पोर्चुगलको जितमा रोनाल्डोको कीर्तिमान

पोर्चुगलको जितमा रोनाल्डोको कीर्तिमान

काठमाडौ: क्रिस्टियानो रोनाल्डोले पाँच फरक विश्वकपमा गोल गर्ने खेलाडीको कीर्तिमान बनाएको खेलमा पोर्चुगलले घानालाई ३-२ गोलको नतिजमा पराजित गरेको छ। कतारको दोहास्थित 974 रंगशालामा भएको समूह 'एच'को दोस्रो खेलमा पोर्चुगललाई जित दिलाउन रोनाल्डोसँगै राफाएल लियो र जुवाओ फेलिक्सले पनि एक-एक गोल गरे।

घानाका लागि एन्ड्रे आयू र ओस्मान बुकारीले एक-एक गोल फर्काएका थिए। पहिलो हाफ गोलरहित बराबरी भएको खेलको ६५औं मिनेटमा पाएको पेनाल्टीमा गोल गर्दै रोनाल्डोले पोर्चुगललाई अग्रता दिलाएका थिए।

पोर्चुगलका लागि गरेको एक सय १८औं गोलले रोनाल्डोलाई पाँच विश्वकपमा गोल गर्ने पहिलो खेलाडीसमेत बनाएको छ। त्यसको आठ मिनेट नबित्दै आयुले घानाका लागि बराबरी गोल फर्काएका थिए।

तर, घाना रक्षापंक्तिमा सम्हालिन नसक्दा फेलिक्सले ७८औं मिनेटमा गरेको गोलसँगै पोर्चुगलले पुन: अग्रता लिएको थियो। त्यसको दुई मिनेट नबित्दै लियोले पोर्चुगलको अग्रता ३-१ मा पुर्‍याएका थिए।

निर्धारित ९० मिनेटको खेलसकिन १ मिनेट बाँकी रहँदा घानाका बुकारीले मुलुकका लागि दोस्रो गोल फर्काए पनि हारबाट जोगाउन पर्याप्त भएन। जितसँगै महत्त्वपूर्ण तीन अंक जोडेको पोर्चुगल समूहको शीर्ष स्थानका उक्लिएको छ।

बिहीबार नै भएको समूह 'एच'को पहिलो खेलमा दक्षिण कोरिया र उरुग्वेले गोलरहित बराबरी खेलेका थिए। पोर्चुगलले अर्को खेल मंगलबार उरुग्वेसँग खेल्ने छ। त्यो खेलमा जित निकाल्न सके रोनाल्डोको टिम एक खेल अगावै अन्तिम १६ मा पुग्ने छ।

रोनाल्डोको कीर्तिमान

पोर्चुगिज कप्तान रोनाल्डो पाँच फरक विश्वकपमा गोल गर्ने दुर्लभ कीर्तमान पनि यसै खेलमा बनाए। घानाविरुद्धको खेलमा पेनाल्टीमार्फत गरेको गोल नै उनलाई इतिहास लेखाउन पर्याप्त बन्यो। पोर्चुगिज ३७ वर्षीय सुपरस्टार फुटबलर रोनाल्डोले यसअघि २०१८, २०१४, २०१० र २००६ विश्वकपमा पनि गोल गरेका थिए।

सन् २००६ मा जर्मनीमा भएको विश्वकपबाट फुटबलको महाकुम्भमा डेब्यू गरेका रोनाल्डोले एक गोल गरेका थिए। उनले समूह चरणको खेलमा इरानविरुद्ध विश्वकपको पहिलो गोल गरेका थिए।

यस्तै, २०१० मा दक्षिण अफ्रिकामा भएको विश्वकपमा पोर्चुगलले उत्तर कोरियालाई ७-० ले पराजित गर्दा रोनाल्डोको नाममा एक गोल थियो।

ब्राजिलमा २०१४ मा रोनाल्डोले घानाविरुद्ध नै एक गोल गरेका थिए। रोनाल्डोकै गोलमा पोर्चुगल २-१ ले विजयी भएको थियो। रुसमा रोनाल्डोले समूह चरणको पहिलो खेलमा स्पेनविरुद्ध ह्याट्रिक गरेका थिए।

यस्तै समूह चरणकै खेलमा मोरक्कोविरुद्ध पनि एक गोल गरेका थिए। चार वर्षअघि विश्वकपमा गोलसंख्या सात पुर्याएका रोनाल्डोको यो आठौं गोल हो।

अन्तर्राष्ट्रिय फुटबलमा सर्वकालिन गोलकर्तासमेत रहेका रोनाल्डोले आजसहित एक सय १८ गोल पुर्‍याएका छन्। अहिले सक्रिय खेलाडीमध्ये दोस्रो स्थानमा रहेका लियोनेल मेसीको नाममा ९२ गोल छ।

सन्यास लिइसकेका इरानी फरवार्ड अली दाईको नाममा रहेको एक सय ९ गोलको कीर्तिमान रोनाल्डोले तोडेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.