‘गर या मर’ को अवस्थामा जर्मनी

‘गर या मर’ को अवस्थामा जर्मनी

दोहा : थोमस मुलर चाहन्छन्, बिहीबार राति अल बायत रंगशालामा कोस्टारिकाविरुद्धको खेलमा जर्मनीका सबै खेलाडीले उत्कृष्ट प्रदर्शन गरुन्, ताकि कोस्टारिकाविरुद्धको यो खेल नै जर्मनीका लागि कतार विश्वकपको अन्तिम खेल नहोस्। फिफा विश्वकपको अघिल्लो चरणमा पुग्न जर्मनीले कोस्टारिकाविरुद्ध जित निकालेर मात्रै पुग्दैन, स्पेनले पनि एसियाली प्रतिद्वन्द्वी जापानलाई पराजित गर्नुपर्नेछ। 

आफ्नोसँगै स्पेन र जापानबीचको समीकरण मिल्यो भने मात्रै उपाधि दावेदार जर्मनी कतार विश्वकपको नकआउट चरणमा पुग्नेछ। अन्यथा चार पटकको विश्व विजेता लगातार दोस्रो पटक विश्वपको समूह चरणबाटै घर फर्किने छ। सन् २०१४ को उपाधि विजेता जर्मनी सन् २०१८ को रुस विश्वकपमा समूह चरणबाटै बाहिरिएको थियो। त्यतिबेला सन् १९३८ पछि पहिलो पटक जर्मनी पहिलो चरणबाटै बाहिरिएको थियो। चार वर्षअघि यो शताब्दीकै खराब नतिजा सामना गरेको जर्मनी यस पटक पनि ‘गर या मर’को स्थितिमा आइपुगेको छ। 

बिहीबार राति कोस्टारिकाविरुद्ध मैदानमा उत्रिँदा इतिहास भने जर्मनीको पक्षमा रहने छ। कोन्काकफ राष्ट्रविरुद्धको आठ खेलमध्ये जर्मनीले ६ खेलमा जित निकालेको छ। यस्तै कोस्टारिकाले युरोपेली राष्ट्रविरुद्धको ११ खेलमध्ये केवल एक खेलमा मात्रै जित सुनिश्चित गरेको छ। यही इतिहासलाई हेरेर जर्मनी विश्वकपमा छनोट हुने आसमा छ। ३३ वर्षीय मुलर पनि विश्वकपमा टिकिरहन जितको विकल्प नभएको बताइरहेका छन्। सम्भवतः आफ्नो अन्तिम विश्वकप खेलिरहेका मुलर टोलीका सबै खेलाडीले पनि यो कुरा मनन गरुन् भन्ने चाहन्छन्। 

‘जापानसँग अप्रत्यासित हार बेहोरेपछि मैले लामो समयसम्म यही विषय सोचिरहेको थिएँ। तर, कोस्टारिकाले जापानलाई पराजित गरेपछि भने खेलले अर्कै मोड लियो। त्यो खेल हेरिरहेका हामी एक्कासी चिच्याउन पुग्यौं। किनभने त्यो खेल हाम्रा लागि निकै महत्वपूर्ण थियो’, मुलरले भनेका छन्, ‘त्यसपछि हामीले एक सिंगो टिम भएर खेल्ने निर्णय गरौं। स्पेनविरुद्धको खेलमा त्यसलाई प्रमाणित पनि गर्‍यौं। अब कोस्टारिकाविरुद्धको खेलमा पनि त्यही कुरालाई प्रमाणित गर्नुपर्नेछ।’

३३ वर्षीय मुलरले फिफा विश्वकपमा १० गोल गरेका छन्। कतारमा सुरुवाती दुवै खेलमा खेल्ने मौका पाए पनि उनले गोल भने गर्न सकेका छैनन्। आइतबार स्पेनविरुद्धको खेलमा ७० मिनेटमा उनले जम्मा १८ पटक बल छुन पाएका थिए। उनलाई स्थानान्तर गरेका निक्लास फुल्कुङले स्पेनविरुद्ध बराबरी गोल फर्काएका थिए। ‘पछिल्ला वर्षमा मेरो भूमिका एकनासको नै छ। म हरेक खेलमा अरु साथीहरूजस्तै खेल्ने कोसिस गरिरहेको छु’, मुलरले भने। उनी विश्वकपका पछिल्ला १० खेलमा 
गोलबिहीन छन्। 

