'मधेसी नेताकै कारण मधेसका मुद्दा कमजोर भएका हुन्'

'मधेसी नेताकै कारण मधेसका मुद्दा कमजोर भएका हुन्'

सर्लाही: सर्लाहीको हरिपूर्वामा २०११ सालमा जन्मिएका महेन्द्र राय यादवले २०३७ सालमा कम्युनिस्ट पार्टीको सदस्यता लिएर राजनीति सुरु गरे । उनले पहिलोपटक २०४८ मा चुनाव लडे । २०५१ र २०५६ मा नेकपा एमालेको तर्फबाट उनी सर्लाहीबाट निर्वाचित भए । २०६२/०६३ को जनआन्दोलनपछि तराई-मधेस लोकतान्त्रिक पार्टीमा लागे । त्यसपछिका सबै निर्वाचनमा निर्वाचित बनेका उनी यसपटक अन्तिम चुनाव भन्दै भोट माग्ने दौडधुपमा छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाल समाजवादी पार्टीका अध्यक्ष यादवसँग अन्नपूर्णकर्मी सुनिल ठाकुरले गरेको कुराकानीः

चुनावी मैदानमा कस्ता खालका गुनासा सुन्नु भएको छ ?

विकास निर्माणसँग जोडिएका पुराना योजना र नयाँ योजनाका बारेमा गुनासा आउँछन् । शिक्षा, स्वास्थ्य, कृषिको विकासमा जनताले बढी प्रश्न गरेका छन् । हुलाकी सडकको स्तरोन्नतिको विषयमा पनि आउँछ ।

तपाइँका जित्ने आधार के के छन् ?

जनताबाट अनुमोदित भएको सत्ता गठबन्धन नै जित्ने सबैभन्दा ठूलो आधार हो । लामो समयको यात्रा गर्न गठबन्धन बनेको छ । यसमाथि जनता विश्वास र भरोसा छ । राजनीतिक स्थिरता ल्याउने, सुशासन कायम गराउने, जनताका इच्छा र आकांक्षा पूरा गराउने गठबन्धन भएकाले जनताले मलाई भोट दिन्छन् । म चुनाव जित्छु । नेपाल समृद्ध हुन्छ । वाम र प्रजातान्त्रिक गठबन्धन बनेको छ । विकासका काम यो क्षेत्रमा सबैभन्दा बढी गरेको छु ।

मधेस केन्द्रित दलको दुई ठूला नेता एउटै क्षेत्रबाट किन चुनाव लड्नु भयो ?

जुन बेला यो संविधानमाथि खतरा थियो । केपी ओलीले संविधानलाई समाप्त पार्न खोजे । त्यतिखेर लोसपा उनकै साथमा गए । हामी अदालतमा संविधान बचाउन मुद्दा लड्दै थियौं । लोसपा प्रतिगामी कित्तामा गयो । ओलीसँग घाँटी जोडेर १८ दिने मन्त्री पनि पाए । मधेसको माग र पहिचान नेताले बिर्सिए । सबै मधेसबादी नेता वंशवाद र परिवारवादमा लागे । मधेस आन्दोलनको ब्याज खानेहरू भए । उपेन्द्र यादव सबैभन्दा बढी ब्याज खाने नेता हुन् । उनले धनुषा ३ बाट चुनाव जिते पनि गठबन्धनमा जो जहाँबाट चुनाव जितेको हो त्यहाँबाट चुनाव लड्ने भनेर सहमति भएको हो । धनुषा ३ बाट चुनाव जित्ने आधार नभएपछि पर्यटक उम्मेदवार बन्न यता आएको बुझेको छु । मसँग चुनाव हारेको मान्छे हो । फेरि किन मेरै प्रतिद्वन्द्वी ?

आफ्नो पार्टीको चुनाव चिह्न छोडेर माओवादीको चुनाव चिह्न लिएर किन चुनाव लड्नु भयो ?

