मतदातामा निराशा किन ?
काठमाडौं : प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा घटेको मतदान र प्रारम्भिक मत परिणामले पुराना राजनीतिक दलप्रति नागरिकको असन्तुष्टिलाई देखाएको छ। अघिल्लो निर्वाचनभन्दा यसपटक करिब ८ प्रतिशत कम मतदान भयो। मत परिणाममा पनि नयाँ पार्टीलाई राम्रो मत आइरहेको छ। यस्तो नतिजा आउनु नै पुराना दलले नागरिकको मन जित्न नसक्नुको परिणाम भएको बताउँछन् राजनीतिक विश्लेषक प्रा.डा.लोकराज बराल। ‘ठूला भनिएका पार्टीबाट केही काम हुन नसकेपछि जनताले नयाँपन खोजेको देखिन्छ,’ उनले भने, ‘ती पार्टीहरू सत्ताकेन्द्रित भए। त्यसैले जनताले विकल्पको शक्ति खोजे।’
सधैं मधेस केन्द्रित दललाई पछ्याउने मधेस प्रदेश होस् वा पुराना दलको गढ मानिने क्षेत्र, धेरै स्थानमा परिणाम मिश्रित आइरहेको छ। पुराना नेतादेखि वाक्कदिक्क भएर नयाँले केही परिवर्तन गर्लान् कि ? भन्ने आशामा जनताले वैकल्पिक शक्तिलाई भोट हालेको हुन सक्ने राजनीतिक विश्लेषक बरालको भनाइ छ।
मधेस प्रदेशमा डाक्टर सीके राउत र पश्चिम तराईमा रेशम चौधरीले नेतृत्व गरेको पार्टीले नागरिकमा परेको सकारात्मक प्रभावलाई प्रारम्भिक नतिजाले पनि देखाएको छ। जारी मत परिणामले काठमाडौं उपत्यकासहित बागमती र गण्डकी प्रदेशमा स्वतन्त्रको अवस्थालाई राम्रो देखिएको छ। यी क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रभाव बलियो बनेको देखाउँछ।
मतदानको दर घटे पनि आएको मतले फरक धार समातेको देखिने राजनीतिक विश्लेषक बरालको तर्क छ। उनी नेपालको मत परिणामलाई अन्य मुलुकसँग तुलना गर्दा खसेको मतलाई भने नराम्रो नै हो भन्न नसकिने बताउँछन्।
भन्छन्, ‘६१ प्रतिशत मत खसेको छ। यसलाई अन्य देशको परिणामसँग तुलना गर्दा नराम्रो हो भन्न त सकिन्न। किनकि अमेरिकामा ४९-५० प्रतिशत मतदान हुन्छ।’
नेपालमा मतदाता बढ्दा मत प्रतिशत पनि बढ्नुपर्ने हो। तर, त्यो भने देखिएन। यो निराशाको संकेत भएको राजनीतिक विश्लेषक चन्द्रकिशोरको तर्क छ। उनी गठबन्धनकै कारण मतदातामा उदासीनता बढेको दाबी गर्छन्। ‘पाँच वटा महत्त्वपूर्ण पार्टी छ।
सबै पार्टीको उम्मेदवार हुँदा सबैले मतदाताहरूलाई आकर्षित गरेर मतदान केन्द्रमा लैजान्थें,’ उनले भने, ‘यसपल्टको चुनावमा धेरै पार्टीको एलाइन्स छ। त्यहाँबाट एउटै उम्मेदवार छन्। यसले अरू पार्टीका कार्यकर्ताहरू उदासीन भए। मन भयो गए, मन भएन, गएनन्। त्यसैले मतदानको प्रतिशत घट्यो।’ उनले गाउँभन्दा बाहिर गएका मतदाता चुनावमा भोट हाल्न कमै गाउँ फर्केको पनि आफूले महसुस गरेको बताए।
