झोलुंगे पुल तर्न पैसा तिर्नुपर्ने, स्थानीयलाई छुट
भक्तपुर : भक्तपुरको सूर्यविनायक नगरपालिकामा रहेको एउटा झोलुंगे पुल तर्न सर्वसाधारणले टिकट काट्नुपर्ने भएको छ।
नगरपालिकाको वडा नं. ९ र १० को सिमाना साँगामा बनाइएको झोलुङ्गे पुल तर्न २० रुपैयाँ तिर्नुपर्ने भएको हो। सरकारी बजेटबाट बनेको पुलमा नगरपालिकाले ठेक्कामा दिई पैसा उठाउन थालेको हो।
वार्षिक ३६ लाख रुपैयाँमा रविचन्द्र कन्स्ट्रक्सनलाई ठेक्कामा दिइएको छ। ठेक्का पाएको कम्पनीले अहिले पुल पुग्नका लागि प्रतिव्यक्ति २० रुपैयाँ उठाउने गरेको छ।
पुल तर्न सर्वसाधारणले टिकट काट्नुपर्ने भएपछि आलोचना हुन थालेको छ।
पुलका लागि मात्रै ठेक्का लगाइएको भए पनि त्यहाँ पुग्न चाहने सवारीधनीहरूले जंगलको बाटामा पार्किग गर्दा पनि दुईपांग्रे मोटरसाइकलको २० रुपैयाँ पार्किग शुल्क तिर्नुपर्छ। चारपांग्रेका लागि पनि ४० रुपैयाँ पार्किग शुल्क लगाइएको छ।
पुल तर्न आएका रामप्रसाद गिरीले सरकारले बनाएको पुलमा नगरपालिकाले टिकट लगाउनु उचित नभएको बताउँछन्। 'यो मेरा लागि मात्रै होइन, सबैका लागि उचित छैन,' उनले भने।
झन जंगलको बाटामा यतिकै पार्किङ गर्दा थप पैसा तिर्नुपर्दा दोब्बर घाटा भएको उनको भनाइ छ। यसबाट जसरी पनि पैसा कमाउने नियत राखेको देखिएको उनको विश्लेषण थियो।
यो क्षेत्रमा सार्वजनिक बिदामा दैनिक हजारौँ मानिस पुलमा आउने गर्दछन्। यो उपत्यकाकै सबैभन्दा लामो झोलुंगे पुल रहेको बताइएको छ। यसको लम्बाइ दुई सय २५ मिटर रहेको छ।
पुल निर्माण गरिएको वडा नं. ९ र १० का स्थानीयले पुल प्रयोग गरेबापत शुल्क तिर्नु नपर्ने जनाएको छ। तर स्थानीय र गैरस्थानीय भनेर चिन्ने आधार काठमाडौंको ठेकेदारले कसरी पहिचान गर्ने हुन् त्यसको कुनै आधार छैन। साथै सूर्यविनायक नगरपालिकाका बासिन्दालाई ५० प्रतिशत छुट दिइएको जनाएको छ।
यो पुलमुनि खोला भएर बनाइएको होइन। साथै मानिस आवातजावत गर्न समस्या भएकाले बनाइएको पनि होइन बरु दुईवटा डाँडालाई जोड्न मात्रै बनाइएको हो।
पुल तरेर पुगेपछि साँगामा रहेको अग्लो महादेव मन्दिर पुगिन्छ, जुन निजी व्यक्तिले बनाएका हुन्। महादेव मन्दिरभित्र जान पनि टिकट काटनु पर्छ।
यस हिसाबले पुल बनाउनुको उद्देश्य महादेव मन्दिर समूहको पर्यटक बढाउने योजनालाई सफल बनाउन सहयोग गर्ने उद्देश्य हो कि भन्ने पनि अनुमान गरिएको छ।
नगरपालिकाका प्रवक्ता रवीन्द्र सापकोटाले पर्यटन क्षेत्रको विकासका लागि शुल्क लिने गरिएको तर्क गरे। पर्यटकका लागि थप भौतिक पूर्वाधारको विकास गराउने योजना रहेको उनले सुनाए।
केही समयमै भ्यु प्वाइन्ट, शौचालय लगायतका सुविधा बढाउने योजना रहेको उनले सुनाए। सो पुल ७० लाखको बनेको थियो।
प्रतिक्रिया दिनुहोस !