नेता बहिष्कार क्षेत्रमा एमालेको प्रवेश

नेता बहिष्कार क्षेत्रमा एमालेको प्रवेश

विराटनगर : विराटनगर महानगरपालिका-४ र ५ को सिमानामा पर्ने जामुनगाछी एक वर्षदेखि राजनीतिक दल र नेता बहिष्कार अभियान चलाइएको क्षेत्र हो। 

दल र नेताका कारण विकास निर्माणमा पछाडि पारिएको भन्दै नेताहरुको फोटोसहितको ब्यानर टाँगेरै स्थानीयले बहिष्कार अभियान चलाएका छन्। त्यही कारण आगामी प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको माहोल तातेर जाँदा पनि मोरङको निर्वाचन क्षेत्र नम्बर ६ अन्तर्गत पर्ने जामुगाछी भने चुनावी कार्यक्रमविहीन बनेको थियो। 

चुनावको मिति नजिकिँदै जाँदा पनि स्थानीयको बहिष्कारका कारण दल तथा उम्मेदवारहरु जामुनगाछी क्षेत्रमा जान सकेका थिएनन्। 

जामुनगाछी विगतका चुनावमा दलका नेता, कार्यकर्ता र उम्मेदवारको जमघट धेरै हुने स्थानभित्र पर्छ। बहिष्कार अभियान चलाएर स्थानीयले आन्दोलन जारी राखेपछि गत स्थानीय तह निर्वाचनमा पनि जामुगाछी क्षेत्रमा चुनावी कार्यक्रम आयोजना भएनन्। आगामी निर्वाचनका लागि विभिन्न ठाउँमा मतदाता भेटघाट, घरदैलो, कोणसभा लगायतका चुनावी कार्यक्रम गरिरहेका दल र उम्मेदवारहरु जामुनगाछी प्रवेश गर्न सकिरहेका थिएनन्।

राजनीतिक गतिविधि शून्य रहेको जामुनगाछीमा नेकपा (एमाले)ले भने शनिबार बिहान कोणसभा गरेको छ। स्थानीयको मागलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाउँदै सार्वजनिक हिसाबको चुनावी एवं राजनीतिक कार्यक्रम लिएर आफ्ना उम्मेदवारसहित एमाले जामुनगाछी प्रवेश गरेको हो। 

कोणसभामा प्रतिनिधिसभा सदस्यका उम्मेदवार एवं एमाले स्थायी कमिटी सदस्य लालबाबु पण्डित, क्षेत्र नम्बर ६ 'क'की प्रदेशसभा उम्मेदवार रीता न्यौपाने र ६ 'ख'का पर्शुराम बस्नेत (कृष्ण) लगायत उपस्थित थिए। 

स्थानीयको मागलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाएका कारण एमालेलाई चुनावी कोणसभा आयोजना गर्न दिइएको बहिष्कार अभियानका संयोजक उत्तम दाहालले बताए। 

'राजनैतिक दल र नेताहरुकै कारण कोसी राजमार्ग पश्चिमको क्षेत्र विकास निर्माणबाट पछि पर्‍यो। समान विकासको माग राखेर हामीले आन्दोलन थालेका थियौं। दल र नेतालाई लक्षित गरेर बहिष्कार अभियान चलायौं,' उनले भने, 'चुनावका बेला बहिष्कारमै परेपछि भने स्थानीयको मागलाई सम्बोधन गर्ने आश्वासन आएको छ। एमालेले विकास निर्माणलाई तीव्र गतिमा अघि बढाउने प्रतिवद्धता जनाएको छ। त्यही भएकाले कार्यक्रम गर्न दिइएको हो।' 

राजमार्ग पश्चिम क्षेत्रको विकासमा चासो नदिने दल र नेतालाई भने जामुनगाछी प्रवेश गर्न नदिइने दाहालको भनाइ छ। कोणसभापछि स्थानीयको प्रतिनिधित्व गर्दै अगुवा महिला लक्ष्मी थापाले एमालेका उम्मेदवारलाई २३ बुँदे मागपत्र बुझाएकी छन्। 

विकास निर्माण, शिक्षा, स्वास्थ्य, रोजगारी लगायतसँग सम्बन्धित विषयलाई समेटेर मागपत्र बुझाइएको संयोजक दाहालले बताए। उनका अनुसार एमाले उम्मेदवारले स्थानीयको माग पूरा गर्ने प्रतिबद्धता जनाएका छन्। 

कोणसभालाई सम्बोधन गर्दै नेता लालबाबु पण्डितले विकासका लागि राजनीतिक स्थायित्व आवश्यक रहेको बताए। 
'अहिलेको सत्ता गठबन्धन विकास विरोधी हो। गठबन्धनबाट राजनीतिक स्थायित्व हुँदैन,' उनले भने, 'नेकपा एमालेको सरकार हुँदा विकासका धेरै कामहरु भएका थिए। मैले पनि मेरो क्षेत्रमा अन्य क्षेत्रको भन्दा धेरै विकासका योजना र बजेट ल्याउन पाएँ।'

