प्रदेश १ मा बढ्यो कृषिको योगदान
काठमाडौं : कृषि क्षेत्रको उत्पादनमा प्रदेश नं. १ कोे योगदान सबैभन्दा बढी देखिएको छ। छ। आर्थिक वर्ष २०७८/७९ को तथ्यांकअनुसार मुलुकको कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा बढी अर्थात २१.८ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रादेशिक आर्थिक गतिविधि अध्ययनले देखाएको छ।
हिमाल, पहाड र तराईसम्म फैलिएको प्रदेश नं. १ मा झापा, इलाम, पाँचथर, ताप्लेजुङ, संखुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, खोटाङ, सुनसरी, मोरङ, सोलुखुम्बु, ओखलढुङ्गा र उदयपुर गरी जम्मा १४ वटा जिल्ला पर्छन्। उक्त प्रदेशमा कृषि क्षेत्रले ढाकेको भूभाग भने घटेको छ। तर अन्य प्रदेशको तुलनामा कृषि उत्पादनमा अगाडि नै रहेको केन्द्रीय बैंकको विराटनगर कार्यालयको जनाएको छ।
अध्ययन प्रतिवेदन अनुसार कृषि उपजले ढाकेको भू–क्षेत्र आर्थिक वर्ष २०७७/७८ को तुलनामा आर्थिक वर्ष २०७८/७९ मा प्रदेश नं. १ मा समग्र कृषि बालीले ढाकेको क्षेत्रफल ०.९ प्रतिशतले घटेर १० लाख ४१ हजार १ सय ८६ हेक्टर कायम भएको छ।
गत आर्थिक वर्षको सोही अवधिमा यस्तो क्षेत्रफल १.५ प्रतिशतले बढेको थियो। अध्ययनअनुसार पछिल्लो वर्षमा मकै, गहुँ र कोदोले ढाकेको क्षेत्रफल घटेकाले समग्र कृषि बालीले ढाकेको क्षेत्रफल घटेको देखिन्छ। यस प्रदेशमा समग्र कृषि उपजले ढाकेको क्षेत्रफलमध्ये खाद्य तथा नगदेबालीले ढाकेको क्षेत्रफलको हिस्सा ८७.६ प्रतिशत, तरकारी बालीको ५.४ प्रतिशत, फलफूलको २.९ प्रतिशत, मसला बालीको २.७ प्रतिशत र चिया तथा कफीको १.४ प्रतिशत रहेको छ। कृषि उपजले ढाकेको कुल क्षेत्रफलमा धान, मकै, गहुँ र कोदो बालीले ढाकेको क्षेत्रफलको हिस्सा ७१.६ प्रतिशत छ।
प्रदेशमा तराईका मुख्य धान उत्पादन हुने जिल्लामा झापा, मोरङ, सुनसरी हुन्। गत वर्ष उक्त जिल्लामा क्रमशः ९९ प्रतिशत, ९६ प्रतिशत र ९६ रोपाइँ भएको थियो। क्षेत्रफलको आधारमा पछिल्लो वर्ष ४ हजार ७ सय ५८ (१.४ प्रतिशत) हेक्टरले रोपाइँ गरिएको क्षेत्रफल घटेको अध्ययनले देखाएको छ। अध्ययन प्रतिवेदनअनुसार रोपाइँ हुने मुख्य सिजनमा कृषकलाई पर्याप्त खाद्यमल प्राप्त हुन नसकेकाले धानको उत्पादन केही घट्ने देखिएको छ।
गहुँबालीबाट प्राप्त हुने उत्पादन र आयको तुलनामा तरकारी बालीबाट प्राप्त हुने उत्पादन र आय बढी हुने, तरकारी बाली र गहुँ उत्पादन हुने सिजन एउटै रहेको, तरकारी बालीले ढाकेको क्षेत्रफल बढ्दो क्रममा रहेको तथा गहुँ बालीले ढाकेको क्षेत्रफल घट्दो क्रममा रहेको देखिएको छ। यसैले गर्दा गहुँको उत्पादन घट्ने र तरकारीको उत्पादन बढ्ने देखिएको छ।
सहुलियतपूर्ण कर्जा, नगद तथा प्राविधिक अनुदान, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले कृषि क्षेत्रको आधुनिकीकरणको लागि विभिन्न कार्यक्रम सञ्चालन गरेको, पछिल्ला वर्षमा पशुपालन, माछापालन लगायत व्यावसायिक खेतीतर्फ सर्वसाधारण/कृषकको आकर्षण बढ्दै गएको छ। ठूला कृषि फर्मको स्थापना हुने क्रम बढेसँगै पशुपंक्षीजन्य उत्पादन अन्डा, माछा, मासुको उत्पादन बढ्ने देखिन्छ।
मुलुकको कुल कृषि क्षेत्रको उत्पादनमा प्रदेश नं. १ को योगदान सबैभन्दा धेरै रहेको अवस्थामा यस क्षेत्रमा खाद्यान्न, फलफूल, तरकारी र केही नगदे बाली जस्तै चिया, अलैंचीको उत्पादन गर्न पूर्वाधार क्षेत्रको विकास, लगानी विस्तार, आधुनिक प्रविधिको प्रयोग, सामूहिक खेती प्रणालीको अवलम्बन गरी कृषि क्षेत्रको व्यावसायीकरण गर्न र बजारको सुनिश्चितता गर्न सकेमा कृषिजन्य उत्पादनको आयात प्रतिस्थापन तथा कृषि उपज निर्यात गर्न सकिने औंल्याइएको छ।
अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्षमा तरकारी बालीले ढाकेको क्षेत्रफल १०.४ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा उक्त बालीले ढाकेको क्षेत्रफल २.२ प्रतिशतले बढेको थियो। तर फलपूmल बालीले ढाकेको क्षेत्रफल ७.६ प्रतिशतले घटेको छ। जबकी आर्थिक वर्षको सोही अवधिमा उक्त क्षेत्रफल १७.५ प्रतिशतले बढेको थियो।
सो प्रदेशले मह उत्पादनमा उपलब्धि हासिल गरेको छ। कुल २ सय १ मेट्रिक टन मह उत्पादन भएको छ। जुन अघिल्लो वर्षको तुलनामा १८.१ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो उत्पादन १ सय ७० मेट्रिक टन रहेको थियो।
उद्योगको उत्पादनमा गार्मेन्टको उत्पादन घटेको छ। तर इँटाको भने बढेको छ। ‘आर्थिक वर्ष २०७८/७९ मा यस अध्ययनमा समेटिएका उद्योगको उत्पादन मध्ये इँटाको उत्पादन सबैभन्दा बढी छ। गार्मेन्टको उत्पादन सबैभन्दा बढी ८९.९ प्रतिशतले घटेको छ,’ प्रतिवेदनमा उल्लेख छ। यद्यपि कोभिड –१९ का कारण रोकिएका निर्माणजन्य गतिविधि सुचारु भएसँगै इँटाको मागमा वृद्धि भएको, कोभिड–१९ को प्रभाव न्यूनीकरण भएसँगै भारतीय कामदार काममा फर्किन थालेका कारण उद्योग पूर्ण क्षमतामा सञ्चालन भएको कारण समेत अघिल्लो वर्षको तुलनामा उत्पादन उच्च भएको अध्ययनले देखाएको छ।
अध्ययनअनुसार तयारी कपडा उद्योगले गतवर्ष उत्पादन गरेको मौज्दात बिक्री नभई बाँकी रहेकाले अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा तयारी कपडाको उत्पादन घटेको देखिन्छ।