रोनाल्डोदेखि सजग स्विट्जरल्यान्ड

रोनाल्डोदेखि सजग स्विट्जरल्यान्ड

दोहा : स्विट्जरल्यान्डलाई थाहा छ कि मंगलबार राति अन्तिम १६ को खेलमा पोर्चुगलविरुद्ध मैदान उत्रिँदा आफ्नो पल्ला भारी हुनेछैन। तर, उसलाई यो पनि राम्रोसँग थाहा छ, कतार विश्वकपमा ‘ट्याग’को महत्वले खासै अर्थ राख्दैन। किनभने कतारमा ठूला भनिएका टोलीले एकपछि अर्को झड्का बेहोरिरहेका छन्। यही सिलसिलामा पोर्चुगल पनि एसियाली राष्ट्र दक्षिण कोरियासँग २–१ गोलले स्तब्ध बनेको थियो।

स्विट्जरल्यान्डले पनि पोर्चुगलविरुद्ध जित आत्मसाथ गरेको धेरै भएको छैन। यही वर्ष पोर्चुगल र स्विट्जरल्यान्डबीच तेस्रो पटक आमनेसामने हुन लागेको हो। नेसनल लिगको पछिल्लो भेटमा ह्यारिस सेफरोविचको गोलमा स्विट्जरल्यान्डले पोर्चुगललाई १–० गोलले स्तब्ध पारेको थियो। यसैगरी सन् २००८ को युरोकपमा पनि स्विट्जरल्यान्डले पोर्चुगललाई २–० गोलले पराजित गरेको थियो। 

त्यसैले स्विट्जरल्यान्डका सेरदान सकारी पोर्चुगललाई कसरी हराउनु पर्छ भनेर आफूहरूलाई राम्रोसँग थाहा भएको बताउँछन्। ‘पोर्चुगललाई कसरी हराउनु पर्छ भनेर हामीलाई राम्रोसँग थाहा छ’, सोमबार रातिको खेल कतार विश्वकपको अन्तिम १६ को एउटा खेल मात्रै हुने छैन। यो एकदमै भिन्न खेल पनि हुनेछ’, सकारी भन्छन्, ‘यो खेलमा दुवै पक्षलाई उत्तिकै दबाब हुनेछ। जो हार्छ ऊ घर फर्किने छ। त्यही कारण खेल निकै रोचक र रोमाञ्चक हुनेछ।’

उनले आफ्नो राष्ट्रको तुलनामा पोर्चुगल ‘फेबरेट’ टोली भए पनि त्यसले मैदानमा खासै फरक नपार्ने दाबी गरे। ‘हाम्रो तुलनामा पोर्चुगल धेरैको रोजाईको टिम हो। हामीले अर्जेन्टिना र अस्ट्रेलियाविरुद्धको खेल पनि हेरेका छौं। अस्ट्रेलियाविरुद्धको खेल अर्जेन्टिनाका लागि सहज हुने अनुमान धेरैले गरेका थिए। तर, अन्तिम आठमा स्थान बनाउन अर्जेन्टिनालाई धेरै नै गाह्रो भयो। थुप्रै अप्ठयाराहरूको सामना गर्नुपर्‍यो’, सकारी भन्छन्, ‘जसरी अस्ट्रेलियाले अर्जेन्टिनाका लागि समस्या खडा गर्‍यो, त्यसैगरी हामी पनि पोर्चुगललाई त्यस्तै समस्यामा पार्ने छौं। किनभने हाम्रो खेल्ने शैली आफैमा विशेष छ। हामी जस्तोसुकै प्रतिद्वन्द्वीलाई पनि आच्छुआच्छु पार्न सक्छौं।’

स्विट्जरल्यान्डले कुनै पनि विश्वकपमा तीन खेल जितेको छैन। समूह चरणका खेलमा ब्राजिलसँग १–० गोलले पराजित भएको स्विट्जरल्यान्डले सर्बियालाई ३–२ र क्यामरुनलाई १–० गोलले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको थियो। समूह चरणका खेलबाट ब्राजिलसँगै ६ अंक जोडे पनि स्विट्जरल्यान्ड गोल भिन्नतामा पछि पर्दा उपविजेताका रुपमा नकआउट चरणमा स्थान बनाएको हो। 

