चुनावको सन्देश : परिपक्वता र परिवर्तन
काठमाडौं : यो निर्वाचनमा अपेक्षाभन्दा न्यून मतदान भयो। जतिले मत हाले त्यसको परिणाम पनि ‘अनपेक्षित’ नै आइरहेको छ। पकड क्षेत्र, विरासत, गढ भन्ने कुरा नै निर्वाचनले समाप्त पारिदिएको छ। जसको स्पष्ट सन्देश छ– परिपक्व नेतृत्व, युवाको साथ। बिचौलिया बाईबाई। क्षेत्रीय पार्टी चाहिन्न। वैकल्पिक दलको परीक्षण। गुट–टुटफुटप्रति वितृष्णा।
राजनीतिशास्त्री प्रा. राजकुमार पोखरेल निर्वाचनमा ठूलो जनमत सहभागी नै नभएको र भएको जनमतले पनि परिवर्तन खोजेको टिप्पणी गर्छन्। ‘यो चुनावमा दुई कुरा देखिएको छ। पहिलो, ठूलो जनमत मतदानमा सहभागी नै भएन। सहभागी भएकाले पनि परिवर्तन खोजे’, प्रा. पोखरेल भन्छन्।
पूर्वसभामुख दमननाथ ढुंगाना जसरी परिणाम आइरहेको छ त्यसको आधारमा भन्नुपर्दा गहिरिएर राष्ट्रिय चिन्तन गर्नुपर्ने बेला भएको टिप्पणी गर्छन्। ‘दलहरूले अतिवादी आश्वासन जनतालाई दिएको परिणाम हो यो। जनता र दलका बीचमा देखिएको खाडल हो अहिलेको परिणाम’, ढुंगाना भन्छन्।

काठमाडौं सोह्रखुट्टे नयाँ बजारमा मतगणना गरिँदै। दिपेन श्रेष्ठ
२०५२ सालदेखि खलबलिएको राजनीति अझै अलमलिएको अल्मलियै भएको उनी बताउँछन्। ‘अहिलेको चुनावले जुन संकेत गरेको छ। नयाँ पार्टीले जति मत पाएका छन्। एउटा टर्निङ प्वाइन्ट आयो’, उनी भन्छन्, ‘अब नयाँले पुराना सँगै मिलेर जानुको विकल्प पनि देखिँदैन।’ यसमा गठबन्धन पनि प्रमुख कारण बनेको उनको टिप्पणी छ। ‘गठबन्धनका कारण कतिपय कांग्रेसले माओवादीलाई भोट नदिने, एमालेले राप्रपालाई नदिएको देखिएको छ’, उनी भन्छन्, ‘त्यसरी गठबन्धनमा जान नचाहने जनताले स्वतन्त्रलाई रोजे।’
संविधानविद् भीमार्जुन आचार्य जनताले छनोटको अधिकार यसपटक भरपुर प्रयोग गरेको टिप्पणी गर्छन्। ‘अर्को कुरा स्थापित र ठूला भनिएका दलहरूको कामकारबाही र कार्यशैलीप्रतिको गम्भीर प्रश्न हो। ती दलका नेतृत्वप्रतिको गम्भीर प्रश्न हो’, आचार्य भन्छन्, ‘जनतासँग गरिएका प्रतिज्ञा पूरा गरेनन्। त्यही कारण अहिले नयाँ शक्तिलाई परीक्षण गर्न खोजेको देखिन्छ।’
उनका अनुसार मुख्य कुरा दलहरूको अक्षमता, असफलता र उनीहरूले विगतमा गरेको कार्यशैलीको मूल्यांकन हो यो। ‘यसलाई सकारात्मक रूपमा लिन सकिन्छ। यसले सन्तुलन र ठूला दललाई सच्चिने मौका दिन्छ’, उनी भन्छन्, ‘नयाँ शक्तिबाट पनि त्यति ठूलो आशा त गर्न सकिँदैन। यद्यपि सही समयमा नयाँ शक्ति उदाएको छ।’
राजनीतिक विश्लेषक गेजा शर्मा वाग्ले अहिलेको निर्वाचनले मूलधारका पार्टीका शीर्ष नेतृत्वसँग व्यापक असन्तुष्ट देखिएको टिप्पणी गर्छन्। ‘यसले नेपालको राजनीतिमा एक किसिमको झड्का दिएको छ। क्रान्तिको नेतृत्व नगरिकन पार्टीहरूको उदय हुन सक्छ भन्ने कुरा अहिले स्वतन्त्र पार्टीले देखाएको छ’, वाग्ले भन्छन्, ‘अहिलेको निर्वाचनमा पैसाको शक्ति अथवा पैसा बाँडेकै आधारमा निर्वाचन जितिन्छ भन्ने नरहने भयो। सामाजिक सञ्जालमा आएको प्रचारकै भरमा पनि निर्वाचन जितिदैन भन्ने पनि देखियो। निर्वाचनमा कुनै न कुनै जनतासँग जोडिएका सानातिना विषयमै भए पनि जोडियो भने त्यही मुद्दामा जनता आशावादी हुने रहिछन् भन्ने देखियो।’
