उनी पकाउँछिन्
भालेको अलार्मभन्दा पहिले ब्युँझिएर
पस्किन्छिन् धरतीमा उज्यालो।
उनी पकाउँछिन्
– मुस्कान र खुसी
– आशा र साहस
– ऊर्जा र आत्मविश्वास
– करुणा र संवेदना
चुल्होमा बसेर पकाउँदा पकाउँदै
उनी दाउरासँगै जलाइदिन्छिन्
तितो वचनको घाउ
खानामा नुन कम हुँदा
थालको प्रहारबाट लागेको चोट
तेस्रो चोटी छोरी भएपछि
सौता उपहार पाएको स्मृति
उनी पकाउँछिन्
आकाशमा जूनतारा
पस्किन्छिन् रंगीन रात।
उनले नपकाएको दिन अनर्थ हुन सक्छ
त्यस दिन उनी आफैं दाइजोको
नाममा मट्टीतेलसँग पाक्नुपर्छ
कसैको प्रेम प्रस्ताव नस्वीकारेको
सजायमा पाक्नुपर्छ तेजावसँगै
उनले विश्वास गरेको प्रेमीको धोकाको
उपहारले पाक्नुपर्छ– इन्टरनेटको पोर्नसाइटमा
किशोरीको छातीकै कारण
उनी पाक्नुपर्छ कामवासनाको आगोमा।
एउटी नारी पकाउँछिन्, पाक्छिन्
र झोस्दिन सक्छिन् अगुल्टोले !
र पराकाष्ठाले त्यो दिन अवश्य ल्याउन सक्छ
उनी तिमीलाई नै पकाइदिन सक्छिन् !