‘नागरिकले दलका क्रियाकलापलाई नजिकबाट नियालेका छन्। आफ्नो स्वार्थका लागि गठबन्धन गर्ने र नेताको स्वार्थ मात्रै हेर्ने भएकाले धेरै मतदाता भोट हाल्न गाउँ आएनन्,’ उनले थपे, ‘अब पुराना र ठूला भनिएका पार्टी सुधारिनु पर्ने दिन आएको छ।’
मतदातामा निराशा एकातिर छ भने अर्कोतर्फ खेतीपातीको समय भएकाले पनि मतदानमा उत्साह कम भएको विश्लेषक चन्द्रकिशोरको अनुमान छ। भने, ‘अहिले खेतीको समय छ। दलहरूको एजेन्डाले मतदाताहरूलाई तान्न सकेनन्। यो किसानको धान काट्ने र गहुँ छर्ने मुख्य समय हो। त्यसैले अन्न भिœयाउने र उब्जाउन छोडर नेताका लागि भनेर उनीहरू मतदान उत्साहित भएनन्।’
उनले जनताको मुख्य समस्यालाई पार्टीहरूले चुनावी मुद्दा नबनाएकोले किसानमा मतदानप्रति उत्साह नदेखिएको बताए। ‘किसानले धानको मूल्य पाउँदैनन्। बेरोजगारीको समस्या उस्तै छ। सिँचाइ, मल, बिउबिजनको समस्या विकराल छ,’ उनले भने, ‘क्यान्सरजस्ता बिरामी पर्दा उपचारमा सहयोग छैन। पब्लिक एजुकेसन, पब्लिक हेल्थ कमजोर भयो। नागरिकताको समस्या समाधान भएन। यी उम्मेदवारका एजेन्डामा परेनन्। अनि किन नघटोस् मत ?,’ उनले भने।
राजनीतिशास्त्री प्रा.डा. जनार्दन आचार्य मतदान कम हुनु र नयाँ शक्तितिर जनताको आकर्षण हुनु असन्तुष्टिको परिणाम भएको बताउँछन्। ‘यो असन्तुष्टिको परिणाम हो। नयाँ भनिएको दललाई सिद्धान्त र देश बनाउने एजेन्डा भएर जनताले भोट दिएका होइन। यो नो, भोटको संकेत पनि हो,’ उनले भने।
राजनीतिशास्त्री आचार्य अहिले नयाँ भनेर आएका पार्टीहरू पनि परम्परावादी नै भएको तर्क गर्छन्। ‘उनीहरूको एजेन्डा र सिद्धान्त स्पष्ट छैन। चुनावी ट्रेन्डले वर्तमान राजनीतिक व्यवस्थामा नै खतराको संकेत देखिएको छ। संघीयता, गणतन्त्र नमान्ने शक्तिहरूको लहर देखिएको छ,’ उनले भने।
अघिल्लो निर्वाचनभन्दा यसपटक राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रारम्भिक परिणाम राम्रो देखिएको छ। राजनीतिक विश्लेषक डा. राजेश अहिराज जनतामा नेताप्रतिको विश्वास घट्दै गएको बताउँछन्। ‘व्यवस्था परिवर्तन भयो। तर, पात्र उही पुरानो छ। उनीहरूको चरित्र त्यस्तै छ। शैलीमा बदलाव आएन। जनतालाई परिणाम दिन सकेनन्,’ उनले भने, ‘राजाको समयमा गृहमन्त्री जो थिए प्रजातन्त्र आएपछि उनै पात्र अर्को मन्त्री बने। गणतन्त्र भए पनि प्रधानमन्त्री बने। अनि हामीले कसरी परिवर्तन भयो भन्नु ?’
