बैतडीबाट प्रतिनिधिसभामा दामोदर भण्डारीको ह्याट्रिक
बैतडी : बैतडीमा प्रतिनिधिसभामा नेकपा एमालेका दामोदर भण्डारीले लगातार तेस्रो जीत हासिल गरेका छन्। गठबन्धका साझा उम्मेदवार माओवादी केन्द्रका नरेन्द्र बहादुर कुँवरलाई पराजित गर्दै भण्डारीले जीत हात पारेका हुन्।
भण्डारीले ३३ हजार ६११ मत ल्याए भने उनका माओवादी केन्द्रका कुँवरले ३२ हजार ८० मत ल्याए। कुँवरलाई १ हजार ५३१ मतले पछि पार्दै भण्डारीले लगातार तेस्रो पटक जित हात पारेका हुन्।
दोस्रो संविधानसभा निर्वाचन २०७० र २०७४ सालको निर्वाचनमा विजय हासिल गरेका नेता भण्डारीले २०७९मा पनि जित हासिल गरेका हुन्।
विद्यार्थी जीवनबाटै राजनीतिमा होमिएका दामोदर भण्डारी एमालेमा अडिक रहे। पाटन नगरपालिका ६ मा जन्मिएका भण्डारीले २०४७ बाट अनेरास्वबियूबाट राजनीतिक जीवन सुरुवात गरेका हुन्।
नेता भण्डारी २०७९ सम्म आइपुग्दा सफल राजनीतिज्ञका रूपमा चिनिन्छन्। पार्टीमा कहिलेपनि नडमगाएर अनवरत रूपमा संगठन निर्माणगरी पार्टीलाई नयाँ उचाइमा पुर्याउन उनको ठूलो भूमिका रहेको छ।
एक पटक अर्थराज्यमन्त्रीको जिम्मेवारी समालेको अनुभव उनीसँग छ भने अहिले एमालेको प्रदेश कमिटीको अध्यक्षको जिम्मेवारीमा छन्।
हालै एमाले पार्टी फुट्दापनि बैतडी जिल्लमा न्यून प्रभाव पार्न सफल भएका नेता समेत भण्डारी हुन्। ५० वर्षीय भण्डारीले बिएडसम्म अध्ययन गरेका छन्।
भण्डारी २०६४ सालमा अहिलेका प्रतिस्पर्धी माओवादी केन्द्रका नरेन्द्रबहादुर कुवँरसँग पराजित भएका थिए। त्यसपछि २०७० मा भण्डारीले विजय हात पारे।
भण्डारी २०७४ सालमा पनि बाम गठबन्धनबाट ३९ हजार ५ सय २४ मत प्राप्त गरेर विजयी थिए। उनका प्रतिद्धन्द्वी नेपाली कांग्रेसका नरबहादुर चन्दले २८ हजार २ सय ९१ मत ल्याएका थिए।