धमाधम मतदानस्थल निर्माण गरिँदै
हेटौंडा : भोलि हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको निर्वाचनका लागि मकवानपुरका मतदान केन्द्रहरूमा मतदानस्थल निर्माण तथा व्यवस्थापनको कार्यलाई तीव्र पारिएको छ।
जिल्लाको ३६४ वटै मतदान केन्द्रमा कर्मचारी, तथा सुरक्षाकर्मीहरूले मतदानस्थल निर्माण तथा व्यवस्थापन गरिरहेको मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले जानकारी दिए।
मतदान केन्द्रहरूमा बाँस गाड्ने, डोरी टाँग्ने, मतदानस्तल सम्माउने, मतदान गर्ने कक्षलाई गोप्य एवम् सुरक्षित बनाउने, मतदाता प्रवेश गर्ने र मतदानपश्चात बाहिर निस्कने मार्ग बनाउनेलगायत कार्य तीव्र पारिएको उनले बताए।
मतदान केन्द्रमाहरूमा कर्मचारी, सुरक्षाकर्मीसँगै मतपत्र, मतदान पेटिकालगायत अन्य आवश्यक सामग्रीहरू पुगिसकेको उनको भनाई छ। आज साँझसम्ममा मतदानस्थल निर्माण र व्यवस्थापनको कार्य पनि सम्पन्न हुने उनले बताए।
जिल्लामा निर्वाचनलाई पारदर्शी र शान्तिपूर्ण तवरले सम्पन्न गर्नका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र म्यादी प्रहरीसमेत गरी ३ हजार ५ सय सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरका सूचना अधिकारी हरिदत्त कंडेलले जानकारी दिए।
निर्वाचनको मतगणनालाई सुरक्षित एवम् विश्वसनीय बनाउन मतगणना कक्षमा तारजाली र सीसीटीभी जडान कार्यलाई पनि तीव्र पारिएको छ।
हेटौंडा-२ स्थित सिद्धार्थ माध्यमिक विद्यालयको ८ वटा कोठामा तारजाली र सीसीटीभी क्यामेरा जडान गर्ने कार्य भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
दुईवटा निर्वाचन क्षेत्र रहेको मकवानपुरमा ३ लाख ७७८ जना मतदाता रहेका छन्।
प्रतिक्रिया दिनुहोस !