पाकिस्तानविरुद्ध १४ वर्षपछि जितको खोजीमा नेपाल

पाकिस्तानविरुद्ध १४ वर्षपछि जितको खोजीमा नेपाल

काठमाडौं : नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक प्रवेश कटुवालले पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलमा आफैँले टिम छनोट गर्ने र नतिजाको जिम्मेवारी पनि आफैंले लिने बताएका छन्। 

नेपालले सन् २०१८ पछि पहिलो पटक पाकिस्तानसँग खेल्दैछ। फिफाको प्रतिबन्धमा परेको पाकिस्तान तीन वर्षपछि अन्तर्राष्ट्रिय फुटबलमा पुनरागमन गर्दैछ।

बुधबार दशरथ रंगशालामा साँझ ५ बजे सुरु हुने खेलमा नेपाल २००८ पछि पहिलो पटक पाकिस्तानविरुद्ध जित निकाल्ने लक्ष्यमा हुनेछ। 

सोही खेलअघिको पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक कटुवालले ट्रेनिङमा राम्रो गर्ने खेलाडीलाई सुरुआती ११ मा स्थान दिने बताए।

'छोटो समयमा राम्रो टिम बनाउने दबाब थियो,' मछिन्द्र क्लबलाई लगातार ए डिभिजन लिग च्याम्पियन बनाएर राष्ट्रिय टिमको प्रशिक्षक बनेका कटुवालले भने, 'त्यसैले बंगलादेशविरुद्ध खेलेका धेरै खेलाडी समेटेर हुन सक्ने बलियो टिम बनाएको छु।'

पाकिस्तानविरुद्ध सुरुआती ११ मा खेलाडी छनोटमा दबाब नहुने बताउँदै उनले भने, 'ट्रेनिङमा राम्रो गर्ने खेलाडीले नै मौका पाउँछ, म प्रशिक्षक भएकाले निर्णय पनि मेरो हुन्छ, र नतिजाको जिम्मेवारी पनि म नै लिन्छु।'

सन् २००८ मा माल्दिभ्सको मालेमा भएको साफ च्याम्पियनसिपमा ४-१ गोलको नतिजामा जित निकाले यताका पाँच खेलमा नेपाल पाकिस्तान जितविहीन छ। 

स्थाई प्रशिक्षकको अभावमा मौका पाएका प्रशिक्षक कटुवालसामु पछिल्लो समय नेपालको खराब इतिहासमा पूर्णविराम लगाउने अवसर छ। र, यो मौका नगुमाउने तयारीमा छन्, प्रशिक्षक कटुवाल।

'हरेक प्रशिक्षकले करिअर सुरु गर्दा नै राष्ट्रिय टिम हेर्न सपना हुन्छ, मैले यो अवसर अहिले पाएको छु, मेरो खुशीको सीमानै छैन,' प्रशिक्षक कटुवाल भन्छन्, 'पाकिस्तानले पछिल्लो तीन वर्षमा एकै टिम भएर खेलेको छैन। उनीहरूका खेलाडी राम्रा छन्।'

तर, लामो समयदेखि एउटै टिममा नखेलेका खेलाडी भएकाले त्यसैअनुसार तयारी गरेको प्रशिक्षक कटुवालले बताए।

नियमित कप्तान किरण चेम्जोङको अनुपस्थितिमा नेतृत्व गर्ने मौका पाएका रोहित चन्दले पाकिस्तान नेपालका लागि सधैँ कठिन प्रतिस्पर्धी हुने बताएका छन्। 

भोलि दशरथ रंगशालामा पहिलो पटक आर्म ब्यान्ड लगाउने तयारीमा रहेका रोहितले आफू कप्ताननै बन्छु भन्ने कहिले नसोचेका बताए।

'हाम्रो तयारी राम्रो छ, तर नेपालका लागि पाकिस्तान सँधैँ कठिन प्रतिस्पर्धी हुने गरेको छ,' कप्तान रोहितले भने, 'पहिलो पटक कप्तान बनेको छु, तर, मैले यसलाई धेरै ठूलो कुराको रुपमा लिएको छैन। देशको प्रतिनिधित्व गर्नु नै ठूलो कुरा हो।'

पछिल्लो समय राष्ट्रिय खेलाडीको अस्ट्रेलिया पलायनबारे बोल्दै रोहितले भने, 'घरेलु फुटबलको संरचना राम्रो भएको भए, सबै जना यहीँ खेलिरहेका हुन्थे। राष्ट्रिय टिम पनि राम्रो हुन्थ्यो, बलियो हुन्थ्यो। राम्रा खेलाडीहरू पलायन हुँदैछन्, यसले नेपाली फुटबल अप्ठेरो अवस्थामा पुग्न सक्छ। तर, भएकामध्ये टिम राम्रो बनेको छ।'

