१४ बैंकमा बढ्यो निक्षेप

१४ बैंकमा बढ्यो निक्षेप

काठमाडौं : चाडपर्व र चुनावका लागि बाहिरिएको पैसा क्रमशः बैंकिङ प्रणालीमा फर्कन थालेको छ। यसले गर्दा तरलता सहजता बन्दै गएको छ। कात्तिक मसान्तसम्ममा १४ वटा बैंकको निक्षेप बढेको राष्ट्र बैंकले जनाएको छ। नेपाल बैंकर्स संघको तथ्यांकअनुसार वाणिज्य बैंकले असोजको तुलनामा कात्तिकमा १६ अर्ब १९ करोड रुपैयाँ निक्षेप बढाएका छन्। 

अहिले निक्षेप ४५ खर्ब  ६३ अर्ब ३४ करोड रुपैयाँ जम्मा भएको छ। तर, यसको तुलनामा भने मंसिर पहिलो सातामै ५ अर्ब ४७ करोडले निक्षेप घट्दा कुल ४५ खर्ब ५८ अर्ब रुपैयाँमा सीमित हुन पुगेको संघले बिहीबार सार्वजनिक गरेको तथ्यांकमा छ। कात्तिकमा मात्रै सानिमा र राष्ट्रिय वाणिज्य बैंकले सबैभन्दा बढी निक्षेप बढाउन सफल भएका छन्। 

सानिमा बैंकको एकै महिनामा ५ अर्ब ९० करोडले निक्षेप थपेर कुल १ खर्ब ५९ अर्ब ९ करोड रुपैयाँ पुगेको छ। यस्तै, राष्ट्रिय वाणिज्य बैंकले पनि एकै महिना ५ अर्ब ७६ करोडले निक्षेप वृद्धि गरेर २ खर्ब ६७ अर्ब १० करोड रुपैयाँ बनाएको छ। यसपछि तेस्रो स्थानमा नेपाल एसबीआई बैंकले निक्षेप बढाएको छ। यसको निक्षेप १ खर्ब ३१ अर्ब ७१ करोड रुपैयाँ छ। ३ अर्ब २२ करोडले निक्षेप वृद्धि गरेको सिद्धार्थ बैंकको कुल निक्षेप २ खर्ब १ करोड रुपैयाँ पुगेको छ। 

यसैगरी सो महिना निक्षेप बढाएका बैंकको कुल निक्षेप क्रमशः नेपाल बैंकको १ खर्ब ९९ अर्ब, कृषि विकास बैंकको १ खर्ब ६६ अर्ब, बैंक अफ काठमाडौंको १ खर्ब ११ अर्ब, सिटिजन्सको १ खर्ब ५६ अर्ब, सिभिलको ९४ अर्ब, एभरेस्टको १ खर्ब ७५ अर्ब, हिमालयनको १ खर्ब ७४ अर्ब, कुमारीको १ खर्ब ७८ अर्ब, लक्ष्मीको १ खर्ब ४१ अर्ब, मेगाको १ खर्ब ५७ अर्ब नबिलको ३ खर्ब ४० अर्ब, एनएमबीको १ खर्ब ८४ अर्ब, स्ट्यान्डर्ड चार्टर्डको १ खर्ब १० अर्ब र सनराइज बैंकको १ खर्ब २८ अर्ब रुपैयाँ पुगेको छ।

  •     बाहिरिएको पैसा बैंकिङ प्रणालीमा फर्कंदैे
  •     कर्जा लगानी क्षमता बढ्दै, सिडी औसत ८७ प्रतिशत 

यसबाहेकका दर्जन बैंकको निक्षेप भने असोजको तुलनामा कात्तिकमा घटेको छ।  जसमा सबैभन्दा बढी नेपाल इन्भेस्टमेन्ट बैंकको छ। यसमा मासिक ४ अर्ब ६७ करोड रुपैयाँले निक्षेप घटेर कुल १ खर्ब ८८ अर्ब ९० करोड रुपैयाँमा सीमित छ। यसपछि क्रमशः नेपाल क्रेडिट एन्ड कमर्सको ३ अर्ब ९७ करोडले निक्षेप घटेर १ खर्ब २७ अर्बमा सीमित छ। यस्तै एनआईसी एसिया बैंकको २ अर्ब ७६ रुपैयाँले निक्षेप घटेर कुल ३ खर्ब ५ अर्ब रुपैयाँ छ। सेन्चुरी, ग्लोबल आईएमई, माछापुच्छ्रे, प्रभु र प्राइम बैंकको निक्षेप वृद्धिमा संकुचन आएको संघको तथ्यांकमा उल्लेख छ। 

हालसम्मको सबैभन्दा बढी निक्षेप नबिलको र यसपछि एनआईसी एसिया बैंकको छ। सो बैंकको निक्षेप तीन खर्ब माथि छ। नेपाल बैंकर्स संघका अध्यक्ष अनिलकुमार उपाध्याय दसैं तिहार, स्थानीय चुनावपछि बैंकमा अलिअलि पैसा फर्किएको र अझै संसदीय चुनावमा बाहिरिएको रकम केही समयपछि बढ्ने अनुमान गर्छन्। ‘यसअघि गएको पैसा प्रणालीमा विस्तारै फर्किएको छ। अझै आउने अपेक्षा गरेका छौं। यद्यपि चुनाव अघिसम्म बजारमा चलनचल्तीमा थप ५० अर्ब बाहिरिएको थियो। तर यसैबीच ३८ अर्ब जति प्रणालीमा फर्किसकेको छ’, उनले भने ‘तर प्रणालीमा आए पनि सरकारलाई कर भुक्तानीमा समेत जाने गरेको छ।’

पुस मसान्तमा  कर भुक्तानी, लाभांश–बोनसका पैसा पनि क्रमशः बाहिरिँदा कर्जा लगानी क्षमता कसिलो हुन सक्ने उनले जानकारी दिए। मंसिरमा बैंकले निक्षेपको ब्याजदरलाई यथावत् राखेका छन्। यसैले निक्षेपमा आकर्षण पनि कात्तिककै जस्तो रहने देखिन्छ। यता बैंकको कर्जा निक्षेप अनुपात औसत ८७.१९ प्रतिशत रहेको छ। अझै मंसिर पहिलो सातामा आईपुग्दा सिडी रेसियो झन् खुकुलो भएर ८६.९१ प्रतिशतमा सीमित भएको संघले जनाएको छ। यसले कर्जा दिने क्षमता केही खुकुलो भएको बैंकर बताउँछन्। नेपाल राष्ट्र बैंकले असार मसान्तपछि सिडी रेसियो ९० प्रतिशत हुनैपर्ने व्यवस्था गरेको छ। यसर्थ यतिबेला बैंकसँग ३.५ प्रतिशतको कुसन छ।  

हरेक बैंकले सिडी रेसियो १–२ प्रतिशतको कुसनमा राखेर बस्न जरुरी भएकाले बढीमा ८७ प्रतिशत सिडीलाई राम्रो मान्न सकिने बैंकरको भनाइ छ। असोजको तुलनामा कात्तिक मसान्तमा बैंकको कुल कर्जा प्रवाह १ अर्ब २६ करोडले  बढेर ४२ खर्ब २१ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ। तथ्यांकअनुसार सातामै २ अर्ब २० करोड रुपैयाँले कर्जा घटेर कुल ४२ खर्ब १९ अर्ब रुपैयाँमा सीमित छ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.