मकवानपुरको त्रिखण्डी मन्दिरमा एकादशी मेला
हेटौंडा : हरिबोधिनी एकादशीका दिन शुक्रबार मकवानपुरको भीमफेदी गाउँपालिका-१, स्थित त्रिखण्डी मन्दिरमा भक्तजनको मेला लागेको छ।
कात्तिक शुक्ल एकादशीका दिन भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्वमा हरेक वर्षझैँ यसवर्ष पनि त्रिखण्डीमा मेला लागेको हो।
शुक्रबार बिहानैदेखि त्रिखण्डी मन्दिरमा ठूलो घुइँचो लागेको छ। त्रिभुवन राजपथ सडकखण्डमा पर्ने सो मन्दिरमा पूजा गर्न र फोटो भिडियो बनाई रमाउन छिमेकी जिल्ला बारा, पर्सा, चितवनबाट पनि मानिसहरु आइपुगेका छन्।
मेला अवधिभर मन्दिर परिसरमा भैंसे प्रहरीसँगको सहकार्यमा माछामासु, मदिरा बिक्री रोकिएको र जुवातास खेल्न निषेध गरिएको भीमफेदी गाउँपालिकाले जनाएको छ।
मन्दिर परिसरमा राति ८ बजेसम्म भक्तजनको घुइँचो रहने जनाइएको छ।
त्यस्तै आज मकवानपुरको थाहा नगरपालिकास्थित ऋषेश्वर मन्दिर र मकवानपुरगढिमा पनि भक्तजनको मेला लागेको छ।
आजको दिन अन्न खान नहुने मान्यता रहेकाले सखरखन्ड, पिँडालु र वनतरुल उसिनेर फलाहार गर्ने गरिन्छ। यसरी व्रत गरेमा पाप नाश भइ पुण्य एवम् मोक्ष प्राप्त हुने धार्मिक विश्वास छ।
प्रतिक्रिया दिनुहोस !