चौथो पटक सांसद बनिन् माओवादीकी मोक्तान

चौथो पटक सांसद बनिन् माओवादीकी मोक्तान

हेटौंडा : १६ वर्षको उमेरमा सशस्त्र युद्धमा होमिएकी महिला लडाकु कुमारी मोक्तानले चौथो पटक संसदको यात्रा तय गरेकी छिन्। 

बाम लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बेनेकी नेकपा माओवादी केन्द्रकी पोलिटब्युरो सदस्य  मोक्तान प्रदेशसभा मकवानपुर २(क) मा नेकपा एमालेका विष्णुप्रसाद ढकाललाई तीनसय २२ मतले हराउँदै विजयी भएकी हुन्।

उनले १९ हजार ८ सय ७३ र ढकालले १९ हजार ५  सय ७१ मत प्राप्त गरेका थिए। जितपछि प्रतिक्रिया दिँदै मोक्तानले यो जित आफ्नो नभई मकवानपुर प्रदेशसभा २(क) का सबै नागरिकको जित भएको बताइन्। 'मेरो पाँच वर्ष यसै क्षेत्रको विकास र समृद्धिमा खर्च गर्नेछु', मोक्तानले भनिन्, 'जनतासँग गरेको वाचा पूरा गर्नेछु।'

तत्कालीन नेकपा माओवादीले २०५२ सालमा सशस्त्र युद्ध सुरु गरे लगत्तै उनी विद्यालय शिक्षा छाडेर युद्धमा होमिएकी थिइन्। उनी मकवानपुरकी जुझारु महिला नेतृ हुन्। २०३६ सालमा जन्मिएकी मोक्तानले २०५० सालमा विद्यार्थीबाट राजनैतिक यात्रा सुरु गरेकी थिइन्। 

त्यसको केही समयपछि अखिल नेपाल महिला संघ (क्रान्तिकारी) मा संगठित भइन्। २०५६ सालमा तत्कालीन शाही नेपाली सेनाबाट पक्राउ परेकी मोक्तान २०५८ मा रिहा भइन्। उनी २०५९ मा मकवानपुर जिल्ला पार्टी सचिव बनिन्। 

२०६० मा पार्टीको क्षेत्रीय ब्युरो सचिव हुँदै २०६१ मा तामाङ मोर्चाको केन्द्रीय उपाध्यक्ष र मकवानपुरको पार्टीको तत्कालिन जनसरकार प्रमुख बनिन्। 

शान्ति सम्झौतापछि उनी २०६३ सालमा विधायिका सदस्य मनोनित भइन्। मोक्तान २०६४ सालमा तत्कालीन मकवानपुर ४ नम्बर निर्वाचन क्षेत्रबाट संविधानसभा सदस्य निर्वाचित भइन्। 

२०७४ को प्रदेशसभा निर्वाचनमा उनी यसै क्षेत्रबाट प्रदेशसभा सदस्यमा निर्वाचित भइन्। उनी २०७८ मा बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्री बनिन्। 

आमाको प्रेरणाबाट मोक्तानले पनि राजनीतिक यात्रा तय गरेकी थिइन्। निरन्तर निर्वाचनमा विजयी हुने माओवादीभित्रका उनी सफल महिला नेतृ हुन्।  
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.