पाकिस्तानले लामो समय नखेलेको भए पनि नेपालका लागि कठिन प्रतिस्पर्धी रहेको दोहोर्याउँदै रोहितले भने, 'हामी आफ्नो उत्कृष्ट दिन्छौं।'

यस्तै, पाकिस्तानी राष्ट्रिय टिमका प्रशिक्षक सहजाद अनवारले भोलिको खेला राष्ट्रिय टिम निर्माणको एक प्रक्रियाको रुपमा मात्रै लिएको बताए।

'हाम्रा खेलाडीले राष्ट्रिय टिमबाट लामो समयदेखि नखेले पनि घरेलु फुटबल खेलिरहकै छन्,' प्रशिक्षक अनवारले भने, 'धेरै खेलाडी विदेशबाट आएका धेरै खेलाडी छन्।'

सन् २०१९ मा कतारको दोहामा प्यालेस्टाइनविरुद्ध १-२ ले पराजित भएपछि पाकिस्तान अन्तर्राष्ट्रिय मञ्चमा अनुपस्थित छ। 

तेस्रो पक्षको हस्तक्षेपका कारण विश्व फुटबलको सर्वोच्च निकाय फिफाले पाकिस्तानमाथि प्रतिबन्ध लगाएको थियो। उक्त प्रतिबन्ध गत जुन अन्त्यमा फुकुवा भएपछि खुला छनोटबाट टिम बनाएर तयारी गरिरहेको छ।

त्यसैले नेपालविरुद्धको खेल सोही टिम निर्माणकै प्रक्रियाका रूपमा लिएको प्रशिक्षक अनवारले बताए। 

'यो कुनै प्रतिस्पर्धा होइन, त्यसले गर्दा हामीले यो खेललाई टिम निर्माणको प्रक्रियाका रूपमा लिएका छौं,' खेलअघिको पत्रकार सम्मेलनमा उनले भने, 'पाकिस्तानले टिम भएर नखेले पनि व्यक्तिगत प्रदर्शन राम्रो छ, सबै क्षमतावान् खेलाडी छन्।'

पाकिस्तानी टिमका कप्तान हसन बसिरले नेपाली समर्थकासामु खेल्न उत्साहित रहेको बताए।

'नेपालसँग धेरै पटक खेलेको छु,' उनले भने, 'नेपाली फुटबल समर्थक उत्साहित हुन्छन्। तर, त्यसलाई सामान्यरुपमा लिएका छौं।'

हेड टू हेडमा को बलियो ?

नेपालले हालसम्म पाकिस्तानसँग खेलेका १६ खेलमध्ये पाँच खेलमा जित निकालेको छ भने ६ खेलमा बराबरी नतिजा निकालेको छ। बाँकी पाँच खेलमा पाकिस्तान विजयी भएको छ।

सन् २०१८ मा बंगलादेशको ढाकामा साफ च्याम्पियनसिपमा नेपाल र पाकिस्तानको अन्तिम भेट भएको थियो। जुन खेलमा पाकिस्तानले २-१ को जित निकाल्दा नेपालका लागि विमल घर्ती मगरले गोल गरेका थिए।

त्यसअघि सन् २०१३ मा नेपालमै भएको साफ च्याम्पियनसिपमा नेपाल र पाकिस्तानले १-१ गोलको बराबरी खेलेका थिए। निर्धारित ९० मिनेटसम्म १-० ले पछि परेको नेपालका लागि इन्जुरी समयमा विमलघर्ती मगरले गोल गर्दै हारबाट जोगाएका थिए।

सन् २०१३ मै भएका दुई मैत्रीपूर्ण खेलमा नेपाल दशरथ रंगशालामा पराजित भएको थियो। दुवै खेलमा पाकिस्तानले १-० को जित निकालेको थियो।

भारतको नयाँ दिल्लीमा २०११ मा भएको साफ च्याम्पियनसिपमा नेपाल र पाकिस्तानले १-१ गोलको बराबरी खेलेका थिए। 
त्यसअघि सन् २००८ मा भने माल्दिभ्समा साफ च्याम्पिनयनसिपमा नेपालले ४-१ को जित निकालेको थियो। सोही खेलमा नेपाली राष्ट्रिय टिमका सयुक्त सर्वाधिक गोलकर्ता निराजन रायमाझीले नेपालका लागि १३औं गोल गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.