परिपक्व नेतृत्व, युवाको साथ
ठूला दलका अध्यक्षहरूले यो निर्वाचनमा ठूलै अग्रता लिएका छन्। प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा प्रतिद्वन्द्वीभन्दा निकै मतले अगाडि छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिस्पर्धीभन्दा भारी मतका साथ अग्रता लिएका छन्। माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल पनि धेरै मतका साथ अगाडि छन्।
तर, शीर्ष नेताको वरिपरि हिँड्ने र नेतृत्वपछिका पुराना नेतालाई मतदाताले रुचाएको देखिँदै छ। पटक–पटक जितेका नेतालाई पनि जनताले बिदा गरेका छन्। तर, तिनै दलका युवा नेताले सफलता हासिल गरेका छन्। धेरै पटक चुनाव जितेकादेखि पुराना नेता पछि परेका छन्।
‘हामी नै हौं भनेर नेतृत्व अघिपछि बसेर भजन गाउनेलाई जनताले बिदा गरेका छन्’, प्रा. पोखरेल भन्छन्, ‘जनताले नयाँ अनुहार हेर्न खोजेका छन्।’
बिचौलिया बाईबाई
मतदाताले यो निर्वाचनबाट धेरैजसो ‘बिचौलिया’लाई बाईबाई गरेका छन्। पार्टीमा जाने र त्यसबाट फाइदा लिनेलाई जनताले पन्छाएका हुन्। जसले राजनीतिलाई विकृत बनाउँदै आएका थिए। नेताहरू उनीहरूको ‘कब्जा’मा पर्ने गरेका थिए।
क्षेत्रीय पार्टी चाहिन्न
यो निर्वाचनमा पुराना क्षेत्रीय दललाई जनताले मन नपराएको देखिएको छ। मधेस आन्दोलनपछि उदाएका मधेस केन्द्रित दलको प्रभाव घटेको छ। यो निर्वाचनमा उनीहरूको अवस्था विगतभन्दा कमजोर देखिएको छ। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादीका अध्यक्ष महन्थ ठाकुर नै
पछाडि छन्।
२०६४ सालको निर्वाचनपछि मधेसमा एकछत्र राज गरेका दलहरू यो पटक रक्षात्मक भएका छन्। अहिलेसम्मको नतिजामा यादव र ठाकुरले नेतृत्व गरेका पार्टी सोचेजस्तो देखिएको छैन। मधेस आन्दोलनका मुद्दामा समाधान गर्नुभन्दा सत्तामा उनीहरू केन्द्रित हुँदा प्रभाव घटेको विश्लेषक बताउँछन्। राजनीतिशास्त्री प्रा. पोखरेल मधेस आन्दोलनमा उठाएका एजेन्डाप्रति इमान्दार नहुँदा उनीहरूको अवस्था खस्किएको बताउँछन्। ‘आन्दोलनमा उनीहरूले विभिन्न एजेन्डा उठाए तर ती कतिपय एजेन्डा पूरा नै नहुने खालका थिए। एजेन्डाभन्दा उनीहरू सत्तामा लिप्त भए। जसले उनीहरूको पनि विकल्प पनि जनता खोजे’, उनी भन्छन्। जसपा र लोसपाको विकल्पमा सीके राउत आएको उनको टिप्पणी छ। जातीय दलहरू यसअघि नै हराएको पनि उनी बताउँछन्।
वैकल्पिक दलको परीक्षण
यो निर्वाचनमा वैकल्पिक दललाई जनताले परीक्षण गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीलाई यो पटक जनताले मौका दिएका छन्।
समानुपातिकमा पनि एमाले, कांग्रेसपछि स्वतन्त्र पार्टीले मत प्राप्त गरेको छ। माओवादीलाई उसले उछिनेको छ। मधेस प्रदेशमा सिके राउतले नेतृत्व गरेको जनमत पार्टी र पश्चिम तराईमा रेशम चौधरीले नेतृत्व गरेको नागरिक उन्मुक्ति पार्टीको उदय भएको छ।
