‘भोट चाहिए मल देऊ’

‘भोट चाहिए मल देऊ’

परासी : निर्वाचन नजिकिँदै गर्दा उम्मेदवार मतदातासँग भेटघाट, घरदैलो, आमसभासहित प्रचारमा व्यस्त छन्। चुनावी एजेन्डा लिएर मत मागिरहेका छन्। नवलपरासी–२ मा मत माग्न पुगेका उम्मेदवारसँग मतदाताले पहिला आफूहरूलाई मल र जग्गा स्वामित्वको लालपुर्जा उपलब्धको प्रतिबद्धता जनाउनुपर्ने सर्त राखेका छन्। उम्मेदवारका अधिकांश एजेन्डा भने पुरानै छन्। 

रामग्राम नगरपालिका–१४ को ऐंचावल पुगेका नेपाली कांग्रेस उम्मेदवार देवेन्द्रराज कँडेलसँग आँगनमा राखेको धान देखाउँदै मतदाताले ‘मल नपाउँदा उब्जनीमा कमी आएको भन्दै अब मल पाइन्छ कि पाइँदैन’ भन्दै प्रश्न गरे। उत्तरमा कँडेलले भने ‘पहिलाभन्दा मलका लागि अहिले सहज बन्दै गएको छ। फास्ट ट्र्याकबाट मल ल्याउन टेन्डर भइसकेको छ। अब किसानले धेरै समस्या झेल्नु पर्दैन।’ आफ्नै देशमा मल कारखाना नभएसम्म अरूको भर पर्नुले सरकारी अनुदानमा कारखाना राख्ने उद्योगीलाई प्रोत्साहन गर्न कार्यक्रम ल्याइने उनले दाबी गरे। 

सुनवल र रामग्राम नगरपालिका तथा पाल्हीनन्दन र सरावल गाउँपालिकाको तीन वटा वडा पर्ने यस क्षेत्रका ८० प्रतिशत नागरिक आश्रित छन्। तराई क्षेत्रमा पुगेका उम्मेदवारसँग मतदाताले मलको समस्या राखे भने राजमार्ग क्षेत्रमा पुगेकासँग लालपुर्जाको समस्या राखे। ४० हजारभन्दा बढी अव्यवस्थित र सुकुम्बासी भूमिहीनहरू छन्। जसमा सुनवल नगरपालिकामा सबैभन्दा बढी यो समस्या छ।

सुकुम्बासी बस्तीमा मत माग्न पुगेका कँडेलले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी समस्या समाधानका लागि गठबन्धन सरकारले आयोग गठन गरेर जिल्लामा काम गर्न पठाएको केही समयमै निर्वाचन आचारसंहिता लागेकाले काम हुन नसकेको र चुनावपछि समस्या समाधान हुने आश्वासन दिए। मत माग्न पुगेका कँडेलले मात्र होइन उनीसँग प्रमुख प्रतिस्पर्धीका रूपमा देखिएका एमालेका दीपेन्द्र अधिकारी र राप्रपाका उम्मेदवार धु्रवबहादुर प्रधानसँग पनि मतदाताले मल र पुर्जाकै समस्या राखे। यस क्षेत्रबाट १० दल र ८ स्वतन्त्र गरी १८ जनाले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका छन्। एमाले उम्मेदवार अधिकारी र राप्रपा उम्मेदवार प्रधानले पनि किसानको मल र सुकुम्बासीको पुर्जाका लागि पहल गर्ने बताएका छन् । कांग्रेसलाई सत्ता गठबन्धनको साथ छ। एमालेले जसपासँग गठबन्धन गरेको छ । 

राप्रपाले लोसपासँग तालमेल गरेर चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। तीन पटकसम्म यस क्षेत्रबाट चुनाव जिताएको भन्दै कांग्रेस उम्मेदवार कँडेलसँग मतदाताहरूले अहिलेसम्म गरेका कामको फेहरिस्त र आगामी योजनाका बारेमा जिज्ञासा राखेका थिए। मतदातासँगको उत्तरमा कँडेलले महेशपुर भन्सारलाई ठूलो भन्सार स्थापनादेखि महेशपुर, भुताहा सडक निर्माण, अन्य ठूला सडक र पूर्वाधारलगायतका काम सम्पन्न भएको र विकासका लागि तय गरेका एजेन्डा प्रस्तुत गरेका थिए। कँडेलले यस क्षेत्रबाट यो सँगै ६ पटक चुनाव लडेका हुन्। जसमा तीन पटक जितिसकेका छन्।

किसान र सुकुम्बासीका स्थानीय समस्याबाहेक मतदाताहरूले सडक, विद्युत्लगायतका काम प्रदेश र स्थानीय सरकारबाट हुन थालेको भन्दै स्थानीय स्तरमै रोजगारी सिर्जना, प्राविधिक शिक्षा, सुविधा सम्पन्न अस्पताल निर्माणलगायतका समस्या सम्बोधन गर्न घरदैलो र चुनावी कार्यक्रममा सहभागी भएका उम्मेदवारसँग माग गरेका थिए। तर उम्मेदवारहरूको चुनावी एजेन्डामा भने पूर्वाधार, सडक निर्माण र विद्युत्लगायतलाई बढी प्राथमिकतामा राखेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.