नेताहरूले भोटको राजनीति मात्र गरेको उनको भनाइ छ। ‘संसद्को काम भनेको नीति निर्माण गर्ने भए पनि जनतालाई छारो हाल्न विकासका कुरा गरेर अल्मल्याउने गरेका छन्। अब त नागरिकले पनि बुभ्mन थाले नि कसले के को कुरा र काम गर्ने भनेर,’ उनले भने। गठबन्धनका कारणले पनि मतदाताहरूको आस्थामा ठेस लागेको डा. अहिराज बताउँछन्। भन्छन्, ‘जसले जुन पार्टीप्रति आस्था राख्यो। त्यो पार्टीको चुनाव चिह्नको उम्मेदवार उसको क्षेत्रमा भएन। गठबन्धन त नेताले गरेका छन्। मतदाताले त गठबन्धन गरेका छैनन् नि।’
मतदानमा युवा कम
मतदानको प्रतिशतले यस पटकको निर्वाचनमा युवाको वितृष्णा बढेको देखाउँछ। चुनावकै दिन पनि ठूलो संख्या युवाहरू बिदेसिएका थिए। उनीहरूले चुनावको कुनै चासो राखेनन्। राजनीतिक विश्लेषक डा. बराल चुनावकै दिन हजारौं युवा बिदेसिनुले निराशाको संकेत गरेको बताउँछन्। ‘चुनावकै दिन तीन हजारभन्दा बढी युवाहरू बिदेसिए। उता भारततिर जाने पनि यति नै छन्,’ उनले भने, चुनावले युवाहरूको विश्वास लिन सकेनन्। भोट दिनु भनेको नेतालाई सत्तामा पुर्याउनु मात्रै हो भन्ने उनीहरूमा परेको छ।’
रूपान्तरण, परिवर्तन र लोकतन्त्रका लागि भने पुराना दलको भूमिका रहेको डा. बरालको भनाइ छ। भने, ‘राजनीतिक परिवर्तनमा उनीहरूको धेरै महत्त्वपूर्ण भूमिका छ। तर, पुराना दलहरूले जनमुखी काम गर्न नसक्दा जनतामा निराशा छायो।’
डा. अहिराज भने देशमा रोजगारी व्यवस्था गर्न नसक्दा ठूलो संख्यामा युवा बिदेसिनु परेको र यो अवस्थामा पु ।याउने पनि दलहरू नै भएको बताउँछन्। राजनीतिक विश्लेषक तथा प्रोफेसर सन्त सत्यनारायण आलोक दल र नेतृत्वले देशमा युवालाई आकर्षित गर्न नसकेको तर्क गर्छन्।
‘वैदेशिक रोजगारीमा गएका युवाले नेताहरूलाई विल्कुलै विश्वास गर्दैन। उनीहरूलाई जोहो गर्न गाह्रो छ। पेट पाल्न कठिन छ। नेता भने सबै धनी भए,’ उनले भने, ‘सरिफ (इमान्दार) मान्छेहरू बिदेसिनु पर्यो। हाम्रो नेताहरू झूटको खेती गर्दा रहेछन् भनेर उनका परिवारहरू मतदान केन्द्रमा गएका छैनन्।’ उनले नेताका विग्रहका कुराले जनताको मन भाँडिएको बताए। ‘केन्द्रीय नेतृत्वको कुरा घरघरमा आयो। जनताले विश्वास गर्न छोडे। अन्तिममा सबैलाई हेरेपछि नयाँ मान्छेको खोजीमा मतदाता लागेको देखिन्छ,’ उनले भने।
दलहरू सुध्रन आवश्यक