राजनीति विश्लेषक पुरञ्जन आचार्य वैकल्पिक शक्ति विलिन भएर गइरहेको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टीको उदय भएको टिप्पणी गर्छन्। ‘यो जनताको चाहना हो। पुराना पार्टी एउटै मुद्दामा कुदिराख्दा जनतासँग प्रत्यक्ष सरोकार भएका मुद्दालाई देश विदेशका युवाको साथ पाउँदा त्यहाँ पैसासँग पनि जनता लोभिएनन्’, उनी भन्छन्, ‘अब भने पुराना पार्टीका युवाले उनीहरूलाई सँगै सँगै साथ लिएर अघि बढेनन् भने फेरि गाह्रो अवस्था आउँछ।’
गुट–उपगुटप्रति वितृष्णा
यो निर्वाचन दलका गुट–उपगुट प्रतिवितृष्णा देखिएको छ। गुटबन्दी गर्ने राजनीतिक दल र नेतालाई यो निर्वाचनले ठेगान लगाएको छ। सत्ताका लागि गुट–उपगुट गर्ने, पार्टी फुटाउनेहरू जनताले सचेत गराएका छन्। माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, लोसपाजस्ता दललाई साइजमा राखेका छन्।
विश्लेषकहरू चुनाव आएको वितृष्णाले व्यवस्था नै संकटमा पनि आशंका व्यक्त गर्छन्। राजनीतिक विश्लेषक पोखरेल पुराना अनुहारले आफूलाई सच्याउनुको विकल्प नरहेको बताउँछन्। ‘पुराना अनुहारले आफूलाई सच्याउनुपर्छ, अझै दम्भ अहंकार देखिएमा युवाले भन्डाफोर गर्नेछन्, मर्ने बेला कंलकित हुने कि सच्चिने उनीहरूमा यी विकल्प छन्,’ उनी भन्छन्।
विश्लेषक वाग्लेका अनुसार मुख्यतया मूलधारका पार्टीप्रति नै जनताको विश्वसनीयता देखिन्छ। ‘अहिलेको निर्वाचनमै पनि अहिलेसम्मको नतिजा हेर्दा पनि गठबन्धनको
पक्षमा बहुमत आउने देखिन्छ। यद्यपि राष्ट्रिय स्वतन्त्र पार्टीका कारण संसद्मा नयाँ शक्तिको संकेत देखिएको छ’, वाग्ले भन्छन्, ‘अहिले कांग्रेस, एमाले पछि माओवादीले राष्ट्रिय स्वतन्त्र पार्टीसँग प्रतिस्पर्धा गर्दै छ। तराईमा पनि पुराना दलप्रति जनताको असन्तुष्टि देखियो। नयाँ शक्ति पार्टीहरूले बहुमत ल्याइरहेको अवस्था छ। अर्कोतिर राप्रपाको पुनर्उदय भएको देखिन्छ। समग्रमा जनता परिवर्तनको पक्षमा छन्।’
देखा परे नयाँ दल
यो निर्वाचनले नयाँ दललाई अगाडि ल्याएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी, हाम्रो नेपाली पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको उदय भएको छ। कतिपय दल त निर्वाचनको पूर्वसन्ध्यामा मात्रै जन्मिएका हुन्। जसले छोटो समयमै धेरै मतदाताको विश्वास जितेका छन्। राजतन्त्रको वकालत गरिरहेको राप्रपाको पुनरागमन भएको छ।
छोटो समयमै राष्ट्रिय स्वतन्त्र पार्टीको प्रभाव
रवि लामिछानेले नेतृत्व गरेको यो दल निर्वाचनको पूर्वसन्ध्यामा मात्रै दर्ता भएको हो। छोटो समयमा यसले देशभर नै प्रभाव पारेको छ। समाचार तयार पर्दासम्म १२ स्थानमा यो दलका उम्मेदवारले अग्रता लिएका छन्। काठमाडौं उपत्यकाको समानुपातिक मतमा यो दलले सबैभन्दा अगाडि छ। समग्रमा तेस्रो स्थानमा यो दल देखापरेको छ। समानुपातिक मतमा निर्णायक शक्ति हुने दाबी गरेको माओवादी केन्द्र पछि परेको छ।
कुनै पनि दलको बहुमत नआउने यो अवस्था सरकार बनाउने सम्मको निर्णायक भूमिका यो दलको हुन सक्ने देखिएको छ। यो समाचार तयार पर्दासम्म काठमाडौं २, ६,८, ललितपुर ३, चितवन २ र १ तथामा कास्कीका दुई क्षेत्रमा यो दल अगाडि छ।
मधेसमा टक्कर दिँदै जनमत पार्टी
