जो मन्त्री हारे
काठमाडौं : प्रधानमन्त्रीपछि शक्तिशाली मानिन्छ– गृह मन्त्रालय। जसकारण गृहमन्त्री बन्न नेताहरूबीच तँछाडमछाड नै चल्छ। सबै खाले सूचना प्राप्त गरेर मुलुककै गृह प्रशासन हाक्ने भएकाले चुनावमा गृहमन्त्रीको ‘भूमिका’ महत्वपूर्ण मानिन्छ। तर, यस्तो शक्तिशाली मन्त्रालयको नेतृत्वमै रहेका बेला कांग्रेस नेता बालकृष्ण खाँणले चुनावमा पराजय भोगेका छन्। राप्रपाका नेता दीपक बोहरासँग गृहमन्त्री खाँण चुनावमा पराजित भएका हुन्।
आफैंले गराएको चुनाव हार्नेमा कांग्रेस नेता खाँण दोस्रो भएका छन्। यसअघि ०६४ को पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौलाले चुनाव हारेका थिए। सिटौला पनि राप्रपाका नेतासँग नै पराजित भएका थिए। सिटौलाले ०६४ देखि लगातार राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसँग पराजय भोग्दै आएका छन्।
गृहमन्त्री खाँण मात्र होइनन्, सत्ता गठबन्धनबाट चुनाव लडेका अरू पाँच मन्त्री पनि पराजित भएका छन्। ऊर्जामन्त्री एवं माओवादी नेतृ पम्फा भुसाल र पर्यटनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौं उपत्यकामा चुनाव हारेका छन्। खानेपानीमन्त्री उमाकान्त चौधरी, खेलकुदमन्त्री महेश्वरजंग गहतराज र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले पनि हार व्यहोरेका छन्।
गृहमन्त्री खाँण रुपन्देही क्षेत्र नम्बर ३ मा राप्रपाका बोहरासँग २ हजार ६ सय ८१ मतान्तरले पराजित भएका हुन्। कांग्रेस नेता खाँणले ३४ हजार ३६ र बोहराले ३६ हजार ७ सय १७ मत प्राप्त गरेका छन्। मतान्तर २ हजार ६ सय ८१ छ।
ललितपुर ३ मा ऊर्जामन्त्री पम्फा भूसाल तेस्रो मात्रै बनिन्। माओवादी नेतृ भुसाललाई राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसीमा कार्कीले हराएकी हुन्। कार्कीले २२ हजार ३ सय ६७ मतको फराकिलो मतान्तरमा जित हासिल गरिन्। दोस्रो स्थानमा एमालेका अमृत खड्काले १२ हजार ९ सय ६३ मत प्राप्त गरे। मन्त्री भुसालले ८ हजार ७ सय ६९ मत मात्र ल्याइन्।
युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजलाई एमालेका सूर्यप्रसाद ढकालले ५ हजार ३ सय ९४ मतान्तरले पराजित गरेका हुन्। माओवादी नेता गहतराज सत्ता गठबन्धनबाट बाँके १ मा उम्मेदवार थिए। उक्त क्षेत्रमा एमालेका ढकालले २५ हजार २६ मत ल्याउँदा मन्त्री गहतराज १९ हजार ६ सय ३२ मतमा सीमित रहे।
काठमाडौं ८ मा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ पनि तेस्रो मात्रै बने। एकीकृत समाजवादीका नेता श्रेष्ठलाई राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठले ५ हजार २ सय ३१ मतान्तरले हराए। मन्त्री श्रेष्ठभन्दा हाम्रो नेपाली पार्टीका सुमन सायमीले १ हजार २ सय ९८ बढी मत ल्याए। विजेता श्रेष्ठले १० हजार १ सय १२, सायमीले ६ हजार १ सय ७९ र मन्त्री श्रेष्ठले ४ हजार ८ सय ८१ मत प्राप्त गरे।
खानेपानी तथा सरसफाइमन्त्री उमाकान्त चौधरी बारा १ मा पराजित भए। एमालेका अच्युतप्रसाद मैनालीले ९ हजार १ सय ३९ मतान्तरले मन्त्री चौधरीलाई हराएका हुन्। विजेता मैनालीले ३९ हजार १ सय ९५ र मन्त्री चौधरीले ३० हजार ५६ मत ल्याए।
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले चितवन २ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठलाई फराकिलो मतान्तरले पराजित गरे। कांग्रेस नेता श्रेष्ठले ३४ हजार ३ सय १२ मतान्तरले चुनाव हारेका हुन्। त्यहाँ विजेता लामिछानेले ४९ हजार ३ सय र राज्यमन्त्री श्रेष्ठले १४ हजार ९ सय ८८ मत पाए।
यो चुनावमा प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुराबाट २५ हजार ५ सय ३४ मत ल्याएर निर्वाचित भएका छन्। अर्थमन्त्री जनार्दन शर्मा रुकुम पश्चिम १ (३९ हजार ५ सय ४९), शिक्षामन्त्री देवेन्द्र पौडेल बागलुङ २ (२४ हजार ७ सय ९४), सहरी विकासमन्त्री मेटमणि चौधरी दाङ १ (२६५७६) र श्रममन्त्री शेरबहादुर कुँवर अछाम (१९ हजार ५ सय ३४)बाट निर्वाचित भएका छन्। सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की उम्मेदवार रहेको सुनसरी ४ र परराष्ट्रमन्त्री डा.नारायण खड्का उम्मेदवार रहेको उदयपुर १ को मतपरिणाम यो समाचार तयार पार्दासम्म आइसकेको छैन।
प्रतिक्रिया दिनुहोस !