राजनीतिक दलले आफ्नो पुनर्विचार र पुनर्संरचना गर्न आवश्यक रहेको राजनीतिक विश्लेषकहरू बताउँछन्। स्थानीय तहको निर्वाचनको परिणामले पनि नसच्चिएपछि जनताले ठूला दल र नेतालाई सबक सिकाएको उनीहरूको भनाइ छ। विश्लेषकका अनुसार नेपाली जनता सचेत बनेका छन्। सत्ताको हात्तीमा चढाउन र तल झर्न जनता माहिर छन्। २०६४ सालमा माओवादीलाई ठूलो पार्टी बनाए। २०७० मा कांग्रेसलाई र २०७४ सालमा एमालेलाई। तर, उनीहरूले जनमुखी काम गर्न सकेनन्। त्यसकारण पनि जनताले नयाँपन खोजेका हुन्।
विश्लेषक डा.बराल अहिलेको परिणामले ठूला नेतालाई सबक सिकाएको बताउँछन्। डा. आचार्य ठूला दलहरू नसुध्रिए उनीहरूको अवस्था अझ कमजोर हँुदै जाने टिप्पणी गर्छन्। अर्का विश्लेषक चन्द्रकिशोरले जनता उत्साहित भएर मतदानमा नजाँदा दलहरूमा ठूलोे दबाब परेको बताए। भने, ‘दलहरूले बुझ्न अब जरुरी छ। दल र उनीहरूका क्रियाकलाप मजाले नियालिरहेका छन्। दलहरूले चुनावी रूपमा जिते पनि सरकार बनाएर सुध्रिएनन् भने हेर्नुहोला अढाई तीन वर्षमा एउटा नयाँ मुभमेन्टको सिर्जना हुन्छ। त्यसले सिस्टमलाई समस्या पार्नेछ।’
प्रोफेसर सन्त सत्यनारायण आलोक निराशा, झूटको राजनीति, गालीगलोज र बेइमानीको राजनीतिले नेपाली अनुहार विश्वभरि नै धमिलो भएको बताउँछन्। भन्छन्, ‘जनताको समस्यामा ध्यान नदिएका कारणले नेतालाई मतदाताहरूले अप्ठ्यारोमा पारिदिएका छन्। नेताहरूबीच अन्तरद्वन्द्व जबसम्म चलिरहन्छ तबसम्म जनताले विश्वास गर्नेवाला छैनन्।’ पुराना दलप्रति जनता अब वाक्कदिक्क भएको उनी बताउँछन्। भने, ‘कांग्रेसदेखि जनताहरू वाक्क दिक्क भइसकेका थिए। त्यसकै जगमा माओवादीकोे आन्दोलन सफल भयो। जनताले निराशाबाट आशा खोज्दाखोज्दै सबै जना प्रचण्ड र बाबुरामको पछाडि लागे। नेपालमा कम्युनिस्टको उदय भयो। उनीहरू पनि फुटे। त्यसपछि बनेको एमाले र माओवादीको वाम गठबन्धनलाई नागरिकले विश्वास गरे। तर, सबैको नतिजा उही आउँदा अब परिवर्तनले फड्को मारिरहेको छ।’
पछिल्लो समय नेताहरूको आरोप प्रत्यारोपले पनि जनतामा निराशा छाएको उनको भनाइ छ। ‘यति ठूलाठूला गाली एउटा राष्ट्रिय नेताले अर्का नेतालाई दिन्छ कि गाउँको झगडाभन्दा पनि विशाल र विषालु बन्छ,’ उनले भने, ‘कोही यता जुट्ने कोही उता जुट्ने। नेताहरूले आफूलाई सजिलो ठाउँ खोज्दाखोज्दै राजनीतिक गोलचक्करमा फसे। जसले जनताको आशा पूरा भएन। यस कारणले पनि मतदाताहरू गत निर्वाचनभन्दा यो निर्वाचनमा मतदान गर्न उत्साहित भएनन्।’
