन्द गर्ने वा अन्दोलनमा जाने दुवै बाध्यताको बीचमा उभिएका छौं।'
उनले सरकारी अदुरदर्शी नीति र राष्ट्र बैंकले ल्याउने झन्झटिलो नयाँ प्रावधानले व्यवसायीक क्षेत्र आक्रान्त बन्दै गएको बताए।
संघका अध्यक्ष कंडेलले राष्ट्र बैंकको नियम विपरित बैंकहरूले ३/३ महिनामा व्याजदर बढाएर व्यवसायीहरूलाई सडकमा ल्याउने काम गरेको भन्दै अब व्यवसाय बन्द गरेर तालाचावि बैंकलाई बुझाउनुपर्ने अवस्था आएको बताए।
अध्यक्ष कंडेलले व्यवसायीहरूको कार्य क्षेत्रमै बैंकका सुरक्षा गार्ड, कर्मचारी खटाएर मानसिक दबाब दिने र सामाजिक मानमर्यादामा आँच पुर्याउने कार्यप्रति गम्भीर ध्यानकर्षण भएको बताए।
'बागलुङमा बैंकका सुरक्षा गार्ड, कर्मचारी व्यवसायीको कार्यक्षेत्रमा खटाएर मानसिक दबाब दिने र सामाजिक मान मर्यादामा आँच पुर्याइएको छ,' अध्यक्ष कंडेलले भने, 'सामाजिक दुर्व्यवहार गर्दा व्यवसायीले आत्महत्या गर्ने अवस्था आउन सक्छ। त्यसैले व्यवसायीको सामाजिक मान मर्यादामा आँच पुर्याउने कार्यहरू बैंकबाट सच्चिनुपर्छ, नसच्चाए आन्दोलनमा उत्रने र आवश्यक प्रतिकार गर्नेछौं।'
बागलुङका व्यवसायीहरूले राष्ट्रिय अर्थतन्त्र संकटान्मुख भई रहेको अवस्थामा नेपाल सरकार, नेपाल राष्ट्र बैंक र सरोकारवाला निकायले तत्कालै नीतिमा परिमार्जन गरी उद्यमी व्यवसायी मैत्री राहतमुखी कार्यक्रम ल्याउन माग गरेका छन्।