मुलरसँगै कोस्टारिकाविरुद्धको खेलको दबाबमा मुख्य प्रशिक्षक हान्सी फिलिक पनि  छन्। त्यसैले बिहीबार रातिको खेलअघि खेलाडीलाई आफ्नो खुबी प्रमाणित गर्नका लागि विश्वास दिलाउन तल्लिन छन्। ‘दबाबबाट कसरी उत्रिने भन्ने कुरा टिम वा टिमका जोकोही सदस्यले पनि बुझ्न सक्नु पर्छ’, उनले भनेका छन्, ‘त्यसैले यो टिमसँग अझै धेरै क्षमता छ। त्यसलाई हामीले अब प्रमाणित गर्नुपर्नेछ। हामीसँग उत्कृष्ट क्षमता छ भन्नेमा म विश्वस्त छु।’ कोस्टारिका र जर्मनीबीच अहिलेसम्म एक पटक मात्र आमने सामने भएको छ। सन् २००६ को विश्वकप फुटबलका दौरान भएको भेटमा जर्मनीले ४–२ गोलले जित निकालेको थियो। 

प्रभाव पार्न सक्ने खेलाडी 

किसेर फुलर   
(कोस्टारिका)

एक सय ८४ मिनेटभन्दा बढी (अतिरिक्त समयसहित) समयपछि किसेर फुलरले विश्वकप फुटबलमा लक्ष्य भेट्टाएका थिए। त्यही लक्ष्यमा उनले कोस्टारिकाका लागि गोल गरेका थिए। उनको एक मात्रै गोलको सहयोगमा कोस्टारिकाले जापानलाई १–० गोलले पराजित गरेको थियो। यही विश्वकपमार्फत डेब्यु गरेका २८ वर्षीय फुलरले पछिल्ला दुई खेलमा एक गोल गरेका छन्। 

सन् २०१९ देखि राष्ट्रिय टोलीमा स्थान बनाएका उनले अहिलेसम्म खेलेका ३३ खेलमा तीन गोल गरेका छन्। सन् २०१९ मा जमैकाविरुद्धको मैत्रीपूर्ण खेलमा पहिलो गोल गरेका फुलरले सन् २०२१ मा विश्वकप फुटबल छनोट खेलमा अमेरिकाविरुद्ध एक गोल गरेका थिए। बिहीबार राति बलियो टोली जर्मनीबिरुद्ध गोल गरेमा फुलर सन् २००२ मा रोनाल्ड गोमेज, सन् २००६ मा पाउलो वानचोप र सन् २०१४ मा ब्रायन रुइजपछि विश्वकप फुटबलमा एकभन्दा बढी गोल गर्ने चौथो खेलाडी बन्ने छन्।

जमल मुसियाला   
(जर्मनी)

बायर्न म्युनिखका युवा स्टार जमल मुसियाला जर्मनीका आसलाग्दा खेलाडी हुन्। बायर्न म्युनिखमा उत्कृष्ट लयमा रहेका मुसियालाबाट प्रशिक्षक ह्यान्सी फिल्क पनि निकै प्रभावित छन्। स्पेनविरुद्धको खेलमा जर्मनीलाई खेलमा फर्काउन मुसियालाले नै असिस्ट गरेका थिए। उनले उपलब्ध गराएको पासमा निक्लास फुल्कुङले स्पेनविरुद्ध बराबरी गोल फर्काएका थिए। उनले सुरुवाती दुई खेलमा पाँच मौका सिर्जना गरेका छन्। जुन डेभिड रमका साथ संयुक्त रुपमा उच्च हो। 

मुसियाला जर्मनीको मिडफिल्डका प्रमुख हतियार हुन्। जारी सिजन जर्मन बुन्डेस लिगामा नौ गोल र ६ असिस्ट गरेका मुसियाला युरोपका पाँच शीर्ष लिगमा कुनै पनि युवा खेलाडीभन्दा अगाडि छन्। नाइजेरियन बुवा र जर्मन आमाका सन्तान मुसियाला सात वर्षको उमेरमै इङ्ल्यान्ड पुगेका थिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.