जसपा पार्टी एकताका लागि अन्तिमसम्म प्रयास गर्‍यौँ । उपेन्द्र यादवले यस्तो गर्छन् भन्ने विश्वास थिएन । एकात्मक चरित्रका कारण बाध्य भएर हामी अलग भयौं । एकातिर चुनावको घोषणा हुँदै थियो । हामी पार्टी दर्ताको प्रक्रियामा थियौं । हामी आफ्नो पार्टीको चुनाव चिह्न लिएर लडेको भए हाम्रो समानुपातिक मत सफल हुँदैनथ्यो । त्यो समानुपातिकलाई संरक्षण गर्न माओवादीको चुनाव चिह्न लिएका हौं । नत्र मधेसवादी दलको थ्रेसहोल्ड बच्दैन । समानुपातिक मत सदर गर्न पनि माओवादीको चुनाव लिएका हौं । अब क्षेत्रीयभन्दा राष्ट्रिय पार्टीको आवश्यकताा देशमा छ । त्यही भएर हसियाँ हथौडाबाट चुनाव लडेका छौं ।

अब मधेसका माग पूरा होलान् ?
पार्टीभित्र मधेसी नेताहरूको हैकमवादी चरित्र, नेतृत्वको अभाव, एकात्मक चरित्रका कारण पार्टीहरू अलग भएका हुन् । सामूहिक नेतृत्वमा पार्टी चलेन । मधेसी नेताकै कारण मधेसका मुद्दा कमजोर भएका हुन् । त्यसैले अब राष्ट्रिय पार्टी चाहिन्छ । गठबन्धन सरकारले मधेसका माग पूरा गर्छ ।

सत्ता बाहिर हुँदा मधेसीहरूको अधिकारको कुरा गर्नुहुन्छ । सत्तामा पुगेपछि यो मुद्दालाई किन बिर्सनुहुन्छ ?

एमालेको दुई तिहाइको सरकार हुँदा पनि मधेसको माग र मुद्दा पूरा गराउन एक वर्षसम्म समर्थन गर्‍यौँ । समयको पहिचान गर्नुपर्छ । सत्तामा जान हतार गर्नु हुँदैन । अनि आफू पनि लड्ने, छोरा पनि लड्ने प्रवृत्तिले मधेसका मुद्दा ओझेलमा परेका हुन् । ८ बुँदे र १२ बुँदे सम्झौता, सत्यनिरूपण आदि काम बाँकी छन् । नागरिकताको समस्या पनि समाधान हुन्छ ।

संविधान संशोधनको एजेन्डा कता पुग्यो ?
कतै हराएको छैन । गठबन्धनको नेतृत्वमा सरकार बनेपछि नयाँ राष्ट्रपति पाउँछ । संविधानमा उल्लेख हुनुपर्ने जति पनि माग र मुद्दा  सबै पूरा हुन्छन् ।

पटक पटक मन्त्री बन्नु भयो, तर यसै क्षेत्रको विकास गर्नु भएन नि ?
हुलाकी राजमार्ग राष्ट्रिय गौरवको योजना हो । राष्ट्रिय गौरवको योजनामा फिर्ता ल्याउन तीन वर्ष लाग्यो । दुई वर्ष कोरोनाको कारणले काम हुन सकेन । टेन्डर, मापदण्ड आदिले अल्झायो । ठेक्का काठमाडौंका कम्पनीले लिन्छन् । यस्तै थुप्रै कारण छन् । रूस–युक्रेन युद्धले अन्तर्राष्ट्रिय रूपमै मलको हाहाकार भयो । तराईमा नहुने कुरो भएन । सिँचाइ सुविधा पुर्‍याउन सुनकोसी मरिण डाइभर्सनको काम हुँदैछ ।

चुनाव जितेपछि माओवादीमा प्रवेश गर्नुहुन्छ कि ?
हामी अलग पार्टी हौं । चुनावमा सहमति गर्दा पनि चुनाव चिह्न लिने कुरा भएको हो । चुनावपछि पनि समाजवादी पार्टीमै हो ।

मधेस आन्दोलनको मुख्य माग संघीयता प्राप्तिपछिका उपलब्धि के छन् ?
खासै उपलब्धि हुन सकेन । देशमा एउटा शक्ति अहिले पनि संघीयता हत्याउने दाउमा छ । हामी सत्य, न्याय र संविधान रक्षाका लागि लड्दैछौं । प्रदेशको नामकरण र स्थानीय चुनाव भयो । प्रदेशले मान्यता प्राप्त गरेको छ । योजनाअनुसार काम भएको छैन ।

अन्त्यमा के भन्नुहुन्छ ?
यो मेरो अन्तिम चुनाव हो । जनतासँग निवदेन गर्छु कि मलाई जिताएर बिदाबारी गरिदिनुस् । शिक्षा, स्वास्थ्य, कृषि र सडक विस्तारका काम पूरा गर्नेछु ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.