दरबन्दी अनुसार शिक्षक नहुँदा पठन पाठन प्रभावित
कपिलवस्तु : दरबन्दी अनुसार शिक्षक नहुँदा मायादेवी गाउँपालिकाका सामुदायिक विद्यालयहरूमा पठन पाठन प्रभावित भएको छ।
गाउँपालिकामा रहेका सामुदायिक विद्यालयहरूमा सञ्चालन भएका कक्षा अनुसारको शिक्षकको व्यवस्थापन हुन सकेको छैन।
गाउँपालिकामा नव निर्वाचित जनप्रतिनिधिहरूले चालु आवको साउनदेखि लागु हुने गरी गाउँपालिकाले करारमा राखेका ७९ जना शिक्षकहरूको म्याद थप नगर्ने निर्णय गरेपछि शिक्षकको अभाव देखिएको हो।
मायादेवी गाउँपालिका-४ सानो गौरास्थित जनता आधारभूत विद्यालय बाल विकासदेखि कक्षा ५ सम्म कक्षा सञ्चालनमा भए पनि यस विद्यालयमा बाल विकास तर्फ १ जना सहयोगी कार्यकर्ता र २ जना मात्रै शिक्षक कार्यरत छन्।
दुई जना शिक्षकले ५ वटा कक्षा सञ्चालन गर्नु पर्दा यस विद्यालयको पठन पाठनमा निकै समस्या भोग्नु परेको विद्यालयका शिक्षक धर्मेन्द्र कुमार चौधरीले बताए।
'दुई जना शिक्षकले कक्षा १ देखि ५ सम्म पढाउनुपर्ने भए पछि ५ वटा कक्षाका विद्यार्थीहरूलाई बाल विकास कक्षासहित ३ वटा कक्षामा राखेर पढाएका छौं, शिक्षक चौधरीले भने, 'बाल विकास सहयोगी कार्यकर्ताले बाल विकास र कक्षा १ लाई पढाउनु हुन्छ। कक्षा २ र ३ लाई एउटा कक्षा कोठामा र कक्षा ४ र ५ लाई अर्को कक्षा कोठामा राखेर प्रधानअध्यापक र मैले पढाउँछु।'
शिक्षक प्रअ बैठकमा र विद्यालयको कामले अन्य कतै जान पर्यो भने एक्लैले सबै कक्षा पढाउनु पर्छ। 'यस्तो बेला विद्यार्थीहरूलाई कक्षा कक्षामा गएर कक्षा कार्य दिन्छु अनि कक्षा नियन्त्रण गर्छु,' शिक्षक चौधरीले भने।
गाउँपालिकाले यस अघि पठाएको २ जना शिक्षक साउन महिना यता कटौती भएपछि शिक्षकको अभाव आफूहरूले झेल्दै आएको विद्यालयका प्रधानाध्यापक ध्वजराज यादवले बताए।
'यो समस्याका बारेमा हामी निरन्तर रूपमा प्रअ वैठकमा उठाउँदै आएका छौं, प्रअ यादवले भने, अब चाडैं नै समस्या समाधान हुने आश्वासन गाउँपालिकाबाट पाएका छौं।'
शिक्षक अभावमा पठन पाठन प्रभावित भएको यो विद्यालय त नमूना मात्रै हो। मायादेवी गाउँपालिकाका धेरै विद्यालयहरूमा अहिले कक्षा अनुसारको शिक्षक व्यवस्थापन हुन नसक्दा विद्यालयको पठन पाठन प्रभावित बनेको छ।
चालु आर्थिक वर्षको ५ महिना बित्न लाग्दासम्म पनि यहाँका सामुदायिक विद्यालयहरूले शिक्षक अभावको समस्या झेल्दै आएका छन्।
सामुदायिक विद्यालयहरूमा शिक्षक अभावको व्यवस्थापन मिलाउन आफूले पहल गरिरहेको मायादेवी गाउँपालिका वडा नं. ४ का वडा सदस्य हृदयराम यादवले बताए।
शिक्षक अभावका कारण विद्यालयमा पठनपाठन प्रभावित भएसँगै विद्यालय तथा अभिभावकहरूको ठुलो दवावपछि गाउँपालिकाले शिक्षक व्यवस्थापनका लागि प्रक्रिया सुरु गरेको छ।
गाउँपालिकाले प्रावि २५, निमावि १५, मावि १०, उमावि ५ जना गरी जम्मा ५५ जना शिक्षक नियुक्तिको प्रक्रिया सुरु गरेको गाउँपालिकाका शिक्षा अधिकृत माधवप्रसाद घिमिरेले बताए।
'यसरी नियुक्ति प्रक्रिया सुरु गरिएका शिक्षक व्यवस्थापन गर्दा पनि गाउँपालिकाका सामुदायिक विद्यालयहरूमा कक्षा अनुसारको शिक्षक व्यवस्थापन भने हुन सक्दैन, शिक्षा अधिकृत घिमिरेले भने, अषाढ मसान्तपछि अन्य वैकल्पिक व्यवस्था नगरीकन ७९ जना शिक्षकको चालु आवका लागि म्याद थप नगरेका कारण यो समस्या देखिएको हो।'
चालु शैक्षिक सत्रको ५ महिनामा गाउँपालिकाका अधिकांश विद्यालयहरूमा पठन पाठन अस्तव्यस्त हुन पुगेको शिक्षा अधिकृत घिमिरेले पनि स्वीकार गरेका छन्। गाउँपालिकामा कुल ३४ वटा सामुदायिक विद्यालय र ३२ वटा मदरसा विद्यालयहरू रहेका छन्।
प्रतिक्रिया दिनुहोस !