मधेसमा जसपा र लोसपाका टक्कर दिँदै सिके राउतले नेतृत्व गरेको जनमत पार्टी आएको छ। पृथकतावादी धार छोडेर शान्तिपूर्ण राजनीतिमा आएका राउतको यो पहिलो संसदीय निर्वाचन हो। मधेसका मसिहा भनेर चिनिने जसपाका अध्यक्ष उपेन्द्र यादवलाई भारी मतान्तरले पछि पारेका छन्। समानुपातिकमा जसपा र लोसपामा भन्दा जनमत पार्टी अगाडि छ। निर्वाचनअघि अन्नपूर्ण पोस्ट्सँगको अन्तर्वार्तामा राउतले मधेस प्रदेशमा आफूले सरकार बनाउने दाबी गरेका थिए।
पश्चिम तराईमा नागरिक उन्मुक्ति पार्टी
पश्चिम तराईमा नागरिक उन्मुक्ति पार्टीको प्रभाव देखिएको छ। टीकापुर काण्डका रणनीतिकार भनिएका रेशम चौधरी नेतृत्वको यो पार्टीले रुपन्देहीदेखि कैलालीसम्मै थारु बाहुल्य रहेको क्षेत्रमा राम्रो उपस्थिति देखिएको छ। विशेष त बर्दिया र कैलालीमा उसले पकड नै बनाएको छ। स्थानीय तहको निर्वाचनमा यो दल कैलालीका चार स्थानीय तहका विजय हासिल गरेको थियो।
यो समाचार तयार पर्दासम्म प्रतिनिधिसभा सदस्य निर्वाचनतर्फ कैलाली–३ मा गंगाराम चौधरीले सत्ता गठबन्धन र एमालेका उम्मेदवारलाई हराएर विजयी भएका छन्। ६३ हजार ४ सय ४० मतमध्ये उनले २३ हजार १ सय २० मत पाए। निकटतम् प्रतिद्वन्द्वी माओवादीका कृष्णकुमार चौधरीले १७ हजार ७ सय ४९ मत पाए। कैलाली १,२ र बर्दिया १ र २ मा आग्रता कायम गरेको छ भने बाँके,दाङ, रुपन्देही र कपिलवस्तुमा राम्रो अवस्था देखिएको छ।
अभियानले बढाएको हाम्रो नेपाली पार्टी
लौरो अभियानबाट जन्मिएको हाम्रो नेपाली पार्टीको यो निर्वाचनमा राम्रो उपस्थिति देखिएको छ। काठमाडौं ८ मा सुमन सायमी, ललितपुर २ मा डा. सुदिन शाक्यले राम्रो मत ल्याएका छन्। शाक्यले ८ हजार ८ सय ८६ मत ल्याएर निकटतम प्रतिद्वन्द्वी भएका छन्। ललितपुर २ बाट एमालेका प्रेमलाल महर्जन विजयी भएका छन्।
नयाँ संक्रमणको थालनी हो। पुरानाले आश्वासनबमोजिम काम गरेनन्। त्यसका लागि जनताले नयाँलाई रोजे। अब अहिले आउने नयाँले सबै विषयमा दक्ष भए पनि उनीहरू परीक्षण भएका छैनन्। २०६४ सालमा २०० सिट ल्याउने माओवादी आज निकै पछि परेको छ। अहिले आउनेलाई पनि भोलि पाँच वर्षसम्म सत्तामा खिचातानी गर्न थाले भने अर्को पटक जनताले नै खेद्नेछन्।
दमननाथ ढुंगाना, पूर्वसभामुख
छनोटको अधिकार यसपटक जनताले भरपुर प्रयोग गरे। मुख्य कुरा भनेको दलहरूको अक्षमता, असफलता र उनीहरूले विगतमा गरेको कार्यशैलीको मूल्यांकन हो। यसलाई सकारात्मक रूपमा लिन सकिन्छ। यसले सन्तुलन र ठूला दललाई सच्चिने मौका दिन्छ। नयाँ शक्तिबाट पनि त्यति ठूलो आशा त गर्न सकिँदैन। यद्यपि, सही समयमा नयाँ शक्ति उदाएको छ।
भीमार्जुन आचार्य, संविधानविद्समग्रमा जनता परिवर्तनको पक्षमा छन्। क्रान्तिको नेतृत्व नगरिकन पार्टीहरूको उदय हुन सक्छ भन्ने स्वतन्त्र पार्टीले देखायो। पैसाको शक्ति अथवा पैसा बाँडेकै आधारमा निर्वाचन जितिन्छ भन्ने नरहने भयो। सामाजिक सञ्जालमा आएको प्रचारकै भरमा पनि निर्वाचन जितिँदैन भन्ने पनि देखियो। जनतासँग जोडिएका विषयमा जोडियो भने त्यही मुद्दामा जनता आशावादी हुने रहेछन् भन्ने देखियो।
गेजा शर्मा वाग्ले, राजनीतिक विश्लेषक
प्रतिक्रिया दिनुहोस !