सन् १९६४ को आयोजक राष्ट्र स्विट्जरल्यान्डले अहिलेसम्म क्वार्टरफाइनलमा स्थान बनाउन सकेको छैन। पोर्चुगल पनि दुई पटक मात्रै अन्तिम १६ बाट अगाडि बढ्न सकेको छ। सन् १९६६ मा पहिलो पटक विश्वकपमा सहभागिता जनाउँदा पोर्चुगलले सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो। त्यतिबेला पोर्चुगलले तेस्रो स्थान हात पारेको थियो।

यस्तै सन् २००६ को विश्वकपमा सेमिफाइनल पुगेको पोर्चुगल चौथो भएको थियो। अहिलेसम्म आठौं पटक विश्वकपमा सहभागिता जनाएको पोर्चुगल ६ पटक अन्तिम १६ बाट अगाडि बढ्न सकेको छैन। यी दुई राष्ट्रबीचको विगतको इतिहास हेर्ने हो भने पनि स्विट्जरल्यान्ड अगाडि छ। अहिलेसम्म भएका २५ भेटमा स्विट्जरल्यान्डले ११ खेलमा जित निकालेको छ। यस्तै पोर्चुगलले नौ खेल जित्दा पाँच खेल बराबरीमा सकिएको छ। 

 प्रभाव पार्न सक्ने खेलाडी 
क्रिस्टियानो रोनाल्डो   
(पोर्चुगल)

‘क्रिस्टियानो रोनाल्डो पोर्चुगलका मात्रै खेलाडी होइनन्, हामी पनि उनलाई आफ्नो नजरबाट हटाउन सक्तैनौं’, रोनाल्डोको तारिफ गर्दै स्विट्जरल्यान्डका सेरदान सकारी भन्छन्। उनै रोनाल्डो र सकारी मंगलबार राति दोहाको लुसेल रंगशालामा अन्तिम १६ को खेलमा आमने सामने हुँदैछन्। त्यसैले स्विट्जरल्यान्डको मुख्य ध्यान क्रिस्टियानो रोनाल्डोमा केन्द्रित हुनेछ। 

कतारमा जारी फिफा विश्वकपमा ३७ वर्षीय रोनाल्डोले प्रभावशाली प्रदर्शन गर्न सकेका छैनन्। समूह चरणका तीन खेलमा उनले जम्मा एक गोल गरेका छन्। त्यो पनि घानाविरुद्धको खेलमा पेनाल्टीमा। विश्वकपका समूह चरणमा ठूलो प्रभाव देखाउन नसके पनि उनीजस्ता सुपरस्टार खेलाडी भएकै कारण पोर्चुगलमाथि धेरैले विश्वास गरिरहेका छन्। रोनाल्डो सम्भवतः आफ्नो अन्तिम विश्वकप खेल्दैछन्। त्यसैले जति गर्न सक्छन्, उनले यही विश्वकपमा गर्ने छन्। यो कुरा रोनाल्डोले पनि राम्रैसँग बुझेका छन्।   

सेरदान सकारी 
(स्विट्जरल्यान्ड)

समूह चरणका खेलमा ब्रेल एम्बोलोसहित स्विट्जरल्यान्डका दुई स्ट्राइकर सर्वाधिक गोलकर्ताको सूचीमा छन्। तर, पोर्चुगलको नजर भने सेरदान सकारीमा रहने छ। 

सर्बियाविरुद्धको खेलमा गोल गरेपछि सकारी विश्वकपका तीन फरक संस्करणमा गोल गर्ने स्विट्जरल्यान्डका पहिलो खेलाडी बनेका छन्। यसैगरी स्विट्जरल्यान्डका लागि सर्वाधिक गोलकर्ता जोसेफ हुगीको कीर्तिमानभन्दा उनी मात्रै एक गोलले पछि छन्। सकारीले विश्वकपमा पाँच गोल गरेका छन् भने हुगीको ६ गोल छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.