जगतिपुरमा अझै कटुवाल प्रथा

जगतिपुरमा अझै कटुवाल प्रथा

जाजरकोट : वर्तमान समयमा सूचना तथा सञ्चार क्षेत्रको विकासले सिंगो विश्व नै एउटा गाउँमा परिणत भएको छ। एसएमएस, च्याट र भिडियो कल जस्ता स्मार्ट प्रविधिबाट खबर आदानप्रदान गरिन्छ। तर, जाजरकोटको एउटा गाउँमा भने अहिले पनि सूचना प्रवाहको पुरानै शैली कायमै छ। त्यो हो, कटुवाल प्रथा अर्थात् कराएर नयाँ खबर गाउँलेलाई सुनाउने गरिन्छ। 

भेरी नगरपालिका–११ जगतिपुरमा अहिले पनि कटुवाल प्रथा कायमै छ। स्थानीय ७२ वर्षीय सार्की वरले कटुवाल प्रथा धानिरहेका छन्। उनले १६ वर्षदेखि कराएर गाउँलेलाई शुभ, अशुभको खबर सुनाउँदै आएका छन्। त्यसअघि उनका बुवाले यही पेसा गर्थे। बुवाको बिँडो थाम्दै उनले गाँउलेको खबर आदानप्रदान गर्ने पेसा धान्दै आएका हुन्।

गाउँमा हुने भेला तथा बैठक, विवाह, पूजा–आजा, भोज भत्तेर, सामुदायिक वनको भेला, वडा कार्यालयका भेला तथा बैठक जस्ता गतिविधिको बारेमा गाउँलेलाई जानकारी दिन्छन्। गाउँको अग्लो ठाउँ वा बीच भागमा पुरेर ठूलो स्वरमा गाउँलेलाई खबर सुनाउँछन्। सोही सूचनाका आधारमा गाउँहरूले सम्बन्धित ठाउँमा पुग्छन्।

वर्षौंंदेखि दैनिकजसो गाउँलेलाई सूचना बाँडिरहेका छन्। सामूहिक रूपमा हुने हरेक गतिविधि आयोजकले पहिले नै उनलाई खबर गर्छ। आफूले पाएको सोही सूचना गाउँका करिब एक सय बढी घरपरिवारलाई सुनाउँछन्। अग्लो डाँडामा गएर उनी कराउन थालेपछि गाँउलेहरू उनको कुरा ध्यान दिएर सुन्छन्। सोही सूचनाका आधारमा बैठक, भेलामा सहभागी हुने गरेको स्थानीय चित्रप्रसाद शर्माले बताए।

कटुवाल प्रथाले स्मार्ट प्रविधिको विकास हुनुअघि नेपालमा यसरी नै सूचना आदानप्रदान गरिन्थ्यो। यो प्रथा अहिले पनि दुर्गम भेगमा जीवितै छ। शाहकालीन समयमा सूचनावाहकका लागि गाउँमा कटुवाल राख्ने चलन थियो। जसबापत प्रशासन कार्यालयले कटुवाललाई खरिदार सरहको सेवा सुविधा दिन्थ्यो। शाहकालीन समयमा कायम भएको कटुवाले पेसा संघीय लोकतान्त्रिक गणतन्त्र आउँदासमेत जगतिपुरमा कायमै रहेको स्थानीय रमेश शर्माले बताए।

गाउँलेले दिन्छन् मासिक साढे ६ हजार तलब

वर्षौंदेखि गाउँमा खबर सुनाउने वरलाई जगतिपुरका स्थानीयले वार्षिक रूपमा पारिश्रमिक दिने गरेका छन्। गाउँलेले उनलाई कटुवाल र सामुदायिक वनको हेरालोको जिम्मेवारी दिएका छन्।

दैनिकजसो गाउँमा नयाँ सूचना सुनाउनु र लेकाली टाकुरी सामुदायिक वनको रेखदेख गर्नु उनको जिम्मेवारी छ। दुवै काम गरेवापत स्थानीयले मासिक ६ हजार ५ सय अर्थात् वार्षिक ५४ हजार रुपैयाँ पारिश्रमिक दिने गरेको वरले बताए। ‘नयाँ खबर गाउँलेलाई सूचना सुनाउँछु। वनको रेखदेख गर्छु,’ उनले भने, ‘यही काम गरेबापत गाउँलेले मलाई मासिक साढे ६ हजार तलब दिन्छन्।’ 

अरू बेला चरीचरण र घाँस दाउरा काट्न प्रतिबन्ध हुन्छ। तर, हिउँदयाममा वन खुलाउने गरिएको छ। घाँस दाउराका लागि मंसिर १५ देखि एक महिनाका लागि बन खुलाउने गरिएको छ। वनमा घाँसदाउरा काटेवापत प्रत्येक घरधुरीले ७१० रुपैयाँ तिर्नुपर्ने नियम लगाइएको छ। सोही रकमबाट उनलाई तलब दिने गरिएको सामुदायीक वनका अध्यक्ष अमृत बिकले बताए। उनले भने, ‘वन हेर्ने र कटुवालको काम दुवै गर्ने गरी मासिक पारिश्रमिकको ब्यवस्था गरेका छौं।’

तर पारिश्रमिकले जीविका चलाउन मुस्किल भइरहेको कटुवाल वरको गुनासो छ। उनले भने, ‘अन्य पेसा र विकल्प नभएपछि थोरै भए पनि गुजाराका लागि बाबुबाजेले गर्दै आएको पेसा निरन्तरता दिँदै आएको छ। गाउँले पनि मेरो काम देखेर जिम्मेवारी दिइरहेका छन्।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.