आफूले निशंकोच स्रोत जुटाइदिएको बताउँदै पण्डितले स्थानीय तहहरुले प्रभावकारी भूमिका निर्वाह नगर्दा बजेट फ्रिज भएको गुनासो पोखे। 

'धेरै अधिकार स्थानीय तह र वडालाई हुन्छ। मैले त स्रोत जुटाउन पहल गर्ने हो,' उनले भने, 'कार्यान्वयन स्थानीय तहबाट हुने हो। तर काम नभइकन आयोजनाको बजेट फ्रिज हुँदा जनताको गाली चैँ मैले खानु परिरहेको छ।' आफ्नो क्षेत्रमा बजेट धेरै ल्याउन सफल भए पनि फ्रिज भएर जाँदा दुःख लागेको उनले बताए। 

क्षेत्रीय विमानस्थलका रूपमा निर्माण अघि बढेको विराटनगर विमानस्थलको काम गठबन्धन सरकारले रोकेको पण्डितको आरोप छ। 

विकासका लागि एकल बहुमत आवश्यक रहेको बताउँदै उनले एमाले नेतृत्वमा सरकार बन्नेवित्तिकै विमानस्थलको काम अघि बढ्ने उल्लेख गरे। जामुनगाछीको सडक निर्माण बजेटका कारण नभइकन ठेकेदारले काम नगर्दा रोकिएको उनले बताए। 

विराटनगरको वीरेन्द्र सभागृहका लागि ल्याएको करोडौं बजेट एक रुपैयाँ पनि खर्च नभइकन फिर्ता गएको जानकारी पण्डितले दिए। अपूरा काम पूरा गर्न फेरि आफू उम्मेदवार बनेर जनतासमक्ष आएको उनको भनाइ छ। 

बूढी खोला नियन्त्रण, खनार-नेता चोक मूल नहरको सडक कालोपत्रे लगायतका काम र विकासका लागि आफूलाई पुनः चुनाव जिताउन पण्डितले आग्रह गरेका छन्। 

क्षेत्र नम्बर ६ 'ख'तर्फ प्रदेशसभाका उम्मेदवार पर्शुराम बस्नेत (कृष्ण)ले आफ्नो क्षेत्रमा पर्ने ६ वटै वडाका आधारभूत स्वास्थ्य केन्द्रमा दक्ष चिकित्सकको व्यवस्था गर्ने प्रतिबद्धता जनाएका छन्। 

'महानगरभित्रका धेरै वडाका स्वाथ्य केन्द्रहरु नर्सको भरमा सञ्चालन भइरहेका छन्,' उनले भने, 'म निर्वाचित भइसकेपछि सबै केन्द्रमा डाक्टरको व्यवस्था गर्ने प्रतिबद्धता जनाउँछु।' 

बस्नेतले जनताको साथ पाएर नै आफू उम्मेदवार बनेकाले जनताको अपेक्षा र आशामा कहिल्यै चोट पुग्न नदिने बताए। आफ्नो क्षेत्रका बारेमा आफू परिचित रहेकाले पनि जनताको काम गर्न कुनै समस्या नहुने उनको भनाइ छ। 

चुनावमा निर्वाचित भएपछि जामुनगाछी सडकको समस्या समाधानमा आफू केन्द्रित हुने प्रतिबद्धता बस्नेतले जनाएका छन्। 
साथै प्रत्येक वडामा वृद्धवृद्धाका लागि ज्येष्ठ नागरिक भवन निर्माण, तिर्थाटन लगायतका काम आफूले गर्ने उनले बताए। 
'जनप्रतिनिधि भएपछि आफूले गर्न सक्ने काम मात्र भन्दै आएको छु,' उनले भने, 'म आश्वासन मात्र बाँड्दिन गर्न सक्ने काम मात्र बोल्छु र गरेर देखाउँछु। भोलिका दिनमा जनताले गुनासो गर्ने ठाउँ राख्दिन।' 

६ 'क' की उम्मेदवार रीता न्यौपानेले आफूले जिते स्वरोजगारलाई नितिगत रुपमा अगाडि बढाउने बताइन्। आफ्नो क्षेत्रमा साना तथा मझौला उद्योग स्थापना गरेर युवाहरुलाई रोजगारी दिने योजना रहेको उनको भनाइ छ। आफूले महिलालाई मनमा, वृद्धवृद्धालाई शीरमा र युवालाई साथसाथै लिएर हिँडेको न्यौपानेले बताइन्। 

यसअघि जामुनगाछीमा बिहीबार रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि चुनावी कोणसभाको आयोजना गरेको थियो। लामिछानेले सम्बोधन गरेको कोणसभामा स्थानीयले कुनै अवरोध गरेनन्। 

टेलिभिजन कार्यक्रममार्फत स्थानीयको आन्दोलनलाई राष्ट्रिय मुद्दा बनाउन सहयोग गरेका कारण लामिछानेको चुनावी कोणसभामा असहयोग नगरिएको संयोजक दाहालको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.