उनले गरिबीको खाडल झनै गहिरिएर गएको बताए। ‘धनी झन्झन् धनी भए। व्यापारीहरू सुरक्षित नै रहे। भ्रष्टाचारले आकाश छोयो। गरिब निमुखा जनताले केही पाएनन्, उनले भने। मुलुकमा राजनीतिक परिवर्तन धेरै भए पनि सामाजिक, आर्थिक र सांस्कृतिक रूपान्तरण हुन नसकेको उनको भनाइ छ। ‘न देशमा सैद्धान्तिक विकास भयो न त भौतिक विकास र शान्ति नै फैलियो। बरु जनताहरूसँगै समस्याले आक्रान्त बने,’ उनले भने, ‘वैदेशिक सम्बन्ध पनि बिग्रियो। कोही चीनतिर ढल्किन्छ त कोही भारततिर मोडिन्छ। यिनीहरूले नै युवाहरूलाई गुट बनाउन सिकायो। भ्रष्टाचार गर्न सिकायो। फुटाउन सिकायो।’
हराउँदै निष्ठाको राजनीति
राजनीतिक दलमा कुनै बेला निष्ठा र आदर्श हुन्थ्यो। निष्ठाको राजनीति भनेर चर्चा चल्थ्यो। पार्टीप्रति कार्यकर्ता पूर्ण बफादार हुन्थे। तर, पछिल्लो समयमा मौलाएको गठबन्धन संस्कृतिले दलहरूभित्र पार्टीप्रतिको प्रतिबद्धतामा अवमूल्यन हँुदै गएको छ। कुनै बेला कांग्रेसले कम्युनिस्टलाई भोट हाल्नु भनेको आत्मदाह जस्तै ठान्थे। कम्युनिस्टको मत अझ प्रतिबद्ध हुन्छ भन्ने थियो। तर, गठबन्धनका कारण मेरो पार्टी र मेरो सिद्धान्त भन्ने हराएको बताउँछन् दलहरूको क्रियाकलापलाई नजिकबाट नियालिरहेका विश्लेषक डा. अहिराज।
व्यक्तिवादी प्रवृतिका कारण राजनीतिक संस्कार र मूल्य मान्यतामा विचलन आएको अर्का विश्लेषक डा. आचार्यको तर्क छ। गठबन्धनको प्रवृत्तिको कारण राजनीतिक संस्कार र मूल्यमान्यतामा नै ब्रेक लागेको उनी बताउँछन्। उनले यस पटकको चुनावले परिवर्तनको आँधी आउनुअघिको संकेत गरेको बताए।
डा. अहिराजले दलहरूमा सैद्धान्तिक विचलन आएको तर्क गरे। ‘दलहरू सिद्धान्तमा रहेनन् अब। कम्युनिस्ट कांग्रेससँग मिल्यो। कांग्रेस राप्रपासँग मिलेको छ। राप्रपाले मधेसीसँग गठबन्धन गर्न सक्छ’, उनले भने, ‘जनताको नजरमा नेताहरूको वैधानिकता कायम रह्यो। तर, उनीहरूले सामाजिक स्वीकृत गुमाए। अब जनतालाई कुनै दलमाथि विश्वास रहेन।’
ठूला भनिएका पार्टीबाट केही काम हुन नसकेपछि जनताले नयाँपन खोजेको देखिन्छ। ती पार्टीहरू सत्ताकेन्द्रित भए। त्यसैले जनताले विकल्पको शक्ति खोजे।
प्रा.डा.लोकराज बराल,
राजनीतिक विश्लेषकयो असन्तुष्टिको परिणाम हो। नयाँ भनिएको दललाई सिद्धान्त र देश बनाउने एजेन्डा भएर जनताले भोट दिएका होइन। यो नो, भोटको संकेत पनि हो।
प्रा.डा. जनार्दन आचार्य,
राजनीतिशास्त्रीकिसानले धानको मूल्य पाउँदैनन्। बेरोजगारीको समस्या उस्तै छ। सिँचाइ, मल र बिउबिजनको समस्या विकराल छ। क्यान्सरजस्ता बिरामी पर्दा उपचारमा सहयोग छैन। यी कुरा उम्मेदवारका एजेन्डामा परेनन्। अनि किन नघटोस् मत ?
चन्द्रकिशोर, राजनीतिक विश्लेषक
प्रतिक्रिया दिनुहोस !